विश्व मुटु दिवस: मुटुरोग र उपचार

    • डा.विकास नेपाल / कार्डियोलोजिष्ट

  • १३ आश्विन २०७९, बिहीबार
विश्व मुटु दिवस: मुटुरोग र उपचार

सुर्खेत मेहलकुना निवासी–६५ वर्षीय काले सुनारलाई चुरोट तान्ने लत छ । उहाँले चुरोट तान्न लागेको २५ भयो । चुरोटको लत यतिसम्म छ की कहिलेकाहीँ उहाँले दैनिक १० खिल्लीसम्म तान्नुहुन्छ । एक दिन उहाँलाई छातीमा असह्रय पीडा भयो । तत्काल छोरालाई लिएर उहाँ घर नजिकैको मेलकुना स्वास्थ्य चौकीमा पुग्नुभयोे । चिकित्सकहरुले इसिजी गरे । र, ह्दयघात भएकोले केही औषधि दिएर नेपालगन्ज रेफर गरे । त्यसपछि उहाँ भेरी अस्पतालमा आइपुग्नुभयो ।

रातीको १० बजे भेरी अस्पताल क्याथल्यावमा एनजियोग्राफी (Angiography) गर्दा मुटुको मुख्य रगत नलिनै सत प्रतिशत ब्लक भएको पाइयो । तत्काल एनजियोप्लाष्टी (Angioplasty)गरी स्टेन्ट राखियो । बन्द भएको रगत नलिमा रगत संचार हुन पुग्यो । मृत्युको मुखमा पुगेका उहाँको ज्यान जोगियो । अहिले पनि उहाँ मुटु ओपिडीमा नियमित फलोअपमा आउने गर्नु भएको छ ।

 

चिकित्सकले सुझाएको औषधि नियमित रुपमा खाने गर्नुभएको छ । अहिले उहाँले चुरोट तान्ने लत छाडिसक्नु भएको छ । स्वस्थ खानपान र जीवनशैली अपनाइ रहनुभएको छ । नुन र चिल्लोको मात्र कम गर्नुभएको छ । फलफूल र सागपातको प्रयोगलाई बढाउनुभएको छ । नियमित रुपमा शारिरीक व्ययाम गर्दै आउनुभएको छ ।

दार्चुलाकी–६० वर्षीया सुन्तली चन्दलाई हिड्दा चक्कर लाग्न थाल्यो । शुरुशुरुमा कमजोरीले चक्कर लागेको होला भनेर खासै वास्ता गर्नुभएन् । १० दिनसम्म पनि चक्कर लाग्नेक्रम रोकिएन । दुई दिन त सुन्तली पटक–पटक वेहोस नै हुनुभयो । श्रीमानले स्वास्थ्य चौकी पु¥याउनुभयो । स्वास्थ्यकर्मीले मुटुमा समस्या हुन सक्ने आशंका व्यक्त गरे । स्वास्थ्यकर्मी तथा साथीभाई र समाजका अगुवाले तत्काल उपचारका लागि भारत वा काठमाडौं लैजान सुझाए । तर आर्थिक अवस्था कमजोर भएकाले काठमाडौं र भारतीय अस्पतालमा लैजान उहाँलाई गाह्रो भयो ।

न्यून आयस्तर भएका कारण सुन्तलीलाई लिएर उहाँ भेरी अस्पताल नेपालगन्ज आइपुग्नुभयो । इमरजेन्सीमा इसिजी लगायतको जाँच गरियो । मुटुको चाल जम्मा २५ मात्र रहेको पुष्टी भयो । राती नै क्याथल्यावमा लगेर टेम्पोररी पेश मेकर (temporary pace maker) राखियो । अर्को दिन विहानै प्रमानेन्ट पेश मेकर  (permanent  pace maker) मा राखियो । क्रमश सुन्तलीको स्वास्थ्यमा सुधार आयो । १० दिनको अस्पताल बसाईपछि सुन्तली डिस्चार्ज हुनुभयो । अहिले उहाँ आफ्नै गाउँघरमा घाँस दाउरा गर्नु हुन्छ ।

६५ वर्षीया देवी केसीलाई हप्ता दिनदेखि ज्वरो आउने, छाती दुख्ने र सास फेर्न गाह्रो भइरहेको थियो । सल्यान निवासी केसी अस्वस्थ भएपछि परिवारका सदस्यहरुले नजिकैको स्वास्थ्य केन्द्रमा उपचारको लागि लगे । तर प्रेसर निकै कम देखिएपछि छोरी ज्वाईले भेरी अस्पतालमा लिएर आउनुभयो । विरामीलाई तत्काल इकोकार्डियोग्राफी (Echocardiography) गरि जाँच गर्दा मुटुको वाहिरी भागमा (pericardial effusion) पानी जमेको देखियो ।

तत्काल विरामीलाई क्याथल्यवमा सारियो । पानी निकाल्न क्याथेटर राखियो । र, बिरामीको ज्यान जोगियो । भेरी अस्पतालको मुटु विभागमा हुने यी त प्रतीनिधिमूलक घटना हुन् । यस्ता गम्भीर प्रकृतिका मुटुका समस्या लिएर आएका करिव एक हजार एक सय व्यक्तिको क्याथल्याव सेवाबाट ज्यान जोगिएको छ । र, उनीहरुले पुनःजन्म पाएका छन् ।

बढ्दै मुटु रोगी

विगतमा ५०–६० वर्षका मानिसहरुलाई मुटुमा समस्याहरु बढी हुने गरेको थियो । हिंजोआज भने ३०–४० वर्षका युवा अवस्थामै मुटु सम्बन्धी रोगहरु देखिन थालेको छ । उच्च रक्तचाप, उच्च क्लेस्टोरोल, मधुमेह, ह्रदयघात र स्ट्रोक युवा अवस्थामा बढिरहेको विभिन्न तथ्याङ्कले देखाइरहेको छ ।

अस्वस्थ खानपिन र जीवनशैली, धुम्रपान र मदिराको सेवन, मोटोपना, अत्याधिक मानसिक तनाव, नियमित व्यायमको कमी र वंशाणुगत जस्ता यावत् कारणले मुटुरोग सम्बन्धी समस्या बढिरहेको छ । नेपालको पश्चिमी भेगमा पनि मुटु रोगका विरामीहरु बढिरहेका छन् ।

भेरी अस्पताल मुटु विभाग

पश्चिम नेपालको सरकारी अस्पताल मध्ये भेरी अस्पतालमा मुटु रोगका बिरामीहरुको लागी छुट्टै विभाग र मुटुरोग निदान गर्नलाई चाहिने उपकरणहरुको सुविधा समेत रहेको छ । यस मुटु विभागले कार्डियो ओपीडी सेवा, ईसिजी सेवा, इकोकार्डियोग्राफी \ ट्रान्सइसोफेजीएल इको कार्डियोग्राफी सेवा र चौविसै घण्टा क्याथल्याव सेवा प्रदान गरिरहेको छ ।

दैनिक सन्चालन हुने कार्डियो ओपिडीमा औंसत ५० जनाले सेवा लिइरहेका छन् भने, २० जनाले इकोकार्डियोग्राफी सेवा लिइरहेका छन् । त्यसैगरी क्याथल्यावमा प्रत्येक दिन ५ वटा सम्म कार्डियो प्रोसिडर हुने गरेको छ ।

के हो त क्याथल्याव ?

क्याथेटराइजेसन ल्यावेरोटरी अस्पतालको त्यस्तो कोठा हो जहाँ X- Ray  र फ्लोरोस्कोपिक माध्यमबाट मुटु र रगत नलिलाई हेरिन्छ । क्याथल्यावमा बिना चिरफार रगत नलिको माध्यमबाट विभिन्न रोगको उपचार गर्न सकिन्छ ।

ह्रदयघात भई ब्लकेज भएको हेर्ने एन्जीयोग्राफी (Angiography), ब्लकेज खोल्ने एन्जीयोप्लाष्टी(Angioplasty), धड्कन कम हुँदा बेटरी राख्ने पेसमेकर (pacemaker) र भल्भ जाम हँुदा खोल्ने भल्भुलोप्लाष्टी (Valvuloplasty)जस्ता विभिन्न शल्यक्रियाहरु बिना चिरफार क्याथल्यावमा नै हुने गर्छ । सन् १९२९ मा डा. Werner Forssmann पहिलो पटक आफ्नै रगत नलिबाट क्याथेटर राखी मुटुमा पुराएर X- Ray  गरि मानव शरिरमा पहिलो पटक क्याथको सुरुवात गर्नुभएको थियो ।

भेरी अस्पतालमा क्याथल्याव सेवा

भेरी अस्पतालमा क्याथल्याव सेवा सुरु भएको लामो इतिहास छैन । विभिन्न समस्या र चुनौतिलाई पन्छ्याउँदै वि.स.२०७५ सालमा भेरी अस्पतालले क्याथल्याव सेवा सुरु गरेको हो । क्याथल्याव सेवा सुरु भएपछि यसक्षेत्रका थुप्रै मुटु रोगीको ज्यान जोगिएको छ । यो अवधिमा करिव एक हजार एक सय जनाले क्याथल्यावको सुविधा लिइसकेका छन् । वि.स. २०७८ मा ४०५ जनाको कार्डियो प्रासिडर गरिएको थियो ।

जसमा २६२ जनाले एन्जीयोग्राफी, १०५ जनाले एन्जोप्लाष्टी, २० जनाले टेम्पोररी पेसमेकर, ११ जनाले प्रमानेन्ट पेसमेकर र ८ जनाले पेरिकार्डियोसिन्थेसीस् (Pericardiocentesis) सेवा लिए । त्यसैगरी २०७९ को असारसम्म १८७ जनाको कार्डियो प्रासिडर गरिएको छ । यो तथ्याङ्क हेर्ने हो भने विगत ०७५ र ०७६ भन्दा पछिल्लो आर्थिक वर्षमा १५० प्रतिशत बढीले सेवा लिएका छन् ।

माथिको तथ्याङ्कले के कुरालाई पुष्टि गर्छ भने भेरी अस्पतालको मुटु विभागमा गुणस्तरीयतामा बृद्धी भई सेवाग्राहीको संख्यात्मक बढोत्तरी भएको पाइन्छ । र, जनमानसमा मुटु विभाग र क्याथल्यावप्रति थप विश्वास बढेको देखिन्छ । भेरी असपतालको मुटु विभागको सेवा प्रभावकारी र गुणस्तरीय बनेको सेवाग्राहीको तथ्याङ्कले देखाउँछ ।

यसले गर्दा विगतमा जटिल मुटुरोगका विरामीहरु भारतका विभिन्न सहरहरु र काठमाडौँमा जाने बाध्यताहरु हट्दै गएको सन्देश दिएको छ । भेरी अस्पतालको मुगु विभागको प्रभावकारी सेवाका कारण मुटु रोग उपचारका लागि विदेशमा जाँदा व्यहोर्नु पर्ने विभिन्न मानसिक तथा अनावश्यक आर्थिक समस्याबाट पनि पश्चिम नेपालका धेरै सेवाग्राही मुक्त भएका छन् । अझै पनि भेरी अस्पतालमा मुटु सेवालाई गुणस्तरिता प्रदान गर्न धेरै चुनौतिहरु रहेका छन् ।

यसका साथै विभिन्न उपकरणहरुको आवश्यकता पनि रहेको छ । विस्तारै यी सबै चुनौतिहरु पार गर्दै भेरी अस्पतालको मुटु विभागलाई पश्चिम नेपालकै उत्कृष्ट मुटुरोगको गन्तव्य स्थल बनाउन सबैको साथ र सहयोगको आवश्यकता देखिन्छ ।

(कार्डियोलोजिष्ट डा विकास नेपाल भेरी अस्पतालमा कार्यरत रहनुभएको छ । यसअघि नै स्वास्थ्य पेजमा प्रकाशित भइसकेको यो विचार विश्व मुटु दिवसको अवसरमा पुनः प्रकाशन गरिएको छ ।)

  • १३ आश्विन २०७९, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech