पेटभित्रै पाडो मरेपछि शल्यक्रिया गरेर गराइयो भैंसीलाई सुत्केरी

    • स्वास्थ्य पेज

  • १२ पुष २०७९, मंगलवार

नेपालगन्ज: नुवाकोटको बेलकोटगढी नगरपालिका–१, आरूखर्कका किसान रामप्रसाद ढकालको ब्याउन नसकेको भैँसीको सोमबार शल्यक्रिया (सिजरिन प्रविधि) गरेर सुत्केरी गराइएको छ।
नुवाकोटमा पशुचौपायको शल्यक्रिया गरेर सुत्केरी गराइएको यो पहिलोपटक भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नुवाकोटका पशु चिकित्सक डा. बबलु ठाकुरले जानकारी दिनुभयो ।

उहाँको नेतृत्वमा रहेको प्राविधिक टोलीले ब्यथा लागेको एक सातासम्म ब्याउन नसकी छटपटाएको भैँसीको सोही गोठमा नै ‘शल्यक्रिया कक्ष’ बनाएर गरिएको शल्यक्रिया सफल भएको हो।
‘सुत्केरी हुन समय पुगेको उक्त भैँसी व्यथा लागेको एक सातासम्म पनि ब्याउन नसकेपछि एकमात्र अन्तिम विकल्पको रूपमा रहेको शल्यक्रियामार्फत पेट चिरेर पाडो निकालियो,’ पशु सेवा विज्ञ केन्द्रका डा ठाकुरले भन्नुभयो, ‘पेटमा नै बच्चा (पाडो) मरेको भएर सुत्केरी हुन नसकेको रहेछ, शल्यक्रियापश्चात माउको स्वास्थ्य राम्रो छ। घाँसपानी खान थालेको छ।’

केन्द्र प्रमुख भरत पाण्डेले जिल्लामा पशुचौपाय ब्याउन नसक्दा पाठेघरमा हात हालेर निकाल्ने गरेको भए पनि शल्यक्रिया गरेर सुत्केरी गराइएको यो पहिलोपटक र सफलसमेत भएकाले उत्साह जगाएको बताउनु भयो । यसअघिका समयमा सुत्केरी हुन नसकी धेरै पशुचौपाय गुमाउनुपरेको थियो। अब किसानको लागि पशुधनको सुरक्षा र कार्यालयको लागि सेवा प्रवाहमार्फत किसानको विश्वास जित्न मनोबल उच्च भएको उहाँको भनाइ छ।

  • १२ पुष २०७९, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech