मोतीबिन्दुको उपचार कसरी गरिन्छ, कति लाग्छ खर्च ?

    • स्वास्थ्य पेज

  • २० मंसिर २०७९, मंगलवार

नेपालमा मात्र होइन, अन्य विकासोन्मुख देशमा अन्धोपनको प्रमुख कारक मोतीबिन्दु हो । अहिले मान्छेको सरदर आयु बढेको छ । तर जीवनशैली पनि परिवर्तन भएर मधुमेह, उच्च रक्तचापको समस्या बढेको छ, जसले मोतीबिन्दु हुनेहरूको संख्या बढेको छ ।

आँखामा एउटा प्राकृतिक पारदर्शी लेन्स हुन्छ । त्यो लेन्समा कलर परिवर्तन हुँदै आयो, अथवा बाक्लो हुँदै गयो भने आँखाको पारदर्शितामा धमिलोपन आई हेर्ने क्षमतामा कमी आउनुलाई मोतीबिन्दु भनिन्छ । उमेर बढेसँगै शरीरका हरेक सेल्स परिवर्तन हुन्छन् । त्यसरी नै आँखामा भएको पारदर्शी लेन्स पनि परिवर्तन हुने नेत्ररोग विशेषज्ञ डा. कमलबहादुर खड्काको भनाइ छ ।

कुन उमेरमा बढी हुन्छ मोतीबिन्दु ?

प्रायः उमेर बढ्दै गएपछि अधिकांश मानिसमा यो समस्या देखिने गर्छ । विशेषगरी ५० वर्षको उमेरपछि मोतीबिन्दुको समस्या बढी देखिन्छ । जसलाई उमेर अनुसारको मोतीबिन्दु भनिन्छ । मधुमेह तथा हाइपरटेन्सन जस्ता रोगका कारण पनि मोतीबिन्दु हुनसक्ने डा.खड्का बताउनुहुन्छ ।

‘कहिलेकाहीं दुर्घटना भएर आँखामा चोट लाग्दा, जन्मजात नै मोतीबिन्दु, स्टेरोइडको बढी प्रयोगका कारण र आँखाको अन्य शल्यक्रिया गर्दा पनि यो समस्या देखा पर्छ । तर ८० प्रतिशतभन्दा बढी मोतीबिन्दुको समस्या उमेर ढल्किएपछि नै हुन्छ,’ उहाँ भन्नुहुन्छ ।

मोतीबिन्दु भएमा के हुन्छ ?

डा खड्का भन्नुहुन्छ, ‘मोतीबिन्दु भएमा आँखा हेर्न गाह्रो हुने र धमिलो हुने जस्ता समस्या हुन्छ । यसको समयमा उपचार गरिएन भने पछि जलबिन्दु समेत हुन्छ ।’ मोतीबिन्दु भएपछि बिस्तारै आँखाको दृष्टि कम हुँदै पूरै दृष्टि नै गुम्ने भय पनि हुने उहाँको भनाइ छ । यसको समयमा उपचार नगरे जटिल समस्या आउन सक्छ ।

के छ उपचार ?

मोतीबिन्दु भएपछि यसको उपचार भनेको शल्यक्रिया हो । मोतीबिन्दु भइसकेपछिको सबैभन्दा प्रभावकारी उपचार पनि शल्यक्रिया नै हो । यो रोग औषधिले ठीक हुँदैन । शल्यक्रियापछि यो पूर्णतः निको हुन्छ ।

यसको उपचार समयमा गरियो भने ९९ प्रतिशत निको हुने डा। खड्का बताउँछन् । ‘यसको शल्यक्रिया गर्दा पुरानो लेन्स निकालेर कृत्रिम लेन्स राख्ने हो । आँखामा रहेको लेन्सलाई ढाक्ने झिल्लीलाई सानो प्वाल पारेर निकालिन्छ र कृत्रिम लेन्स राखिन्छ,’ उहाँको भनाइ छ ।

‘यो शल्यक्रिया सामान्य रूपमा गरिएको सर्जिकल प्रक्रियामध्ये एक हो र सबैभन्दा सफल प्रक्रियामध्ये एक हो,’ डा खड्का भन्नुहुन्छ, ‘सानो झिल्लीबाट यो लेन्स राखिन्छ । यदि त्यो झिल्ली फुट्यो भने लेन्स राख्न सकिंदैन । अनुभवी डाक्टरसँग शल्यक्रिया गर्दा त्यति जटिल हुँदैन ।’

शल्यक्रिया गरेकै दिन बिरामीलाई डिस्चार्ज गरिन्छ ?

मोतीबिन्दुको शल्यक्रिया पहिले ठूलो घाउ बनाएर ७ देखि ११ वटासम्म टाँका लगाएर तीन(चार दिनसम्म अस्पतालमा राखेर गर्ने गरिन्थ्यो । तर पछिल्लो समय मोतीबिन्दु शल्यक्रियाको लागि नयाँ प्रविधि भित्रिएको डा खड्का बताउनुहुन्छ ।

‘अहिले एकदमै सानो घाउ २.३ मिलिमिटरको घाउ बनाएर त्यहाँबाट लेन्स निकालेर कृत्रिम लेन्सलाई पट्याएर राखिन्छ । त्यो लेन्सभित्र गएपछि आफैं त्यसले आफ्नो साइज लिन्छ,’ उहाँको भनाइ छ ।।

मोतीबिन्दुको शल्यक्रिया गरेकै दिन बिरामीलाई डिस्चार्ज गरिन्छ । शल्यक्रिया सकिएपछि आधा घण्टा मात्र बेडमा रेस्ट गराएर बिरामीलाई डिस्चार्ज गर्न सकिन्छ ।

शल्यक्रियाका लागि कति लाग्छ खर्च लाग्छ ?

शल्यक्रियाको लागि नेपाल तथा भारतमा बनेको लेन्स प्रयोग गरियो भने न्यूनतम खर्च १२ हजार ५०० रुपैयाँ लाग्छ । कसैले आफ्नो रुचिअनुसार अमेरिकी, जर्मन लगायतका देशमा बनेको लेन्स राख्छु भन्यो भने लेन्सको शुल्क महँगो परेर ३२ हजारदेखि ३५ हजार रुपैयाँसम्म पर्छ । मोतीबिन्दुको शल्यक्रिया गर्न ३० मिनेट भन्दा कम समय लाग्छ । अनुभवी डाक्टरसँग शल्यक्रिया गर्ने हो भने १० मिनेटमा नै यो शल्यक्रिया हुने उहाँको भनाइ छ ।

  • २० मंसिर २०७९, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech