चिकित्सकको परामर्श बिना ग्याष्ट्रिकको औषधि खानै हुँदैन

    • स्वास्थ्य पेज

  • १७ आश्विन २०७९, सोमबार

हामीले खाएको खानेकुरा खाद्य नली हुँदै आमाशयमा पुग्छ। आमाशयमा एसिडको उत्पादन भइरहेको हुन्छ। खानासँग भित्र गएका व्याक्टेरियालाई मार्नेदेखि खाना पचाउने काम त्यहीँ एसीडले गर्छ। एसिडले तन्तुलाई जलाउने र बचाउने सक्ने क्षमता पनि राख्छ।

शरीरलाई एसिडबाट बचाउन जुन काम हुन्छ त्यो काममा कुनै पनि किसिमले कमी आयो भने साधारणतया ग्याष्ट्रिक हुन्छ।

कसै कसैलाई पेनकिलर बढी खाएमा पनि ग्याष्ट्रिक हुन्छ। चुरोट खाने मान्छेलाई पनि ग्याष्ट्रिकले सताउँछ ।धेरै थुक्नु पनि ग्याष्ट्रिकका लागि हानिकारक हुन्छ। थुक स्वास्थ्यका लागि धेरै फाइदाजनक छ। यदि मुखमा थुक नहुँदो हो त केही मिनेटमा मुख कुहिन्थ्यो।

थुकमा व्याक्टेरिया मार्ने तत्व हुन्छ। थुक्नु सभ्यताको हिसावले हानिकारक हो। अर्कोतिर थुक निल्दा ग्याष्ट्रिकलाई फाइदा हुन्छ।
ग्याष्ट्रिक हुनेले मुखमा थुक आउँछ भन्छन्। त्यो शरीरलाई चाहिएर थुक आउन लागेको हो। त्यो निल्न जरूरी छ।

खकार आयो भने त्यो अलग कुरा हो। त्यस्तो अवस्थामा स्वास्थ्य परीक्षण गर्नुपर्छ।खुट्टा दुखे पनि, झमझम गरे पनि ग्याष्ट्रिक भयो भन्ने गरिन्छ। त्यो गलत हो। माथिल्लो पेटमा असजिलो भयो भने ग्याष्ट्रिक हुन्छ। तर सबै अवस्थामा ग्याष्ट्रिक हुन्छ भन्ने होइन। पित्त थैलीमा पत्थरी हुँदा पनि माथिल्लो पेट दुख्नसक्छ। माथिल्लो पेटको सबै असहजतालाई ग्याष्ट्रिक भन्न मिल्दैन।

आफैंले ग्याष्ट्रिक भयो भनेर जथाभावी औषधि खानुभन्दा चिकित्सकको परामर्श लिएर मात्र उपचार गर्नुपर्छ। कुनै पनि दुखाई भयो भनेर जथाभावी औषधि खानु हुँदैन। प्यारासिटामोल बाहेक आफैंले किनेर केही औषधि खान मिल्दैन।

जुनसुकै दुःखाईमा पनि प्यारासिटामोल खान सकिन्छ। यसले कुनै असर गर्दैन। तर अरू औषधि खाएमा त्यसले थप जटिलता निम्त्याउन सक्छ।

स्वास्थ्य परीक्षण नगरि आफैंले अनुमानको आधारमा ग्याष्ट्रिक भएको भनेर औषधि सेवन गर्नुहुँदैन। अर्को कुरा ग्याष्ट्रिक भएकाले आफूखुशी खाना बार्छन्। यो पनि गलत हो। हामीले खाने सबै खाना खान हुन्छ। दाल, भात तरकारी दुध, माछा मासुलगायत खान मिल्छ।

जिरा, धनियाँ बेसारलगायतका मसला पनि खान हुन्छ। जाँड, रक्सी, चुरोट, सुर्ति, जंक फुडबाहेक सबैखाले खाना खान हुन्छ।
इन्टरमिटेन्ट फास्टिङ स्वास्थ्यका लागि फाइदाजनक छ। यसले ग्याष्ट्रिक बढाउने भन्ने हुँदैन। भोको पेट बसेमा ग्याष्ट्रिक हुन्छ भन्ने सत्य होइन। भोको पेट बस्दा एसिड पनि कम निस्किन्छ भन्ने हो।

अहिले केटो डाइटको प्रचलन पनि छ। केटो डाइटको प्रयोग गरेकाले चिल्लो धेरै खान्छन्। यसले मुटुको समस्या बढाउन सक्ने देखिन्छ। केटोभन्दा इन्टरमिटेन्ट फास्टिङ राम्रो हो।

  • १७ आश्विन २०७९, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech