को हुन् खजुरा क्यान्सर अस्पतालका नवनियुक्त कार्यकारी निर्देशक डा. निरज भट्टराई ?

    • स्वास्थ्य पेज

  • ३१ आश्विन २०७९, सोमबार

नेपालगन्जः सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, खजुराका नवनियुक्त कार्यकारी निर्देशक डा. निरज भट्टराईले आफ्नो कार्यभार सम्हाल्नु भएको छ । उहाँ पश्चिम नेपालकै एकमात्र कार्डियोथोरासिक एण्ड भास्कुलर सर्जन हुनुहुन्छ ।

अस्पतालको दुई वर्षभन्दा बढी कार्यकारी निर्देशक भएका डा. कृष्ण आचार्य भेरी अस्पताल, नेपालगन्जमै फर्किएपछि डा. भट्टराई कार्यकारी निर्देशकमा नियुक्त हुनुभएको हो ।

यो अस्पताल पश्चिम नेपालको एक मात्र सुविधासम्पन्न क्यान्सर अस्पताल हो। यद्यपि, यहाँ हुनुपर्ने डाक्टरको दरबन्दी छैन । काजमा रहेका र अस्पताल विकास समितिले करारमा राखेका डाक्टरले सेवा दिइरहेका छन् ।

क्यान्सर अस्पताललाई जनरल अस्पतालको रुपमा विकास गरिएको छ । क्यान्सरका भन्दा अन्य बिरामी बढी आउने गरेका छन् ।

को हुन् डा. निरज भट्टराई ?
मुटुको बाइपास अप्रेसन, मुटुमा जन्मजात भएका समस्या, मुटुको भल्भ फेर्ने, मुटुका प्वाल टाल्ने, फोक्सो र खाद्यनलीमा हुने क्यान्सरको अप्रेशनबाट उपचार, फोक्सोको ईन्डोस्कोपी (ब्रोङ्कोस्कोपी), छातीसम्बन्धि सबै किसिमका क्यान्सरको पहिचान र उपचार एवं रक्तनलीको क्यान्सरको अप्रेशनबाट उपचारमा विशेषज्ञता हासिल गरेका चिकित्सकहरु नेपालमा एकदमै कम छन् ।

जसलाई कार्डियोथोरासिक एण्ड भास्कुलर सर्जन भनिन्छ । नेपाल सरकार स्वास्थ्य मन्त्रालय मातहत त यस विषयमा औँलामा गन्न सकिने मात्रै विशेषज्ञ चिकित्सक छन् । ती पनि काठामाडौ र भैरहवाभन्दा पूर्वको क्षेत्रमा मात्रै कार्यरत छन् । भैरहवाभन्दा पश्चिम क्षेत्रमा खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा कार्यरत डा. निरज भट्टराई एकमात्र कार्डियोथोरासिक एण्ड भास्कुलर सर्जन हुनुहुन्छ ।

उहाँ खजुरास्थित क्यान्सर अस्पतालमा आएपछि अस्पतालमा मुटु, फोक्सो र रक्तनलीको अप्रेशन सेवा सुरु भएको हो । खजुरा अस्पतालमा वैशाख महिनाबाट काम सुरु गरेका डा. भट्टराईले करिब ५० वटा साना ठूला अप्रेसन गरिसक्नु भएको छ । उहाँ आएकै दिन नेपालगन्जका एक प्रहरी अधिकारीका बुवाको हातको रक्तनली काटिएको अप्रेसन गर्नु भएको थियो ।

यसैगरी अस्पतालमा थन्किएर रहेको ब्रोङ्कोस्कोपी मेसिन उहाँ आएपछि नै प्रयोगमा आउन थालेको हो । उहाँको विशेषज्ञता भएका चिकित्सकहरु नभएकोले अन्य अस्पतालहरुले बोलाएको बेला पनि उहाँले सेवा दिइरहनु भएको छ ।

उहाँ खजुरा आउनुभन्दा अघि मुटु, फोक्सो र रक्तनलीको समस्या लिएर आएका बिरामीहरु जाँच गर्नकै लागि पनि भारत, भरतपुर वा काठमाडौं जानुपर्ने बाध्यता थियो । तर उहाँ आइसकेपछि उनीहरुले सहज रुपमा सेवा पाएका छन् । थाहा नभएर काठमाडौं पुगेका बिरामीहरुलाई पनि त्यहाँ रहेका चिकित्सकहरुले डा. भट्टराईकहाँ नै पठाइदिने गरेका छन् ।

यसैगरी दुरबिन विधिबाट पनि उहाँले फोक्सोको अप्रेशन गर्नु भएको छ । खाद्यनलीमा समस्या भएका बिरामीहरुले पनि अब उपचारका लागि अन्यत्र जानु पर्ने बाध्यता हटेको छ । दुर्घटनाबाट छातीमा कुनै समस्या आएमा त्यसको पनि उपचारको सुविधा पनि अब खजुरामै उपलब्ध छ । यसैगरी स्तन क्यान्सरको अप्रेशन पनि उहाँले नै गर्दै आउनुभएको छ ।

डायलाइसिस गर्ने बिरामीहरुको लागि रगतको नली जोड्न (ए–भि फिस्टुला)का लागि पनि लुम्बिनी, कर्णाली र सुदुरपश्चिमका अस्पतालहरुले बिरामीहरुलाई काठमाडौं पठाउनुपर्ने बाध्यता थियो । अहिले डा. भट्टराईले नै उक्त सेवा दिइरहनुभएको छ ।

डा. भट्टराईले काठमाडौंको जोरपाटीस्थित नेपाल मेडिकल कलेजबाट एमबिबिएस अध्ययन गरिसकेपश्चात बंगलादेशको बंगबन्धु शेष मुजिब मेडिकल युनिभर्सिटीबाट मुटु, फोक्सो र रक्तनलीको क्यान्सरमा विशेषज्ञता हासिल गर्नुभएको हो । यसका साथै काठमाडौंको टिचिङ हस्पिटलमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा प्रा. डा. भगवान कोइराला र प्रा. डा. उत्तमकृष्ण श्रेष्ठसँग करिब २ वर्ष काम गरेको अनुभव पनि संगाल्नु भएको छ ।

यति मात्रै होइन फोक्सो, खाद्यनली र छातीको सबै किसिमका क्यान्सरका विषयमा उनले भरतपुर अस्पतालमा १ वर्षको विशेष तालिम पनि लिइसक्नु भएको छ । यसैगरी उहाँले जनस्वास्थ्यमा पनि मास्टर्स गर्नुभएको छ ।
काठामाडौंको होलिल्याण्ड माविबाट २०५९–६० बाट एसएलसी उतीर्ण गरेका डा. भड्राईले २०६८–६९ मा एमबिबिएस उतीर्ण गर्नुभएको थियो ।

उहाँ २०१४ मा मुटुको शल्यक्रियामा विशेषज्ञता हासिल गर्न बंगलादेश जानुभयो । २०१९ मार्च ७ मा उहाँले कार्डियोथोरासिक एण्ड भास्कुलर सर्जनका रुपमा विशेषज्ञताका साथै जनस्वास्वास्थ्यमा मास्टर्स हासिल गरेर फर्किनुभयो । त्यसपछि उहाँले नेपाल आएर टिचिङ हस्पिटलमा प्रा.डा. भगवान कोइरालाको मातहतमा रहेर अनुभव हासिल गर्ने अवसर पाउनुभयो । २ वर्ष त्यहाँ काम गरेपछि वीपी कोइराला मेमोरियल क्यान्सर हस्पिटल भरतपुरले फोक्सो र खाद्यनलीको क्यान्सरको तालिमका लागि आवेदन माग्यो ।

त्यसमा छनौट भएर उहाँले प्रा.डा. विनयकुमार ठाकुरसँग फोक्सो, खाद्यनली र छातीको क्यान्सरको बारेमा तालिम लिने अवसर पनि पाए । त्यहाँ काम गर्दा गर्दै सरकारले आह्वान गरेको विषयगत विषेषज्ञको विज्ञापनमा एक जनाको कोटामा उहाँले नाम निकाल्न सफल हुनुभयो । त्यसपछि क्यान्सरका बिरामीलाई उपचारमा सेवा दिन भन्दै खजुरा क्यान्सर अस्पतालमा खटाइनुभएको हो । डा. भट्टराईको परिचय चिकित्सा क्षेत्रमा मात्रै नभै साहित्यमा उत्तिकै बलियो छ । उहाँ एक प्रसिद्ध कवि पनि हुनुहुन्छ ।

  • ३१ आश्विन २०७९, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech