स्वास्थ्यकर्मीले भने-`दशैंमा तलब पाएनौं´

    • स्वास्थ्य पेज

  • १६ आश्विन २०७९, आईतवार

नेपालगन्ज: कोभिडको समयमा बागमती प्रदेश अन्तर्गतका स्वास्थ्य कार्यालयमा भर्ना भएका करारका स्वास्थ्यकर्मी तथा कर्मचारीहरुले दशैंको बेला तलब भत्ता नपाएको गुनासो गरेका छन् ।

सुरुमा मन्त्रालयले करारका स्वास्थ्यकर्मीहरुको म्याद नथप्ने परिपत्र गरे पनि पछि अर्को परिपत्र गर्दै उक्त निर्णय स्थगित गरिएको जनाएको थियो । तर दशैंको बेलामा समेत तलब नपाएको स्वास्थ्यकर्मीहरुको गुनासो छ ।

नुवाकोटको त्रिशूली अस्पतालमा कोभिडकालमा भर्ना भएका एक जना कर्मचारीले तीन महिनादेखि तलब नपाएको बताए । ‘त्रिशूली अस्पतालमा मात्रै मजस्ता करिब ५० जनाले दशैंको बेलामा समेत तलब पाएनन्,’ उनले भने ।

धादिङमा करारमा कार्यरत अर्का एक जना स्वास्थ्यकर्मीले करार सम्झौताको म्याद नथप्ने निर्णय स्थगित भएको परिपत्र आएपछि आफूहरु निरन्तर काममा रहे पनि तलब भने नपाएको बताए । ‘काममा लगाउने तर तलब नदिने गर्दा दशैंको बेला समस्या पर्यो,’ उनले भने ।

बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले गत असार २८ गते स्वास्थ्य निर्देशनालय हेटौंडा, स्वास्थ्य तालिम केन्द्र काठमाडौं, स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र हेटौंडा, जनस्वास्थ्य प्रयोगशाला धुलिखेल, १३ वटै अस्पताल, स्वास्थ्य कार्यालय र जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रलाई परिपत्र गरी करार सम्झौताको म्याद नथप्न भनेको थियो ।

तर फेरि मन्त्रालयले साउन ४ गते तिनै कार्यालयहरुलाई अर्को परिपत्र गरी करारका स्वास्थ्यकर्मीहरुको म्याद नथप्ने निर्णय अर्को व्यवस्था नभएसम्मका लागि स्थगित गरिएको जानकारी गराएको थियो ।

बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयका प्रवक्ता दीपक प्रसाद तिवारीले भने करारका स्वास्थ्यकर्मीले तलब नपाएको जानकारी आफूलाई नभएको बताउनु भयो।

उनीहरु कार्यरत सम्बन्धित कार्यालयले नै उनीहरुलाई तलब भत्ता खुवाउने भन्दै उहाँले मन्त्रालयले भने स्वास्थ्य कार्यालयहरुमा तलब पठाउँदै आएको बताउनु भयो ।

  • १६ आश्विन २०७९, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech