भेरी अस्पतालमा भित्रिए युरोलोजिष्ट डा दिपेश गुप्ता, सुरु भयो युरो सेवा !

    • स्वास्थ्य पेज

  • १४ आश्विन २०७९, शुक्रबार

नेपालगन्जः भेरी अस्पताल नेपालगन्जमा युरो ( मुत्ररोग) सेवा सुरु भएको छ । भेरी अस्पतालले युरोलोजिष्ट डा दिपेश गुप्तालाई भित्र्याएसँगै केही वर्षदेखि बन्द अवस्थामा रहेको युरो सेवा नियमित गरेको हो । अस्पतालले एम.सी.एच युरो सर्जनबाट पहिलो पटक युरो सेवा सुरु गरेको हो ।

डा गुप्ताले आधा दशक बढी नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा सेवा दिनुभएको थियोे । त्यहाँबाट राजिनामा दिएपछि उहाँ भेरी अस्पतालमा आवद्ध हुनु भएको हो ।

दिपेशको आगमनसँगै भेरी अस्पतालको युरो सेवा अव नियमित ढंगले अघि बढ्ने अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु) डा.बद्री चापागाईले जानकारी दिनुभयो ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको रेफरल अस्पतालकोरुपमा रहेको भेरी अस्पताललाई सुपर स्पेसियालिटी अस्पतालका रुपमा विकास गर्न आफु प्रयासरत रहेको डा. चापागाईको भनाइ छ ।

चापागाईले स्वास्थ्य पेजसँग भन्नुभयो–‘मैले देखेको भेरीको सपना बिशिष्टिकृत अस्पताल हो । सुपर स्पेसियालिटी सेवा दिने अस्पतालको रुपमा विकास गर्ने हो । निश्चित कार्ययोजनाका साथ अघि बढेर भेरीलाई सुपर स्पेसियालिटी सेवा दिने अस्पतालकोरुपमा विकास गर्ने हो । यो अस्पताललाई शैक्षिक हव बनाउने हो । एम.डी, एम.एस अध्ययनको केन्द्रको रुपमा विकास गर्ने हो । एमबीबीएस पढ्नका लागि कुनै गाह्रो छैन् । निजी मेडिकल कलेजहरू जति पनि छन् ।’

को हुन दिपेश गुप्ता ?
नेपालगन्ज निवासी दिपेशको जन्म २०३५ साल कार्तिक २६ गते भएको हो । रानीतलाउ प्रा.विमा १ देखि ५ र ६ देखि १० कक्षा महेन्द्र मा. विमा अध्ययन गर्नुभयो ।

दिपेशले २०५० सालमा सरकारी विद्यालयबाट एसएसलीमा जिल्ला टप गर्नुभयो । अस्कल क्याम्पस काठमाडौंबाट आइएसी उर्तिण गरेपछि उहाँले नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालबाट एमबीबीएस उर्तिण गर्नुभयो ।

एम.एस र एम.सी.एच भने उहाँले टिचिङ हस्पिटल काठमाडौंबाट गर्नुभयो । बुवा विजय कुमार गुप्ता राजनीतिज्ञ र अधिबक्ता भएपनि उहाँको संगत डा.सुरेश कुमार कनोडिया र एम किदवाईसँग बढी थियो ।

युरोलोजिष्ट डा.दिपेशले भन्नुभयो–‘बुवाको चाहना पनि छोराले डाक्टर नै पढोस् भन्ने थियो र मेरो चाहना पनि डाक्टर नै पढ्ने सबै मिल्यो । सबैको चाहनाले डाक्टरको यात्रालाई सहज बनाइदियो ।’

अत्याधुनिक प्रविधिका माध्यमबाट उहाँले नेपालगन्जमा बसेर जटिल खालका शल्यक्रिया गर्दै आउनुभएको छ । नेपालगन्जको सुर्खेतरोड स्थित सेन्ट्रल सिटी हस्पिटलमा समेत कार्यरत डा दिपेशले त्यहाँबाट समेत अत्याधुनिक युरो सेवा दिँदै आउनुभएको छ ।

 

  • १४ आश्विन २०७९, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech