स्थायी बन्ध्याकरण गर्नेमा महिलाभन्दा पुरुषको संख्या निकै कम

    • स्वास्थ्य पेज

  • १४ पुष २०७९, बिहीबार

नेपालगन्जः सुदूरपश्चिमको कैलाली जिल्लामा स्थायी बन्ध्याकरण गर्नेमा महिलाभन्दा पुरुषको संख्या निकै कम देखिएको छ । चालू आर्थिक वर्षमा आयोजना गरिएका शिविरमा २२८ जनाले स्थायी बन्ध्याकरण गरेकोमा पुरुषको संख्या केवल १५ जनामात्रै छ ।

परिवार नियोजन संघ र स्वास्थ्य कार्यालयको समन्वय र आयोजनामा एक साता अघि कैलालीका १२ स्थानमा स्थायी बन्ध्याकरण शिविर आयोजना गरियो । उक्त शिविरमा सन्तानको रहर पूरा भएका २ सय २८ जनाले स्थायी बन्ध्याकरण गराए । त्यसमा पुरुषको संख्या भने नगन्ने जस्तै थियो । २२८ जनाले स्थायी बन्ध्याकरण गराउँदा १५ जना पुरुष मात्रै थिए ।

परिवार नियोजन संघका अधिकृत तथा परामर्शकर्ता कम्लेश्वरी यादवले पतिलाई बन्ध्याकरण गराउँदा घर बाहिरको कामकाजमा असर पर्ने र पुरुषहरुमा पनि यौन क्षमतामा कमी आउने लगायतका गलत बुझाइले पुरुषको तुलनामा महिलाहरुले स्थायी बन्ध्याकरण गर्ने गरेको बताउंनुहुन्छ । सन्तानको रहर पुगिसकेकालाई सरकारले निशुल्क स्थायी बन्ध्याकरण गर्ने गरेको छ ।

पुरुषका भ्याक्सेटोमी र महिलाको लागि मिनिल्याव । तर समाजमा पुरुषले भन्दा महिलाले गर्दा राम्रो हुने भन्ने बुझाइका कारण स्थायी बन्ध्याकरणका लागि महिला आफै अगाडि सर्ने गरेका छन् । स्वच्छिक बध्यान्करण हुने भएकाले सरोकारवालाहरुले महिलालाई नगर पुरुषले गर भनेर दवाव दिने अवस्था पनि रहँदैन ।

स्वास्थ्य कार्यालय कैलालीका परिवार नियोजन सुपरभाइजर गोरख नारायण चापागाईले पुरुषले अन्य साधनको प्रयोग गर्ने गरेका कारण पनि स्थायी बन्ध्याकरण नगरेको हुन सक्ने बताउनुभयो । स्वास्थ्यकर्मीहरु स्थायी बन्ध्याकरण महिलाले भन्दा पनि पुरुषले गर्दा उपयुक्त हुने बताउँछन । उनीहरु भन्छन् स्थायी बन्ध्याकरण गर्दा न यसले नियमित कामकाजमा कुनै समस्या पार्छ न त यौन क्षमतामा कमी ल्याउछ ।

  • १४ पुष २०७९, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech