के कारणले दिसामा रगत देखिन सक्छ ?

    • स्वास्थ्य पेज

  • १६ मंसिर २०७९, शुक्रबार

दिसाबाट रगत बग्ने समस्या भएका व्यक्ति पायल्सको उपचार गराउन भन्दै अस्पताल धाइरहेका हुन्छन् । खासगरी मलद्वारको समस्या पायल्स, फिस्टुला, फिसर भएमा दिसामा रगत बग्ने गर्छ । त्यस्तै कब्जियत र आन्द्रासम्बन्धी समस्या हुँदा पनि दिसामा रगत देखिन्छ ।

दिसासँगै रगत बग्ने मुख्य समस्या फिसरमा हुन्छ । फिसर हुँदा मलद्वार च्यातिएको हुन्छ । दिसा गर्दा गाह्रो भएमा वा बल परेमा मलद्वार च्यातिन्छ र फिसर हुन्छ । यस्तो स्थितिमा दिसामा रगत देखिन सक्छ ।

मलद्वार वा त्यसभित्रको नसा सुन्निनुलाई पायल्स भनिन्छ । बाहिरपट्टि सुन्निएको छ भने धेरै रगत बग्छ तर दुखाइ कम हुन्छ ।

फिस्टुला चाहिं धेरै किसिमको हुन्छ । दिसामा रगत बग्ने समस्या भनेको एनल फिस्टुला हो । यस्तो समस्या मलद्वारको नलीमा पिप जम्मा भएर हुन्छ । फिस्टुला हुँदा धेरै पीडा हुने, दिसामा परिवर्तन देखिने र रक्तश्राव हुन्छ । यसमा रगत मात्र भन्दा पनि मलद्वारको नजिक सानो नलीबाट पानी, पिप निस्कने गर्छ र संक्रमण भइरहने भय हुन्छ ।

अर्को भनेको कब्जियत हो, जतिबेला दिसामा रगत बग्ने गर्छ । भित्री पायल्सले पनि रक्तश्राव हुन्छ । कसैमा इन्फ्लाममेटोरी बाउल डिजिजले समेत दिसामा रगत देखिन्छ । यो भनेको आन्द्रामा हुने एक किसिमको समस्या हो ।

खासमा यो पाचनसम्बन्धी समस्या हो, जसले अरु धेरै किसिमको समस्या निम्त्याउने गर्छ । रगत जाने, राम्ररी दिसा नहुने समस्या हुन्छ । यसैगरी ठूलो आन्द्रामा मासु पलाउँदा पनि दिसामा रगत जान्छ ।

दिसामा रगत बग्ने कारणमध्ये एउटा हो, क्यान्सर पनि । यो बिरलै मात्रामा देखिने समस्या हो । क्यान्सर छ भने पनि दिसामा रगत देखिन्छ । यद्यपि मान्छेले दिसामा रगत देखिनासाथ पायल्सको उपचार गर्न थाल्छन् । पायल्सकै उपचार गराइरहँदा अरु समस्या जटिल भइसकेको हुनसक्छ ।

यस किसिमको समस्या हुनुमा हामीले घरबाहिरको खाने बानी हो, जुन स्वस्थ्यकर हुँदैन । तारेको एवं भुटेको, मसालेदार, मैदाजन्य खानेकुराले यस्तो समस्या ल्याउने गर्छ ।

सबै उमेरमा देखिन्छ यो समस्या

पहिला ४० वर्षदेखि माथिका व्यक्तिले पायल्सले धेरै तिाउने गथ्र्यो । अहिले भने मान्छेको जीवनशैली निकै अस्तव्यस्त छ, जसले गर्दा बालबच्चामा समेत पायल्स हुने जोखिम देखिएको छ ।

लक्षण उस्तै, रोग फरक

सबै मलद्वारमा हुने रोग भएकाले लक्षण उस्तै देखिन्छ । त्यसैले मानिसहरु झुक्किन्छन् । यस्तो समस्या भएमा सबैभन्दा पहिला विशेषज्ञ चिकित्सक ग्यास्ट्रोलोजिस्ट र यसबारे अभ्यास गरिरहेको जीआईलाई देखाउनुपर्छ ।

बिरामीले भोगेको कुरा र लक्षणको आधारमा यसमा सबैभन्दा पहिला हुने भनेको क्लिनिकल परीक्षण हो । यसले कुन रोगका कारण रगत बगिरहेको छ भन्ने कुरा पत्ता लाग्छ । त्यसबाट पनि पत्ता लागेन भने क्लोनोस्कोपी गराउनुपर्ने हुन्छ । मलद्वारबाट दूरबीन घुसाएर आन्द्राको अवस्था हेर्न क्लोनोस्कोपी गरिन्छ । यसबाट बाँकी कुरा पत्ता लाग्छ ।

बिरामीहरुले दिसामा रगत देखिने बित्तिकै पायल्स भयो भन्दै जचाउन आउँछन् । पायल्स भएको व्यक्तिलाई रगत जाने र मलद्वारमा मासु पलाउने हुनसक्छ तर दुख्दैन । मलद्वारबाट रगत बग्ने र दिसा गर्दा दुखाइ हुन्छ भने अन्य रोग छ कि भनेर हेरिन्छ । रगत सँगै सिंगान मिसिएको जस्तो चिप्लो पदार्थ दिसामा देखिएको छ, पेट कटकट दुखिरहेको छ भने ठूलो आन्द्राको समस्या हुनसक्छ ।

क्लिनिकल परीक्षण नगराई औषधि खाने प्रवृत्ति

धेरैजसो व्यक्तिमा औषधिले ठीक हुन्छ भन्दै परीक्षण नै नगराई जथाभावी फार्मेसीबाट औषधि लिएर खाने प्रवृत्ति छ । यसरी जथाभावी औषधि खाँदा समस्या झनै बढ्ने जोखिम हुन्छ ।

अधिकांश बिरामी परीक्षण नै नगराई औषधि खाएर केही समयमै ठीक हुने रोग पनि वर्षौं पालेर ढिला उपचार गर्न आउने क्रम बढिरहेको छ । यसले समय त बर्बाद भयो नै जथाभावी औषधिले थप जटिलता बढाइरहेको हुन्छ ।

सबैभन्दा राम्रो भनेको लक्षण देखिने बित्तिकै यससँग सम्बधित अभ्यास गरिरहेको जीआई सर्जनलाई देखाउने र आन्द्रासम्बन्धी समस्या छ भने मात्र ग्यास्ट्रोलोजिस्टलाई देखाउन आवश्यक हुन्छ ।

पाइल्स, फिसर, फिस्टुला सम्बन्धी जानकारी नभएका र विशेषज्ञ हासिल नगरेकाहरु यसको विज्ञ बताउँदै उपचार गरिरहने मात्र ९० प्रतिशत होलान् । उनीहरुले बिरामीलाई खानपान सम्बन्धी भ्रम छरेका छन् ।

कुन दाल, कुन तरकारी नखाने भन्दै घरमा पाइने ताजा र स्वच्छ खानेकुरा बार्ने लामो सूची दिने गरेका छन् । जसले गर्दा बिरामीलाई झन् पौष्टिक तत्वको कमी हुन्छ । सबैभन्दा बढी बार्नु पर्ने भनेको मैदाजन्य खानेकुरा, शरीरलाई चाहिने भन्दा बढी मासु र जंक फुड हो । तर घरमा पाइने पौष्टिक आहार सन्तुलित भोजनको रुपमा एउटा दैनिकी तालिका बनाएर खान सकिन्छ ।

घरमा बनेका खानेकुरा पनि बार्न थाल्यो भने बिरामीमा भिटामिन, खनिज जस्ता तत्वको कमी हुन्छ र शरीर कमजोर हुन पुग्छ । खानपिनको मात्रामा ध्यान दिने तर खान नै छाड्यो भने अर्को स्वास्थ्य समस्या निम्तिन सक्छ ।

त्यस्तै, कुनै औषधिले कब्जियत, पायल्स जस्ता रोग लाग्ने सम्भावना न्यून हुन्छ । तर कुनै औषधि कब्जियत गराउने खालका छन् भने डाक्टरले पहिला नै पानी बढी खानु होला भनेर भन्ने गर्छन् । केही बिरामी जस्तै मिर्गौला फेल, प्यारालाइसिस, क्यान्सर र बेडमा आराम गर्नुपर्नेलाई यो समस्या हुनसक्छ ।

समस्या हुन नदिन के गर्ने ?

घरमा पाइने खानेकुरा दाल, भात, माछा, मासु शरीरलाई चाहिने कुरा हुँदा यी कुरामा नबार्ने, सलाद अनिवार्य खाने, मासु खाएको दिन मासु कम र सलाद समावेश गरेर खानेकुरा खान सकिन्छ ।

पर्याप्त रुपमा पानी पिउने, सागपात र दैनिक फलफूललाई प्राथमिकता दिनुपर्छ । बाहिरी खानेकुरा सकेसम्म नखाने, मैदाबाट बनेका खानेकुराको मात्रा घटाउने, शारीरिक कसरत बढाउने गर्नुपर्छ ।

नेपालमा उपचार सहज तर जनचेतनाको कमी

प्रायः सबैमा लाग्ने यस्ता किसिमको रोगको पहिचान हुन नसक्दा उपचार हुन पाएको छैन । आधिकारिक रुपमा नखोलिएका संस्था र यस्ता रोगसम्बन्धी ज्ञान नभएकाहरुले पनि जथाभावी औषधि दिने गर्दा समस्या हुने गरेको छ । गोप्य अंग देखाउन लजाएर बस्ने, गोप्य रुपमै एउटा पसलबाट ल्याएर औषधि खाने गर्दा पीडा ज्यूँको त्यूँ रहन्छ ।

धेरैमा आयुर्वेद औषधिले ठीक हुन्छ भन्ने भ्रम छ । त्यहाँ आयुर्वेद डाक्टर छ छैन भन्ने कुरा जान्न जरुरी छ । पाइल्स, फिस्टुला, फिसर, कब्जियत अस्थायी रोग भएकाले विशेषज्ञ चिकित्सककहाँ गएर उपचार गरे छिटो निको हुन्छ ।

उपचारका लागि विशेषज्ञकहाँ जाँदा उपचार सहज हुन्छ । पाइल्स छ भने अस्पताल जाँदा शल्यक्रिया गरिदिन्छन् भनेर पनि धेरै जना जान मान्दैनन् । तर अहिले प्रविधिले धेरै सहज बनाइदिएको छ ।

पायल्सकोे उपचार विनाचिरफार पनि गरिन्छ । जुन नेपालमा पनि सहजै लाभ लिन सकिन्छ । फिसरको पनि औषधि र मल्हमले निको पार्न सकिन्छ । फिस्टुलाको सानो शल्यक्रिया गर्दा ठीक हुन्छ ।

  • १६ मंसिर २०७९, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech