बुस्टर डोजका लागि खोपको अभाव

औषधि व्यवस्था विभागले अनुमति दिएसँगै खोप ल्याउने सरकारको तयारी


    • स्वास्थ्य पेज

  • १५ पुष २०७९, शुक्रबार

नेपालगन्ज: सरकारले छिमेकी राष्ट्रहरुमा कोरोना भाइरसको ओमिक्रोन भेरिएन्टको सब–भेरियन्ट बीएफ.७ फैलिएसँगै  बुस्टर डोज अर्थात् अतिरिक्त मात्रा खोप लगाउन आग्रह गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बुस्टर डोज लगाउन आग्रह गरे पनि पर्याप्त मात्रामा सरकारसँग खोप छैन ।

१८ वर्षमाथिका खोप लगाउने समूहलाई दिइने बुस्टर डोज टेकुस्थित केन्द्रीय खोप भण्डारण केन्द्रमा छैन । बुस्टर डोजका लागि स्वास्थ्य संस्थाहरुले खोप माग गरे पनि विभागले उपलब्ध गराउन नसकेको स्वास्थ्य संस्थाहरुले जनाएका छन् ।

उता त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा कोरोनाविरुद्धको खोप सकिएकाले एक सातादेखि खोप दिने अभियान रोकिएको सूचना अधिकारी रामविक्रम अधिकारीले जानकारी दिनुभयो ।

छिमेकी राष्ट्रमा सङ्क्रमण दर बढेपछि बुस्टर डोज कोभिशिल्ड, फाइजर, मोडर्ना खोप लगाउन भन्दै अस्पताल पुग्नेहरू खोपको अभावमा त्यसै फर्किन थालेको अधिकारीले बताउनु भयो ।

यद्यपि केन्द्रीय भण्डारण केन्द्र टेकुमा ४० लाख मात्रा भेरोसेल खोप स्टक छ । सो खोप बुस्टर डोजका रुपमा प्रयोग गर्न नसकिने स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा अन्तर्गतको आपूर्ति व्यवस्थापन शाखा प्रमुख डा सुरेन्द्र चौरसियाले बताउनुभयो ।

खोप कहिले आउँछ ?
चौथो महामारीपछि कोभ्याक्स सुविधाअन्तर्गत सुनिश्चत गरी केही समयका लागि रोकिएको ६० लाख मात्रा खोपमध्ये १५ लाख मात्रा ल्याउन लागिएको छ । ओमिक्रोनको सब भेरिएन्ट बिएफ.७ को सङ्क्रमण छिमेकी राष्ट्रसँगै यूरोपेली राष्ट्रमा फैलिदाँ नेपालमा पनि जोखिम बढेकाले बुस्टर डोज लगाउन सरकारले आग्रह गरेको छ ।

त्यसैले सरकारले कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनलाई समेत काम गर्ने नयाँ खोप बाइभलेन्ट ल्याउन लागेको निर्देशक डा. लालले बताउनु भयो । सो खोप प्राप्तिका लागि औषधि व्यवस्था विभागबाट अनुमति आएको उहाँको भनाइ छ ।

उहाँले भनुभयो, ‘विभागबाट आकस्मिक प्रयोगका लागि हिजो अनुमति पायौं । त्यस लगत्तै कोभ्याक्सलाई पत्र पठाएका छौँ । पत्रमा हामीले १५ लाख बाइभलेन्ट खोपसँगै अझै आवश्यक पर्ने जानकारी गराएका छौँ । खोप प्राप्तिको प्रक्रियामा छौँ ।’ अंग्रेजी नयाँ वर्ष नजिकिएकाले खोप आइपुग्न केही समय लाग्ने उनको ठहर छ ।

बुस्टर डोज तत्काल लगाऔँ
कोरोनाभाइरस कोभिड–१९ विरुद्धको खोप लगाएको ६ महिनापछि क्रमशः एन्टिबडी कम हुने विभिन्न अध्ययनले देखाएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म लक्षित समूहका ९५.७ प्रतिशतले कोरोनाविरुद्ध पूर्ण मात्रा खोप लगाइसकेका छन् । बुस्टर डोज अर्थात् अतिरिक्त मात्रा खोप हालसम्म ७९ लाख ७२ हजार ७९१ जनाले मात्रै लगाएका छन् ।

पूर्ण मात्रा खोप र बुस्टर डोज लगाएको ६ महिना कटिसकेकाले सरकारले बुस्टर डोजको व्यवस्था गर्नुपर्ने सरुवा रोग विशेषज्ञ डा. प्रभात अधिकारी बताउनु भयो ।

सब–भेरियन्ट बीएफ.७ भाइरस सङ्क्रामक र घातकताबारे पूर्णरुपमा जानकारी नभए पनि दीर्घरोगी, ज्येष्ठ नागरिक र फ्रन्टलाइनर जोखिममा रहन सक्ने भएकाले बुस्टर डोज तत्काल लगाउन उहाँको आग्रह छ ।

उहाँ भन्नुहुन्छ, ‘बुस्टर डोज लगाए पनि त्यसले पूर्णरुपमा काम गर्न १०÷१५ दिन लाग्न सक्छ । त्यसैले सकेसम्म चाँडै खोप लगाऔँ ।’
कुन प्रदेशमा कुनकुन खोप छ ?
१२ वर्षभन्दा माथि उमेर समूहलाई दिइने फाइजर खोप ३ वटा प्रदेशको खोप भण्डारण केन्द्रमा रहेको शाखाले जनाएको छ । यस्तै, खोप बागमती प्रदेश, गण्डकी प्रदेशका भण्डारण केन्द्रहरुमा ५ हजार ९१६ मात्रा छ । यस्तै, बालबालिकाका लागि दिइने फाइजर खोप हेटौँडा, बागमती र गण्डकी प्रदेशमा गरी ४ लाख ८९ हजार ९३० मात्रा भण्डारणमा छ ।

भेरोसेल खोप केन्द्रीय भण्डारण केन्द्रमा ४० लाख र सातै प्रदेशका भण्डारण केन्द्रमा गरी ४३ लाख ६५ हजार ९७१ मात्रा रहेको व्यवस्थापन शाखाले जनाएको छ ।

कुन खोप कति आयो ?  
नेपालमा पहिलो पटक २०७७ माघ १४ गतेबाट कोरोनाविरुद्धको कोभिशिल्ड खोप दिन सुरु गरिएको हो । भारत सरकारको अनुदान सहयोगमा ०७७ माघ ८ गते १० लाख मात्रा खोप प्राप्त भएको थियो । हालसम्म सरकारले खरिद अनुदानमार्फत विभिन्न सात थरी फरक नामका ६ करोड ३२ लाख ७६ हजार ७१० मात्रा खोप प्राप्त गरेको छ । जसमा कोभिशिल्ड खोप ९४ लाख ८७ हजार मात्रा प्राप्त गर्दा भेरोसेल  एक करोड ९७ लाख ३६ हजार ४०० सय मात्रा प्राप्त गरेको व्यवस्थापन महाशाखा अन्तर्गतको आपूर्ति व्यवस्थापन शाखाले जनाएको छ ।

यस्तै, जोन्सन ३७ लाख ११ हजार ५०० मात्रा, एष्ट्राजेनिका ६५ लाख ३० हजार ७२०, फाइजर ३७ लाख ६३ हजार ८९० मात्रा, बालबालिकाका लागि दिइने फाइजर खोप ८३ लाख ९५ हजार २०० मात्रा प्राप्त गरेको छ । मोडर्ना ७६ लाख ५२ हजार मात्रा, सेनेभ्याक ४० लाख मात्रा खोप प्राप्त भएको छ ।

  • १५ पुष २०७९, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech