मिर्गौला पीडित बिरामीको दर्दनाक पीडा, निःशुल्क डायलसिसमा लापरवाही: कोहलपुरमा ३३ जनाको मृत्यु

    • स्वास्थ्य पेज

  • २० मंसिर २०७९, मंगलवार

नेपालगन्जः नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल, कोहलपुरमा डायलसिस गराइरहेका ३३ जना बिरामीको मृत्यु भएको छ । अस्पतालमा डायलसिस सेवा बन्द हुँदा साउनयता मात्रै ३३ जनाको मृत्यु भएको हो ।

साउनयता डायलसिस सेवा नियमित हुन नसक्दा बिरामीको अकालमै मृत्यु भएको अस्पतालको तथ्यांकले देखाएका छ । अस्पतालको विवरण अनुसार, साउनअघि नियमित डायलसिस गराइरहेका ५७ बिरामी थिए । डायलसिस सेवा अवरुद्ध भएपछि त्यो संख्या घटेर अहिले १७–१८ मा सीमित भएको छ । साउन र भदौमा १०–१०, असोजमा सात अनि कात्तिक र मंसिर १२ गतेसम्ममा ६ जनाको मृत्यु भइसकेको छ । निरन्तर रूपमा डायलसिस हुँदा वैशाख, जेठ र असारमा सात जनाको मात्रै मृत्यु भएको थियो ।

मेडिकल कलेजले निजी सेवा प्रदायक कम्पनी बिरंग हेल्थ केयर प्रालिसँग सम्झौता गरी भदौ २०७७ देखि डायलसिस सेवा चलाउँदै आएको थियो । पछिल्लो समय उक्त कम्पनीले अस्पतालबाट सम्झौता अनुसारको रकम नपाउँदा सेवा नियमित हुन छाडेको हो । बिरंग हेल्थ केयरका म्यानेजर शिशिर शाह अस्पतालबाट अघिल्लो वर्षदेखि भुक्तानी नपाएकाले बाध्य भएर डायलसिस सेवा बन्द भएको दाबी गर्नुभयो ।

गत आर्थिक वर्षदेखि अहिलेसम्मको करिब २ करोड रुपैयाँ भुक्तानी लिन बाँकी रहेको शाहको भनाइ छ । अस्पताल प्रशासन भने सरकारले रकम नदिएकाले कम्पनीलाई भुक्तानी गर्न नसकिएको बताउँछ । अस्पताल प्रशासनको दाबीमा, सरकारले २०७८ साउन मसान्तदेखि डायलसिस बापतको रकम उपलब्ध गराएको छैन, त्यसैले सम्झौता भएको कम्पनीलाई रकम दिन नसकेको हो ।

स्वास्थ्य सेवा विभागका अनुसार, आर्थिक वर्ष २०७८र७९ मा अस्पतालको नवीकरण नहुँदा रकम भुक्तानी भएको छैन । वैशाख २०७९ सम्म नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाले ‘विपन्न नागरिकको औषधि कोष’ कार्यक्रम सञ्चालन गर्दै आएको थियो । उसले वैशाखयता ‘विपन्न नागरिक औषधि उपचार कार्यक्रम’ स्वास्थ्य बीमा कार्यक्रममा गाभेको छ । कोषले गम्भीर आठ रोगका विपन्न बिरामीलाई तोकिएका अस्पतालबाट सीधै निःशुल्क औषधि उपचार दिने गर्छ ।

स्वास्थ्य बीमा बोर्डका सूचना अधिकारी शम्भुप्रसाद ज्ञवाली नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालको नवीकरण ढिलाई भएकाले पैसा भुक्तानी हुन नसकेको बताउनुभयो । प्रत्येक वर्ष सेवा दिनका लागि अस्पताल नवीकरण हुनुपर्छ । आर्थिक वर्ष २०७८÷७९ मा अस्पतालले दिन अगाडि मात्रै नवीकरण भएको कागजपत्र बुझाएकोले केही दिनभित्रैमा रकम पठाउने ज्ञवालीको भनाइ छ ।

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालका सूचना अधिकारी सञ्जयकुमार पन्तले डायलसिस सेवा सञ्चालन गर्नुपर्ने जिम्मेवारी अस्पतालको नभएर हेल्थ केयर प्रालिको भएको बताउनुभयो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २५ साउनमा एक परिपत्र जारी गर्दै निजी संघ–संस्थालाई डायलसिस सेवा सञ्चालन गर्न नदिने निर्णय गरेको थियो । अबदेखि सरकारसँग सम्झौता भएका सरकारी अस्पताल र मेडिकल कलेजलाई मात्रै डायलसिस चलाउन दिने निर्णय गरेपछि बिरंग हेल्थ केयर प्रालिले सेवा रोक्न खोजेको हो ।

 

  • २० मंसिर २०७९, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech