रुघाखोकी लागेको छ ? यस्ता छन घरेलु ओखती

    • स्वास्थ्य पेज

  • १५ मंसिर २०७९, बिहीबार

यतिबेला धेरैलाई रुघाखोकीले सताइरहेको हुन्छ । रुघाखोकी लाग्नासाथ हामी औषधि किन्न हतारिहन्छौं । जबकि हाम्रो घर-आँगन, भान्सामा उपलब्ध वनस्पति, मरमसलाबाट रुघाखोकी सजिलै निको हुन्छ ।

यस किमिसको ओखती बनाउन धेरै खर्च गर्नुपर्दैन । अस्पताल पनि धाउनुपर्दैन । त्यसमाथि शरीरलाई नकारात्मक असर गर्ने भय पनि हुँदैन । बरु रोगप्रतिरोधात्मक क्षमता बढाउन सहयोग गर्छ ।

 

रुघाखोकीमा घरेलु ओखती

धुलोधुँवा र चिसोको कारण रुघाखोकी लाग्ने सम्भावना अधिक हुन्छ । त्यसैले शरीरलाई सकेसम्म न्यानो राख्नुपर्छ । शरीरलाई न्यानो बनाउने झोलयुक्त खानेकुरा खानु जरुरी हुन्छ । यस्तो खानाले शरीरलाई पर्याप्त पोषण पनि मिल्छ । गेडागुडीको झोल वा मासुको सुप खान उपयुक्त हुन्छ । साना बच्चा, बुढापाका, रोगी एवं सुत्केरीलाई यसबेला अरु बढी ख्याल गर्नुपर्छ ।

रुघाखोकी लागेमा केही यस्ता घरेलु ओखती प्रयोग गर्न सकिन्छ, जो निकै प्रभावकारी पनि हुन्छ ।

तुलसीको पात, अदुवा र दालचिनीको पेय

तुलसीको पात, मरिच, अदुवा, दालचिनी एकसाथ उमालेर पिउँदा रुघाखोकी निको हुन्छ । यसमा थोरै सक्खर मिसाउन सकिन्छ । यसो गर्दा स्वादिलो पनि हुन्छ ।

यसैगरी मरिच, दालचिनी, अदुवामा बेसार मिसाएर उमालेको पानी पनि यसबेला निकै प्रभावकारी हुन्छ ।

मह, कागती र सुकुमेलको घोल

तातो पानीमा एक चम्चा मह, थोरै सुकुमेलको धुलो मिश्रण गर्ने र त्यसमा कागतीको रस मिसाउनुपर्छ । यस्तो रस दिनमा दुई पटक पिउँदा लाभलायक हुन्छ ।

बेसारयुक्त दूध

तातो दूधमा बेसार मिसाएर पिउँदा पनि रुघाखोकीबाट छुटकारा पाउन सकिन्छ ।

अदुवा, ज्वानो र बेसारको घोल

थोरै ज्वानो पानीमा अदुवा र बेसार मिसाएर राम्ररी उमाल्नुपर्छ । त्यो पानी पिउँदा रुघाखोकीमा आराम मिल्छ ।

तोरीको गेडा

एक गिलास तातो पानीमा एक चम्चा तोरीको गेडा उमाल्नुपर्छ । पानी राम्रोसँग उमालेपछि पिउनुपर्छ । तोरीको दानामा पाइने सल्फरले जमेको खकारलाई बाहिर निकाल्न मद्दत गर्छ ।

भिजाएको बदाम

यतिबेला बदामको सिजन पनि हो । एक मुठी बदामलाई रातभर पानीमा भिजाएर राख्ने । बिहान त्यसलाई पिसेर तातो पानीसँग खानु उपयुक्त हुन्छ ।

कस्तो आहार खाने ?

रुघाखोकी हुँदा खानपानमा विशेष ख्याल गरिएन भने यसले थप दुःख दिनसक्छ । त्यसैले आहार व्यवस्थापनमा ध्यान दिनुपर्छ ।

-तातो र ताजा खाना खाने ।

-पर्याप्त पानी पिउने ।

-झोलिलो खानेकुरा र गेडागुडीमा जोड दिने ।

-सुपमा प्याज र लसुनको प्रयोग प्रभावकारी हुनसक्छ ।

रुुघाखोकी लाग्दा ध्यान दिनुपर्ने कुरा

-प्रदूषित वातावरण र धुलो माटोमा नजाने ।

-यो संक्रमणको कारणले पनि हुन्छ, त्यसैले संक्रमित व्यक्ति र स्थानबाट टाढा रहनुपर्छ ।

-चिसो खाना र बासीखानाको उपभोग सकेसम्म नगर्ने ।

-चिसो पेय पदार्थ, बरफको पानी, आइसक्रिम, जंक फुड, चिल्लो खानेकुराको सेवन नगर्ने ।

-दूध र दुग्धजन्य पदार्थको सेवन नगर्ने । यसले खोकी लाग्ने समस्या बढाउन सक्छ ।

सामान्य रुघाखोकी एक हप्तामा निको हुन्छ । धेरैमा १० दिन लाग्नसक्छ । तर दुई-तीन हप्ता लगातार रुघाकोखी लागिरह्यो भने चिकित्सकको परामर्श जरुरी हुन्छ ।

तातो पानीको बाफ

रुघाखोकीको समस्यामा तातोपानीको बाफ लिनु एकदमै लाभदायक हुन्छ । यसले नाक खुलाउँछ र श्वासप्रश्वासमा पनि सहज हुन्छ ।

  • १५ मंसिर २०७९, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech