महिनावारीको कति दिनपछि शारीरिक सम्पर्क गर्दा गर्भ रहन्छ ?

    • स्वास्थ्य पेज

  • ७ कार्तिक २०७९, सोमबार

सन्तानका योजना बनाइरहेकाले होस् वा सन्तानका रहर पुगेकाले, गर्भधारण चक्रबारे जान्नुपर्ने हुन्छ । खासगरी महिनावारी भएको दिनलाई आधार बनाएर गर्भ रहने वा नरहने टुंगो गर्न सकिन्छ ।

कतिलाई कुन समयमा यौन सम्पर्क गर्दा गर्भ रहन्छ ? वा कसरी गर्भ रहन्छ भन्ने जानकारी नहुन सक्छ । यस्तोमा महिनावारी चक्रअनुसार कुन अवधिमा यौन सम्पर्क भएमा गर्भ रहन्छ र कसरी थाहा पाउने ?

महिनावारी चक्र र यौन सम्पर्क

महिनावरी चक्र नियमित छ भने कुन दिन गर्भ रहन्छ भन्ने कुरा टुंगो गर्न सकिन्छ । जस्तो हरेक २८ दिनमा महिनावारी हुनुलाई महिनावारी चक्र नियमित भएको बुझिन्छ । कसैमा २८, कसैमा ३० वा ३२ दिनभित्र महिनावारी हुनसक्छ । यसलाई पनि नियमित महिनावारी भनिन्छ ।

यसरी महिनावारी चक्र नियमित छ भने कुन दिन शारीरिक सम्पर्क गर्दा गर्भ रहन्छ भन्ने ठ्याक्कै थाहा हुन्छ । महिनावारी चक्र नियमित छ भने अण्ड बन्ने प्रक्रिया महिनावारी भएको १४ दिनअघि अर्थात् दुई हप्ताअघि हुन्छ । त्यसैले महिनावारी भएको १० देखि २० दिनभित्रमा यौन सम्पर्क भएमा गर्भ रहने सम्भावना बढी हुन्छ ।

कुनै पनि अवधिमा गर्भ रहन्छ भन्ने कुरालाई महिनावारी चक्रले एकदमै धेरै असर गर्छ अर्थात् नियमित महिनावारी भएको अवस्थामा मात्र गर्भ कुन समयमा रहन्छ भन्ने कुराको टुंगो हुन्छ । यदि महिनावारी नियमित छैन भने गर्भ रहने कुराको टुंगो हुँदैन ।

गर्भ रहे नरहेको कुरा

यौन सम्पर्कपछि अण्ड र वीर्यको निषेचन भएको सात दिनभित्र नै गर्भ रहे नरहेको कुरा थाहा हुन्छ । तर कहिलेकाहीं ढिला निषेचन भयो भने चाहिं एक–दुई हप्तासम्ममा गर्भ रहे नरहेको थाहा हुन्छ ।

गर्भ रहेको लक्षण

गर्भ रहेमा सबैभन्दा पहिले देखिने लक्षण महिनावारी नहुने हो । गर्भ रहेपछि महिलाको शरीरमा ‘बिटा एसिड’ हर्मोन बढ्दै जान्छ र बान्ता हुने, तल्लो पेट दुख्नेजस्ता लक्षण देखा पर्छन् ।

अनियमित महिनावारीमा गर्भको टुंगो हुँदैन

महिनावारी गडबड वा अनियमित भएको अवस्थामा भने कुन अवधिमा यौन सम्पर्क गर्दा गर्भ रहन्छ भन्ने कुराको टुंगो हुँदैन । महिनावारी गडबड हुनेहरूमा धेरै प्रयास गर्दा पनि गर्भ नरहने समस्या पनि देखिन्छ ।

त्यस्तो भएको खण्डमा के कारणले महिनावारी गडबड भएको हो त्यसको उपचार गर्नुपर्छ । त्यसपछि समस्या समाधान हुन्छ र चिकित्सकले महिनावारी नियमित हुने औषधि दिन्छन् । महिनावारी नियमित भएपछि मात्र कुन समयमा गर्भ रहन्छ भन्ने कुराको टुंगो लगाउन सकिन्छ ।

महिनावारीमा यौन सम्पर्क र गर्भको सम्भावना

केहीलाई महिनावारीको बेला यौन सम्पर्क गर्दा पनि गर्भ रहने सम्भावना हुन्छ । जसको महिनावारी नियमित छैन, ढिलो ‘ओभिलियसन’ हुन्छ भने त्यस्तो व्यक्तिलाई महिनावारीको बेला सम्बन्ध राख्दा पनि गर्भ रहन सक्छ ।

सामान्यतः अण्डा २४ देखि ४८ घण्टासम्म सक्रिय हुन्छ भने वीर्य ४८ देखि ७२ घण्टासम्म सक्रिय हुन्छ । जसले केही महिलाको महिनावारी गडबड हुन्छ । उनीहरूको अण्डा ढिलो अथवा छिटो बन्यो भने महिनावारीको समयमा सम्पर्क भयो भने गर्भधारण हुने सम्भावना हुन्छ ।

गर्भधारणको सही समय

गर्भधारणको लागि सबैभन्दा सही समय महिनावारी भएको १४ दिनअघि हो । किनकि महिनावारी भएको १४ दिनअघि अण्डा बन्छ र त्यो समयमा सम्पर्क हुँदा अण्डा र वीर्य मिलेर निषेचन हुन्छ ।

  • ७ कार्तिक २०७९, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech