कहिल्यै दोस्रो नभएकी डा तोसिमा कार्की !

    • स्वास्थ्य पेज

  • १२ मंसिर २०७९, सोमबार

तोसिमा कार्की पेशाले एक शल्यचिकित्सक हुनुहुन्छ । राजनीति आउनु अघि उहाँ पाटन अस्पतालमा कार्यरत हुनुहुन्थ्यो ।

उहाँ ‘राजनीतिमा पलाएको ट्युमरको शल्यक्रिया’ गर्न भन्दै चुनावी मैदानमा उत्रनुभयो । ललितपुर ३ बाट उम्मेदवार बन्नुभयो ।

ललितपुर ३ मा एमालेका अमृत खड्काकालाई १८ हजार १७३ मतान्तर सहित राष्ट्रिय स्वतन्त्र पार्टीकी डा तोसिमा प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभयो ।

राजनीतिलाई सेवा भन्दा पनि व्यवसाय बनाएकाले देश र समाज सपार्ने अभिभारा बोकेर राजनीतिमा आएको उहाँको भनाइ छ ।

डा तोसिमाको जन्म २०४६ जेठ ७ गते बुद्ध जयन्तीको दिन भएको हो। मध्यम वर्गीय परिवारमा पहिलो सन्तानको रुपमा उहाँ जन्मनुभएको हो ।

सानैदेखि उहाँ तिक्ष्ण स्वभावकी हुनुहुन्थ्यो । स्कुले जीवनमा सँधै अब्बल हुनुभयो । उहाँलाई कहिल्यै दोस्रो हुनुपरेन।

उहाँले ललितपुरको नख्खुमा सहिद धर्मक्त माथेमाकी छोरी रेनु माथेमाले स्थापनमा गरेको सहिद धर्मभक्त स्कुलबाट कखराको सुरूवात गर्नुभयो ।

बाल्यकालदेखि नै नेतृत्व गर्न हौसिरहने तोसिमा कक्षा तिनदेखि १० सम्म उहाँ कक्षा मनिटर हुनुभयो ।

सहिद धर्मभक्त स्कुलबाट एसएलसी दिइएर डिस्टिन्क्सनबाट उतीर्ण भएसँगै डाक्टर बन्ने कौतुहलता उहाँको मनमा पलायो।

र, त्यही सपना बोकेर प्लस टु पढ्न कीर्तिपुरस्थित मोडर्न इन्डियन स्कुल पुग्नुभयो तोसिमा।

डाक्टर बन्न विज्ञान पढ्न जरूरी थियो। तोसिमाले विज्ञान विषय लिएर प्लस टु पढ्नुभयो । त्यहाँ पनि उहाँले आफ्नो अब्बलता प्रस्तुत गर्नुभयो, प्रथम श्रेणीमा उतीर्ण भएर।

त्यसपछि सुरू भयो उहाँको डाक्टर बन्ने यात्रा। परिवारको साथ र समर्थन छँदै थियो।

उहाँका आमाबुबा साक्षर मात्र हुनुहुन्छ। छोरी डाक्टर बन्ने सपना बुवाआमाले पनि बुनिरहनु भएको थियो ।

छोरीको चाहना र आफ्नो सपना पूरा गर्न बुवाआमाले तोसिमालाई नजिकैको किस्ट मेडिकल कलेजमा भर्ना गर्न लगाउनुभयो ।

डाक्टर बन्नका लागि भर्नामात्रै काफी थिएन। मोटो रकम आवश्यक थियो। बुवाआमाले हिम्मत हारेनन्। संघर्ष गरे। तोसिमालाई डाक्टर बनाउन खर्च बेहोरे।

बुवाआमाको संघर्ष बुझेकी तोसिमाले पनि मिहिनेत गरेर पढ्नुभयो। राम्रो अंक ल्याएर एमबिबिएस उत्तिर्ण पनि हुनुभयो ।

स्वास्थ्य क्षेत्र उहाँको पहिलो रोजाई थियो। उपचार अभावमा अस्पतालको शैय्यामा नुपुगी मुत्युलाई अंगालेका घटनाले उहाँलाई विक्षिप्त तुल्याउँथ्यो। त्यसैले उहाँमा डाक्टर बन्ने रहर पलाएको रहेछ।

सामाजिक वेदना बुझेकी उहाँले आफ्नो कर्मथलो विकट क्षेत्रलाई बनाउन चाहानुभयो। विभिन्न कारणवस त्यो सम्भव भएन्।

तर राजधानी बाहिरको नेपाल हेर्न उहाँ झापा पुग्नुभयो। झापामा दुई वर्ष मेडिकल अफिसरको रुपमा सेवा दिनुभयो ।

त्यसपछि उहाँले स्नातकोत्तर सुरु गर्नुभयो। उहाँलाई सर्जरीमा विज्ञता हासील गर्नु थियो। भाग्यवस उहाँले रोजेको क्षेत्रमै पढ्ने मौका पाउनुभयो।

काठमाडौं युनिर्भसिटी स्कुल अफ मेडिकल साइन्सबाट उहाँले सर्जरीमा स्नातकोत्तरको पढाइ पूरा गर्नुभयो।

त्यसपछि पाटन अस्पतालमा जनरल सर्जनको रुपमा उहाँको यात्रा सुरु भयो।

एमबीबीएस डाक्टरको रुपमा तीन वर्ष र सर्जनको रुपमा एक वर्ष काम गरेकी उहाँ अहिले आफ्नो जिम्मेवारीबाट राजीनामा दिएर चुनावको मैदानमा उत्रिएर विजयी पनि हुनुभएको छ

पढाईमा कहिल्यै दोस्रो हुन नपरेकी तोसिमा निर्वाचनमा पनि दोस्रो हुन परेन ।

यसअघि उहाँले मुलधारमा रहेर राजनीति नगरेपनि स्वास्थ्य क्षेत्रको राजनीति भने डाक्टर पढ्ने बेलादेखि नै सुरू गर्नुभएको थियो ।

मेडिकल विद्यार्थीको भर्ना शुल्कसम्बन्धी मुद्धा उठाउने बेला उहाँ अग्रपंक्तिमा हुनुहुन्थ्यो ।

त्यस्तै त्रिभुवन विश्वविद्यालयअन्तर्गतका निजी मेडिकल कलेजहरुमा मनोमानी ढंगले पैसा असुल गरिन्थ्यो। मेरिट भर्ना हुदैन थियो।

मेरिट भर्ना स्थापित गर्न र भष्टाचार अन्त्य गर्नका लागि उहाँ सहितको समुहले दुईओटा मुद्धा हाल्नु भएको थियो ।

२ वर्ष मुद्धा लडेर एकपटक मेरिट भर्ना स्थापित भएको थियो। अर्कोपटक निर्धारित भर्ना शुल्क स्थापित भएको थियो।

समयअनुसार प्रवेश गरेको क्षेत्रमा रहेका बेथिति अन्त्यका लागि उहाँले सम्बन्धित क्षेत्रको मुद्दा उठान गरिरहनुभयो ।

इन्टर्न छँदा इन्टर्नहरूको हकहितका लागि आवाज उठाउनुभयो। संघर्ष गर्नुभयो ।

मेडिकल अफिसरको रुपमा मेडिकल क्षेत्रमा आफ्नो करिअर सुरु गर्दा डाक्टरमाथि हुने हातपात र अस्पताल तोडफोडजस्ता घटनाले तोसिमालाई पिरोलिरहन्थ्यो।

स्वास्थ्यकर्मी जस्तो संवेदनशिल पेसाकर्मी नै सुरक्षित छैनन् भने आमजनताको स्थिति के होला प्रश्न उहाँको मनमा उब्जिरहन्थ्यो।

स्वास्थ्यकर्मीमाथि भइरहने हातपातका घटना रोक्ने अभियानमा अग्रपंक्तिमा उभिनुहुन्थ्यो तोसिमा ।

स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीसम्बन्धि सुरक्षा ऐनमा ‘जेल विद्आउट बेल’ को अवधारणा लिएर एउटा ऐन स्थापित गर्न उहाँले खेलेको भुमिका महत्वपुर्ण छ।

२०७२ असोज ७ गते चरिकोटमा स्वास्थ्यकर्मीमाथि हातपात भएपछि यो अभियान सुरु भएको थियो। सात बर्षपछि केहि महिना अघि ऐन बनेर आएको छ।

भदौ २ गते कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षण अस्पताल जुम्लामा कार्यरत डाक्टरलाई असपतालकै एक कर्मचारीले कुटपिट गरेपछि यसलाई नजिरको रुपमा हेरिएको छ।

अहिले त्यसमा मेडिकल क्षेत्रका विभिन्न संस्था नेपाल मेडिकल एसोसिएसनदेखि लिएर अन्य संस्थाहरुको ठूलो हात छ।

उहाँ नेपाल मेडिकल काउन्सिलको केन्द्रिय सदस्य पनि हुनुहुन्छ। केन्द्रिय सदस्य हुँदा उहाँले अत्याधिक मत ल्याउनुभयो ।

तोसिमा चिकित्सकहरुका लागि नीति बनाउने काममा पनि संलग्न हुनुभएको छ ।

जनसेवाको भावनाका साथ त्यसमा खडा उत्रिने प्रण लिएर राजनीतिमा होमिएकी तोसिमाको राजनैतीक परिक्षा अब सुरु भएको छ ।

  • १२ मंसिर २०७९, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech