कम विकसित देशहरुमा मानिसहरु खुला ठाउँमा बढी बस्छन्- जस्तै कौसी, चोक, खुला सडक, चौर, खेत, बारी आदि तर विकसित देशहरुमा त्यस्ता खाली र खुला ठाउँहरु त्यति  पाइँदैन। खुला ठाउँ भए पनि त्यहाँका मानिसहरु खुला ठाउँमा बस्न रुचाउँदैनन्। बरु बन्द ठाउँमा तिनीहरु बढी रमाउने गर्दछन्, जस्तै ठूला मल तथा ब्यापारिक भवन, मनोरञ्जन भवन, होटेल, रेस्टुरेन्ट, घर आदि।

प्यान्डेमिकका कारक किटाणु श्वासप्रश्वास तथा मुखका र्‍याल र छिटाहरुबाट सर्ने (ड्रपलेट ट्रान्समिसन) हुनाले बन्द कोठाभन्दा आकाश मुनिका खुला ठाउँहरु बढी सुरक्षित हुन्छन् अर्थात् बन्द ठाउँ बढी जोखिमपूर्ण हुन्दछ। सायद त्यही कारणले पनि होला, कम विकसित मुलुकहरुमा कोरोना संक्रमण र प्यान्डेमिकले कम क्षति पुर्‍याएकाे हुन सक्दछ।

त्यस बाहेक अन्य कारणहरु पनि हुन सक्छन् कि किन कोरोना प्यान्डेमिकले अति बिकसित मुलुकलाई धेरै क्षति पुर्‍याएकाे छ, कम बिकसित मुलुकको दाँजोमा।

अर्को सम्भावित कारण सही र उचित तथ्यांक पनि हुन सक्दछ। कम बिकसित देशहरुमा संक्रमणको परीक्षण, निदान र त्यसको तथ्यांक त्यति सही नहुन पनि सक्दछ। त्यसको तुलनामा विकसित देशहरुमा संक्रमणको परीक्षण र निदान बढी सही र उत्तम तरिकाले गरिन्छ र त्यसको तथ्यांक पनि सही र उचित तरिकाले राखिन्छ। त्यस अर्थमा कम बिकसित देशहरुको तथ्यांक कम भरपर्दो र त्यति सहि नहुन सक्दछ।

हाल कोरोना संक्रमण निकै कम भइसकेको अवस्थामा पनि विकसित देशहरुमा कोरोना संक्रमणले दुख दिइराखेको छ। अमेरिका, ब्राजिल, जर्मनी, फ्रान्स, बेलायत, इटाली, रुस, जापान, कोरिया, ताइवान आदि देशहरुमा हाल पनि दैनिक सयौं मानिसको कोरोना संक्रमणकै कारण ज्यान गइराखेको छ। जबकि दक्षिण एसिया, अफ्रिका र अन्य कम बिकसित देशहरुमा दैनिक कोरोना मृत्यु फाटफुट तथा सुन्ना समान भइसकेको छ।

यसै सेरोफेरोमा नेपाल र विश्वको कोरोना प्यान्डेमिकको साप्ताहिक विश्लेषण गर्ने क्रममा पछिल्लो विश्लेषण विभिन्न स्रोतहरुबाट प्राप्त तथ्यांकको आधारमा तल देखाइए बमोजिम प्रस्तुत गरिएको छ। यस लेखमा उद्धृत गरिएका तथ्यांकहरु विभिन्न श्रोतहरुबाट लिइएका हुन् जस्तै नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय (MOHP), जोन्स होप्किन्स विश्वविद्यालय (Johns Hopkins University), WHO, वर्ल्डोमिटर (Worldometer), आवर ओर्ल्ड इन डाटा (Our World in Data), सार्क डिजास्टर म्यानेजमेन्ट सेन्टर (SAARC Disaster Management Center, SDMC) आदि। यस लेखको उद्देश्य कोरोना सम्बन्धी तथ्यांकलाई सहिरुपमा पस्की विश्व र नेपालको प्यान्डेमिकको सही चित्र पाठकवर्ग समक्ष पुर्‍याउनु हो।

विश्वमा कोरोना प्यान्डेमिक तलमाथि हुने क्रममा दक्षिण एसियामा पछिल्लो अवस्थामा कोरोना संक्रमण कम हुँदै जाने क्रम जारी छ। हाल दक्षिण एसियामा दैनिक कोरोना संक्रमण अझै घट्दो प्रबृत्तिको छ। दक्षिण एसियाको पछिल्लो करिब तीन हप्ता, सन् २०२२ नोभेम्बर ३ देखि २३ (२१ दिन) को कोरोना प्यान्डेमिक सम्बन्धि तथ्यांकको विश्लेषण चित्र न. १मा देखाइएको छ। पछिल्लो अवास्थामा दक्षिण एसियामा समग्रमा औसत दैनिक करिब १००० भन्दा कम संक्रमण देखिने गरेको छ। पछिल्लो समय दक्षिण एसियाका अधिकांश देशहरुमा दैनिक कोरोना संक्रमण घट्दै गए तापनि अफगानिस्तानमा दैनिक संक्रमण केही बढ्न खोजेको देखिन्छ।