जन्मिएको तीन महिनासम्म बच्चाको हेरविचार कसरी गर्ने ?

    • स्वास्थ्य पेज

  • १६ पुष २०७९, शनिबार

नेपालगन्ज: बच्चा जन्मेको पहिलो एक वर्ष उसको जीवनको सबैभन्दा संवेदनशील समय हो। गर्भभित्र सबै चिज आमाको शरीरबाट प्राप्त भएको हुन्छ। जन्मपछि अचानक नयाँ वातावरणमा भिज्न सिक्नु पर्छ। आफ्नै शरीरको शक्तिमा जीवनको निर्भरता बढाउनुपर्छ। एक वर्षभित्रको बच्चाको दिमाग विकसित नहुने भए पनि आंशिक रूपमा केही गुण विकसित भएको हुन्छ।

नवजात शिशुमा केही मात्रामा मुख्य रूपमा पाँच वटा गुण विकास भएको हुन्छ– बासना लिने, स्वाद लिने, सुन्ने, छोएर महसुस गर्ने र नजिकैको दूरीमा देख्ने। नवजात शिशु पूर्ण रूपमा आमामा भर पर्ने भएकाले उसले रोएर, हाँसेर वा ससानो आवाज निकालेर सूचना गर्छ। यसो गर्दा अभिभावकहरूको ध्यानाकर्षण हुन्छ।

विशेष गरी पहिलो तीन महिना बच्चाको वरपर रहनु, उसलाई सुम्सुम्याउनु र समयमा दूध दिनु आवश्यक हुन्छ। शिशुको शरीर र दिमाग दुबै कोमल, संवेदनशील हुने भएकाले हलुका तरिकाले समाउनु वा बोक्नुपर्छ। यस्तो तरिका सिक्न पनि आवश्यक हुन्छ।
सुत्ने ठाउँ चिसो हुनु हुँदैन, तातो पनि धेरै हुनु हुँदैन, न्यानो हुनुपर्छ। न्यानो र नरम कपडाको सुत्ने ओछ्यान बनाउनुपर्छ।

विशेष गरी टाउकोको भागमा केही नरम लुगा या पातलो सिरानी राखेर, केही नरम कपडा बिछ्याएर सुताउनु राम्रो हुन्छ।
पहिलो तीन महिना बच्चा यताउता चल्न नसक्ने हुन्छ। बच्चा जन्मेपछि उसको पहिलो संघर्ष गर्भबाहिरको वातावरणमा मिल्न र आफैंले खाएर बाँच्न सिक्नका लागि हुन्छ। यिनै दुई कुराका लागि बच्चा रूने गर्छ। बच्चा आफूलाई असुरक्षित महसुस गरेको वा खाना चाहिएको अवस्थामा रून्छ। आमाबाबुको प्रमुख जिम्मेवारी नै बच्चाका लागि प्रशस्त पौष्टिक पदार्थयुक्त खानाको व्यवस्था मिलाउनु हो।

बच्चालाई सुरक्षित महसुस गराउन र इन्फेक्सन अर्थात संक्रमणबाट बचाउन पनि आवश्यक हुन्छ। बच्चा पहिलो पटक अक्सिजन लिने र स्वासप्रश्वास गर्ने प्रक्रियामा रून्छ। यस काममा सुरूमा पीडा हुने भएकाले रूने हो। त्यसपछिका रूवाइ वा आवाज धेरै जसो खानाका लागि हुन्छ। खानाका लागि आवाज निकालिरहनुमा धेरै खाएर बढ्ने, हुर्कने र छिट्टै आत्मनिर्भर बन्ने बालमनोविज्ञान मुख्य कारण हुन्छ।

बच्चाको शारीरिक विकासका लागि सबैभन्दा महत्वपूर्ण कुरा खाना र सुताइ हो। जन्मनासाथ शक्ति जम्मा गर्न बच्चा आमाको दूध चुस्न हतारिएको हुन्छ। बच्चा जन्मने बित्तिक्कै आउने आमाको दूधमा पौष्टिक पदार्थ धेरै हुन्छ। थोरै दूधले पनि धेरै शक्ति प्राप्त हुन्छ।
आमाको दूधमा बच्चाका लागि रोग प्रतिरोधात्मक शक्ति पनि धेरै हुन्छ। त्यसैले त आमाको दूध अमृत समान मानिन्छ। कम्तीमा पहिलो एक वर्ष आमाको दूध खाएको बच्चाले पौष्टिक पदार्थ राम्ररी पाएको हुन्छ। उसको रोग प्रतिरोधात्मक क्षमता बलियो हुन्छ।

बच्चाका लागि आमाको दूध जति उत्तम खानेकुरा अर्को हुँदैन। बच्चा छ महिनाको भएपछि नरम खाना खुवाउन सुरू गर्नुपर्छ। खानासँगै कम्तीमा एक वर्ष स्तनपान गराउनुपर्छ।

पेट सानो हुने भएकोले बच्चाले एकै पटक धेरै दूध पिउन सक्दैन। पटक–पटक खाइरहनु पर्ने भएकाले रोएर वा कुनै आवाज निकालेर अभिभावकलाई सूचना गर्छ। पहिलो तीन महिना तीन–तीन घन्टामा र त्यसपछि बिस्तारै चार–चार घन्टामा दूध खुवाउनुपर्छ।
बच्चाका लागि खानाको समय तालिका बनाएर खुवाउने गरेमा बच्चा त्यसमै बानी पर्छ।

  • १६ पुष २०७९, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech