डा राजन पाण्डे र प्रा दुर्गालक्ष्मी श्रेष्ठ अतिरिक्त स्वास्थ्य सचिव बढुवाको लाइनमा

    • स्वास्थ्य पेज

  • २० मंसिर २०७९, मंगलवार

नेपालगन्जः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा रिक्त रहेको अतिरिक्त स्वास्थ्य सचिव (१२ औँ तह)मा बढुवा हुनका लागि भेरी अस्पताल नेपालगन्जबाट दुई जनाले व्यक्तिगत विवरण बुझाएका छन् ।

प्रतिस्पर्धाका लागि योग्यता पुगेपछि भेरी अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा. राजन पाण्डे र अस्पतालका नर्सिङ प्रमुख प्रा दुर्गालक्ष्मी श्रेष्ठले व्यक्तिगत विवरण मन्त्रालयमा बुझाउनुभएको हो ।

दुईवटा दरबन्दीमा प्रतिस्पर्धा गर्न योग्यता पुगेका डा पाण्डे र श्रेष्ठसहित २१ जनाले व्यक्तिगत विवरण मन्त्रालयमा बुझाउनुभएको बताइएको छ।

१२ औँ तहका डा श्यामसुन्दर यादव र डा गुणराज लोहनीले अवकाश पाएपछि रिक्त रहेको दरबन्दी पदपूर्तिका लागि बढुवा प्रक्रिया अघि बढाइएको थियो ।

बढुवा समितिले गत ३० कात्तिकमा सूचना जारी गर्दै अतिरिक्त स्वास्थ्य सचिवका लागि योग्यता पुगेका इच्छुकले १५ दिन भित्र व्यक्तिगत विवरण बुझाउन भनेको थियो।

बढुवा समितिले यहि नामबाट अध्ययन् गरी योग्यता कार्यसम्पादन मूल्यांकन गरी कम्तीमा पाँच जनाको नाम सिफारिस गर्नेछ । सोही नामबाट मन्त्रिपरिषदले दुई जनालाई अतिरिक्त स्वास्थ्य सचिव पदमा बढुवा गर्नेछ ।

अरु को-को ले बुझाए विवरण ?
लुम्बिनी प्रदेशका स्वास्थ्य सचिव डा विकास देवकोटा, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका डा कृष्णप्रसाद पौडेल, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका निर्देशक सुनिल शर्मा, प्रदेश अस्पताल भद्रपुरका डा टंक बराकोटी, राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रका निर्देशक डा सुधा देवकोटा, आयुर्वेद तथा बैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा वासुदेव उपाध्यायले बढुवाका लागि व्यक्तिगत विवरण पठाउनुभएको छ ।

यस्तै गण्डकी प्रदेश स्वास्थ्य तालीम केन्द्रका डा विनोदविन्दु शर्मा, बागमती स्वास्थ्य मन्त्रालयका सचिव बद्रीबहादुर खड्का, स्वास्थ्य विभाग नर्सिङ महाशाखा प्रमुख गोमा निरौला, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा श्रीकृष्ण श्रेष्ठ, वीर अस्पतालका डा सरोज शर्मा, परोपकार प्रसूति अस्पतालका डा आमिरबाबु श्रेष्ठ, स्वास्थ्य मन्त्रालयमा रहेका नारायण ढकाल, डा सञ्जय ठाकुर, कान्ति बाल अस्पतालका डा अजित रायमाझी, स्वास्थ्य निर्देशनालय लुम्बिनीका डा विनोदकुमार गिरी, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा मनिषा रावलले पनि व्यक्तिगत विवरण बुझाउनुभएको छ । कर्णाली प्रदेश अस्पतालका डा केशरबहादुर ढकालले पनि बढुवाका लागि व्यक्तिगत विवरण पठाउनुभएको छ ।

  • २० मंसिर २०७९, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech