नेपाल चिकित्सक संघको चुनाव: डा. अनिल कार्की समूहको १७ बुँदे विस्तृत प्रतिबद्धता

    • स्वास्थ्य पेज

  • १५ पुष २०७९, शुक्रबार

नेपालगन्ज: नेपाल चिकित्सक संघको २९ औ‌ केन्द्रीय कार्यकारिणी समितिको सन्निकट निर्वाचनका लागि चुनावी मैदानमा उत्रिएको डा. अनिल कार्की नेतृत्वको लोकतान्त्रिक तथा पेसागत समूहले १७ बुँदे विस्तृत प्रतिबद्धता (घोषणापत्र) सार्वजनिक गरेको छ ।

शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गर्दै लोकतान्त्रिक तथा पेसागत समूहले आफ्नो कार्ययोजनासहित विस्तृत प्रतिबद्धता मतदातामाझ प्रस्तुत गरेको हो ।

माघमा हुने संघको निर्वाचन लागि डा. कार्कीको समूहले चिकित्सक सेवा आयोगको स्थापनादेखि अस्पताल लगायत स्वास्थ्य संस्थाको सुरक्षाको निम्ति छुट्टै ‘स्वास्थ्य सुरक्षा बल’ बनाउन पहल गर्ने एजेण्डा अघि सारेको छ ।

लोकतान्त्रिक समूहले चिकित्सकको तलब वृद्धिसहित आर्थिक उन्नतिका लागि सरकारलाई थप दबाब सिर्जना गर्ने र नेपाल मेडिकल काउन्सिलबाट लाइसेन्स प्राप्त सम्पूर्ण चिकित्सकहरुको सबै प्रकारका बीमा सरकारले नै गरिदिने व्यवस्था गर्न दबाब दिने बताएको छ ।

डा. कार्की नेतृत्व समूहको चुनावी एजेण्डामा चिकित्सा शिक्षामा पिजीको सिट संख्या बढाउँदै पिजी अध्ययनका लागि एक वर्षको अनुभव अनिवार्य रहेको व्यवस्थाको हटाउन पैरवी गर्ने उल्लेख छ ।

चिकित्सकको वैज्ञानिक ड्युटी समय हुनुपर्ने संसारभरका अभ्यास भएकाले चिकित्सकलाई तोकिएको ड्युटीमा काम गर्ने र लामो ड्युटी आवरपछि बार्षिक १५ फोर्स लिभ (अनिवार्य विदा) दिने व्यवस्था गनुपर्ने र यसका लागि पहल गरिने प्रमुख एजेण्डा रहेको जनाएको छ ।

त्यसैगरी, चिकित्सक र उनीहरुको परिवारका लागि डेटिकेट अस्पतालको निमार्ण र संघीय संरचना अनुसार सात वटै प्रदेशमा संघको कार्यालय स्थापना गर्ने एजेण्डाको रूपमा उठाएको छ ।

१० वर्षभन्दा बढी समयदेखि संघमा आबद्ध भएर काम गरेको अनुभव भएकाले आफूलाई संघको नेतृत्व गर्न सहज हुने लोकतान्त्रिक समूहबाट अध्यक्षका उम्मेदवार डा. कार्कीले बताउनु भयो ।

अघिल्लो कार्यकालमा पनि राम्रो काम गरेकाले र लोकतान्त्रिक समूहले सबै वर्गको सम्मिश्रण भएको बलियो टिम उतारेका कारण पनि निर्वाचनमा आफ्नै प्यानलको जित निश्चित भएको डा. कार्कीको दाबी छ ।

स्वास्थ्यकर्मीको सुरक्षा सम्बन्धी कानुन कार्यान्वयनमा जोड दिने, स्वास्थ्य सुरक्षा बल बनाउन पहल गर्ने, पिजीको सिट संख्या बढाउन पहल गर्ने र पिजी अध्ययनका लागि एक वर्षको अनुभव अनिवार्य रहेको व्यवस्था हटाउन पैरवी गर्ने संघको छुट्टै अनुसन्धान विभाग बनाउने, चिकित्सकहरुलाई सहुलियत ऋण उपलब्ध गराउन लगायतका विषय पनि एजेण्डामा राखिएको छ ।

अध्यक्षमा डा. कार्की रहेको यो समूहले उपाध्यक्षमा मधेश प्रदेशबाट डा. निरजकुमार सिंह, बागमतीबाट डा. प्रकाश बुढाथोकी, गण्डकीबाट डा. रिजन श्रेष्ठ र सुदूरपश्चिमबाट प्रशान्त भट्टलाई अगाडी सारेको छ ।

त्यसैगरी, महासचिवमा डा. सचिव तिवारी हुँदा सदस्यहरुमा डा. अमृत रञ्जन मिश्र, डा. सिर्जना विष्ट, डा. किशोर खत्री , डा. योञ्जनकुमार झा लगायतका चुनावी प्रतिस्पर्धामा उत्रिनु भएको छ ।

वरिष्ठ उपाध्यक्षमा डा. बद्री रिजाल, कोषाध्यक्षमा डा. प्रमोद जोशी, सह–सचिवमा डा. लिर्जन महर्जन र सह–कोषाध्यक्षमा डा. विक्रान्त ढकाल निविरोध निर्वाचित भैसक्नु भएको छ ।

प्रदेश १ बाट उपाध्यक्षमा डा. विपेश आचार्य, लुम्बिनी प्रदेशबाट डा. नन्दकुमारी गुरुङ, कर्णाली प्रदेशबाट डा. किशोरबहादुर ढकाल निर्विरोध निर्वाचित हुनुभएको छ ।

नेपाल चिकित्सक संघको अध्यक्ष पदका लागि प्रजातान्त्रिक समूहबाट डा. अनिलविक्रम कार्की र प्रगतिशील समूहबाट डा. सन्तोष पौडेल र स्वतन्त्रबाट डा. शिवजी विक्रम सिलवालबीच चुनावी प्रतिस्पर्धा हुने छ ।

संघको २९ औं केन्द्रीय कार्यकारिणीसमितिमा एक जना अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, सात जना उपाध्यक्ष, महासचिव एक, कोषाध्यक्ष एक, सहसचिव एक, सह कोषाध्यक्ष एक र ६ जना सदस्य गरी १९ जना रहने व्यवस्था छ । संघको चुनाव काठमाडौं उपत्यका बाहिर माघ ६ र ७ गते तथा उपत्यका भित्र १९, २० र २१ गते हुनेछ ।

  • १५ पुष २०७९, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech