कोहलपुरमा खोप कार्यक्रमको समीक्षा तथा पूर्ण खोप दीगोपना सम्बन्धि गोष्ठि

    • स्वास्थ्य पेज

  • २७ मंसिर २०७९, मंगलवार

नेपालगन्जः कोहलपुर नगरपालिकामा आज पूर्ण खोप कार्यक्रमको समीक्षा तथा पूर्ण खोप दीगोपना र सरसफाई प्रबद्र्धन योजना तयारी सम्बन्धि गोष्ठी सम्पन्न भएको छ ।

गोष्ठीमा बोल्दै कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्ण प्रसाद अचार्यले स्वस्थ समाज निर्माणका लागि खोप अनिवार्य शर्त भएको बताउनुभयो ।

स्वस्थ समाज निर्माणका लागि खोपको सुनिश्चितता र दीगोपना अत्यन्त जरुरी रहेको बताउँदै उहाँले त्यसका लागि कोहलपुर नगरपालिका प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो ।

उहाँले स्वास्थ्य क्षेत्रको विकास र सुधारका लागि कोहलपुर नगरपालिका संवदनशील भएको बताउँदै स्वस्थ नगरपालिका बनाउने अठोटका साथ अघि बढेको उल्लेख पनि गर्नुभयो । उहाँले खोपको पहुँच वृद्धिका लागि स्वास्थ्यकर्मीहरुलाई निर्देशन समेत दिनुभएको छ ।

‘खोपको सुनिश्चितता र दीगोपनाका लागि स्वास्थ्यकर्मीको भूमिका महत्वपूर्ण छ उहाँले भन्नुभयो-‘नीतिगत सवालमा गर्नुपर्ने काम हामी जनप्रतिनिधिले गरौंला तर खोप अभियानलाई प्रभावकारी गराउने दायित्व तपाई स्वास्थ्यकर्मीहरुको हो ।’

गोष्ठिमा बोल्दै नगर उपप्रमुख संगिता सुवेदीले बालबालिकालाई स्वस्थ बनाउन सके मात्र मुलुकले स्वस्थ्य कर्णधार पाउने भन्दै खोप अभियानलाई प्रभावकारी ढंगले सञ्चालन गर्न निर्देशन दिनुभयो ।

खोप अभियानलाई प्रभावकारी गराउने सवालमा नगरपालिका प्रतिबद्ध रहेको पनि उहाँको भनाइ छ । यस्तै सामाजिक विकास समितिका संयोजक इश्वरी विकले खोप लिने उमेर समूहका कुनै पनि बालबालिका खोपको पहुँचबाट बाहिर हुन नहुने बताउनुभयो ।

स्वास्थ्य कार्यालय बाँकेकी प्रमुख सुनिता पौडेलले खोप उचित तरिकाले पुग्न नसके समाज स्वस्थ नहुने बताउँदै स्थानीय तहको काँधमा ठूलो जिम्मेवारी रहेको उल्लेख गर्नुभयो ।

उहाँले खोप अभियानलाई प्रभावकारी गराउन वडातहबाटै पहल कदमी आवश्यक रहेकोमा जोड दिनुभयो । पालिका खोप समन्वय समिति, वडा प्रतिनिधि र स्वास्थ्य संस्था प्रमुखहरुको उपस्थितिमा स्वास्थ्य कार्यालय बाँकेले आयोजना गरेको गोष्ठीमा स्वास्थ्य कार्यालय बाँकेका खोप फोकल पर्सन नरेश श्रेष्ठले खोपको प्रक्रियाबारे प्रस्तुतिकरण गर्नुभएको थियो ।

त्यसक्रममा श्रेष्ठले खोप कभरेज बढाउँदै दीगोपनाका लागि स्थानीय तहहरुले खोप अभियानलाई प्रभावकारी ढंगले अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले जन्मेदेखि १५ महिना उमेर समुहका सबै बालबालिकालाई विभिन्न १३ वटा खोप दिनु पर्ने बताउनुभयो ।

कोहलपुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अनिलसेन ठकुरीले कोहलपुर नगरपालिकाले खोप अभियानलाई महत्वपूर्ण कार्यक्रमकारुपमा लिदै यसलाई प्रभावकारी गराउने सवालमा आफुहरु प्रतिबद्ध रहेको बताउनुभयो ।

उहाँले खोपबाट बञ्चित १६ देखि २३ महिनाका बालबालिकालाई पनि खोपको दायरामा ल्याउन आगामी माघ, फागुन र चैत महिनामा घरधुरी सर्भे गरिने जानकारी दिनुभयो । छुटेका बालबालिकालाई बैशाखमा खोप दिइने छ ।

त्यही सर्भेका आधारमा छुटेका बालबालिकालाई खोप लगाइने छ । स्वास्थ्य कार्यालयले बाँकेले जिल्लाका ८ वटै पालिकामा यसप्रकारको गोष्ठी गरिसकेको बताएको छ ।

  • २७ मंसिर २०७९, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech