खोज र खोप !

    • स्वास्थ्य पेज

  • १२ मंसिर २०७९, सोमबार

नेपालगन्जः राष्ट्रिय खोप तालिका अनुसार लिनुपर्ने सम्पूर्ण खोप लिएको सुनिश्चितता हुनु नै पूर्णखोप घोषणाको मुख्य उद्देश्य हो ।बाँके पूर्ण खोप जिल्ला घोषित भइसकेको परिस्थितिमा यसको दीगोपना र सरसफाई प्रबर्धनमा जोड दिन थालिएको छ ।

स्वास्थ्य कार्यालय बाँकेले नेपालगन्जमा आज जिल्लास्तमा पूर्णखोप कार्यक्रमको समिक्षा तथा पूर्ण खोप दीगोपना र सरसफाई सम्बन्धी अभिमुखिकरण दीगोपनाका लागि योजना तयारी गोष्ठि कार्यक्रमको आयोजना गरी सबै बालबालिकालाई खोपको पहुँचमा ल्याउने र त्यसलाई दीगोरुपमा अगाडि बढाउने उपायबारे स्थानीय सरकारसँग अन्तरक्रिया गरेको छ ।

स्थानिय तह प्रमुख, उपप्रमुख, प्रशासकिय अधिकृत तथा स्वास्थ्य शाखा प्रमुखहरु सहभागि भएको गोष्ठिमा पूर्ण खोप घोषणाको आधार भनेकै ‘खोज र खोप’ भएकाले यो लक्ष्यलाई दीगो बनाउन वडास्तरबाटै पहल गरिनुपर्ने स्वास्थ्य कार्यालय बाँकेका प्रमुख सुनिता पौडेलले बताउनुभयो । खोज भनेको बालबालिकाहरुको पहिचान गर्ने र खोप भनेको खोप लगाउने भनिएको हो । उहाँका अनुसार बालमृत्युदर रोक्नका लागि खोप अत्यन्तै जरुरी रहेको बताउनुभयो । जन्मेदेखि १५ महिनासम्मका बालबालिकालाई रोग लाग्ने दर, अपाङ्गतादर र मृत्युदर घटाउन विभिन्न १३ प्रकारका खोप लगाउनुपर्ने हुन्छ ।

स्वास्थ्य कार्यालयका खोप फोकलपर्सन नरेश श्रेष्ठका अनुसार क्षयरोग, भ्यागुते रोग, लहरेखोकी, धनुष्टंकार, हेपाटाइटिस बि, हेमोफिलम इन्फ्ल्यूएञ्जा बी, पोलियो, दादुरा, रुबेला, निमोनिया, मेनिनजाइटिस, जापानिज इन्सेफलाईटिस्, रोटा भाइरसबाट हुने पखला रोकथामका लागि लक्षित बालबालिकालाई ती खोपहरु दिने गरिएको हो ।

जिल्लास्तमा पूर्णखोप कार्यक्रमको समिक्षा तथा पूर्ण खोप दीगोपना र सरसफाई सम्बन्धी अभिमुखिकरण दीगोपनाका लागि योजना तयारी गोष्ठिमा नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट, राप्तीसोनारी गाउँपालिकाका प्रमुख तप्तबहादुर पौडेल, नरैनापुर गाउँपालिकाका प्रमुख इश्तियाक अहमद शाह, डुडुवा, जानकी, बैजनथा, राप्तीसोनारी, नरैनापुरका उपप्रमुखहरु, प्रशासकिय अधिकृतहरु, स्वास्थ्य शाखाका प्रमुखहरु लगायतको सहभागिता रहेको थियो । गोष्ठिको सहजिकरण स्वास्थ्य कार्यालयका जनक गिरीले गर्नुभएको थियो ।

  • १२ मंसिर २०७९, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech