पिसाबको रंगले शरीरमा पानी पुगे नपुगेको संकेत गर्छ

    • स्वास्थ्य पेज

  • २१ कार्तिक २०७९, सोमबार

तपाईंले याद गर्नुभएको छ, दिनमा कति पटक पिसाब गर्नुहुन्छ ? पिसाबको रंग कस्तो छ ? यसको हिसाब–किताबले तपाईंको केही स्वास्थ्य स्थितिबारे पनि बताउँछ ।

धेरै वा थोरै पिसाब लाग्नु स्वभाविक मानिंदैन । वास्तवमा दिनमा कति पटक पिसाब लाग्नुलाई सामान्य वा स्वस्थ मानिन्छ ? पिसाबको रंग कस्तो हुनुपर्छ ? जाडोमा किन बारम्बार पिसाब लाग्छ ? पिसाब रोक्दा के कस्तो समस्या हुनसक्छ ? यिनै विषयमा मूत्ररोग विशेषज्ञ डा. रविनबहादुर बस्नेतसँग गरिएको कुराकानीको सम्पादित अंश :

जाडोयाममा अलि बढी नै पिसाब लाग्छ । के कारणले यस्तो हुन्छ ?
हामीले खाएको पानी र झोलिलो पदार्थ किड्नीले फिल्टर गरेपछि पिसाब बन्छ । हामीले खाएको झोलिलो पदार्थ शरीरले विभिन्न माध्यमबाट बाहिर निकाल्छ । किड्नीले पिसाबको मध्यमबाट, छालाले पसिनाको माध्यमबाट र शौचमा र सास फेर्दा आद्र्रताको माध्यमबाट झोलिलो पदार्थ र पानी बाहिर निस्कन्छ ।जाडो महिनामा तापक्रम चिसो हुने भएकोले छालाले पसिनाको माध्यमबाट कम पानी निकाल्छ । हामीले खाएको पानी र झोलिलो पदार्थ शरीरले कुनै न कुनै माध्यमबाट त बाहिर निकाल्नुपर्‍यो । पसिनाको माध्यमबाट कम निस्कने भएकाले जाडोमा पिसाब बढी लाग्छ ।

जाडोमा शरीरमा तापक्रम जोगाउन मांसपेशी खुम्चिएर बसेको हुन्छ । तापक्रम जोगाउनकै लागि पिसाब थैलीको मांसपेशी पनि खुम्चिन्छ, जसले गर्दा मूत्राशयको कार्यक्षमता अलि कम हुन्छ र यसले गर्दा पनि जाडोमा बढी पिसाब लाग्ने हुन्छ । जाडोमा छिटो छिटो पिसाब लाग्ने प्रमुख दुई कारण यही नै हुन् ।

सामान्यतः दिनमा कति पटक पिसाब आउनु वा गर्नु स्वस्थ मानिन्छ ?

सामान्यतः एक वयस्क र स्वस्थ मानिसले दिउँसोको समयमा दुई घण्टामा एकपटक पिसाब गर्नु सामान्य हो । रातभरमा दुई पटक पिसाब गर्नु पनि स्वस्थ मानिन्छ । रातिमा दुई पटकभन्दा बढी र दिउँसोको समयमा आठ पटक भन्दा बढी पिसाब लाग्यो भने त्यसलाई भने सामान्य मानिंदैन ।

पिसाबको रंग कस्तो हुनुपर्छ ?
पिसाबको रंग पानी जस्तै पारदर्शी हुनुपर्छ । एउटा पारदर्शी बट्टामा पिसाब राखेर त्यसमुनि पत्रिका राख्यौं भने त्यो पत्रिका पढ्न सक्ने खालको पिसाबको रंग हुनुपर्छ ।

पिसाबको रंगले शरीरमा पानीको मात्रा बढी वा थोरै भएको संकेत गर्छ ?
पिसाबको रंगले शरीरमा पानीको मात्रा बढी वा थोरै भएको संकेत गर्छ । शरीरमा पानीको मात्रा पुगेको छ भने पिसाबको रंग पानीजस्तै पारदर्शी हुन्छ । यदि शरीरमा पानीको मात्रा कम भएको भने पिसाबको रंग पहेंलो हुन्छ ।

जाडोमा धेरै पिसाब लाग्ने भएपछि शरीरमा पानीको अभाव पनि हुने होला नि ?
जाडोमा धेरै पिसाब लाग्ने भए पनि त्यसकै कारण शरीरमा पानीको अभाव हुँदैन । शरीरले अन्य माध्यमबाट पानी फाल्न नपाएको हुनाले जाडोमा धेरै पिसाब लागेको हो । त्यसैले बढी पिसाब लागेर पानीको अभाव नै हुने हुँदैन । एउटा स्वस्थ व्यक्तिले दिनमा साढे दुईदेखि तीन लिटर पानी पिउनुपर्छ ।

जाडोमा कसरी शरीरको पानी परिपूर्ति गर्नुपर्छ ?
जाडोमा चिसोको कारण धेरैले गर्मीमा भन्दा कम पानी पिउँछन् । यस्तोमा जाडोमा पानीको कमी परिपूर्ति गर्न तातो सुप, दूध, दाल र गेडागुडीको झोलजस्ता झोलिलो पदार्थ सेवन गर्न सकिन्छ ।

जस्तो, जाडोमा पिसाब लागे पनि अल्छी गरेर पिसाब च्याप्ने गर्न सक्छन् । यसले गर्दा यो सिजनमा पिसाबसम्बन्धी समस्या बढेको पाइन्छ ?
जाडो मौसममा धेरैले पिसाब लागे पनि अल्छी गरेर पिसाब च्यापेर बस्छन् । जसले गर्दा जाडो सिजनमा पिसाब र पिसाबथैली सम्बन्धी समस्या बढ्ने गर्छ । लामो समय पिसाब रोकेर राख्दा पिसाब र पिसाबथैलीको संक्रमण हुनसक्छ ।

पिसाब रोक्दा के कस्ता समस्या हुन सक्छन् ?
पिसाब च्याप्ने बानीले अप्ठ्यारो हुने र तल्लो पेट दुख्ने समस्या पनि हुन्छ । साथै पिसाब रोक्दा त्यो लामो समय पिसाबथैलीमा नै रहन्छ, जसले पिसाब र पिसाबथैलीको संक्रमण हुनसक्छ ।

वृद्धावस्थाका पुरुष जसको ‘प्रोस्टेट’ ठूलो भएको हुन्छ, उनीहरूमा पिसाब च्याप्ने बानी रह्यो भने पिसाबथैली फुलेर खुम्चिन नसक्ने अवस्थामा पुग्छ र आफैं पिसाब फेर्न नसकेर पाइप राख्नुपर्ने अवस्था समेत हुनसक्छ ।

लामो समयसम्म पिसाब रोक्ने बानी भएका व्यक्तिमा पिसाबको संक्रमण र पछि गएर पिसाब चुहिने समस्या हुनसक्छ ।

हाम्रो किड्नीबाट पिसाबथैलीसम्म आउने नलीलाई युरेटर भनिन्छ । पिसाबथैलीमा जम्मा भएको पिसाब युरेटरबाट किड्नीतिर फिर्ता जाँदैन । तर लामो समयसम्म पिसाब रोकिरह्यो भने पिसाबनली फुल्न सक्छ र भविष्यमा किड्नी नै बिग्रिन सक्ने सम्भावना हुन्छ ।

  • २१ कार्तिक २०७९, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech