नेपालगन्ज–४ मा निःशुल्क स्वास्थ्य शिविर

    • स्वास्थ्य पेज

  • ६ आश्विन २०७९, बिहीबार

नेपालगन्जः नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ मा एक दिने निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ । नेपालगन्ज उपमहानगरपालिकाको आयोजनामा किटजन्य र अन्य रोग सम्बन्धि उपचारका लागि एक दिने निःशुल्क स्वास्थ्य शिविर गरिएको हो ।

शिविरको कार्यबहाक नगर प्रमुख कमरुद्दिन राईले शुभारम्भ गर्नुभयो । कार्यवहाक नगर प्रमुख राईले शिविरबाट किटजन्य रोगको जोखिममा रहेको वडा नम्बर ४ का स्थानीय लाभान्वित हुने बताउनुभयो । उहाँले वडा नम्बर ४ ले स्वास्थ्य सेवा र सचेतना प्रबद्र्धनमा उदाहरणीय काम गरिरहेको भन्दै अन्य वडाले पनि अनुशरण गर्न जरुरी रहेको बताउनुभयो ।

वडा नम्बर ४ का वडा अध्यक्ष गोपाल पुनले वडा नम्बर ४ मा डेंगुका विरामी देखिएकाले यसअघि पनि लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान सञ्चालन गरेको स्मरण गराउँदै अहिले डेंगु लगायत अन्य किटजन्य रोगको अवस्था थाहा पाउन निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको बताउनुभयो ।

डेंगु, मलेरिया र स्क्रब टाइफसको निःशुल्क परीक्षण गर्ने उद्देश्यले शिविरको आयोजना गरिएको नेपालगन्ज उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका किटजन्य रोग फोकल पर्सन तेज वलीले बताउनुभयो ।

उहाँले बाँकेमा हालसम्म ४४ जनामा डेंगु पुष्टि भइसकेको जानकारी दिँदै नेपालगन्ज उपमहानगरपालिकाभित्र १५ जनालाई डेंगु देखिएकोमा चार जना वडा नम्बर ४ का रहेको बताउनुभयो ।

शिविर शुभारम्भ कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजाल, स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्द, भेरी अस्पतालका फिजिसियन डापारस श्रेष्ठ, स्वास्थ्य कार्यालय बाँकेकी किटजन्य रोग फोकल पर्सन दुर्गा गौतम, नेपाल रेडक्रस सोसाइटी बाँकेका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवाली लगायत उपस्थित रहनुभएको थियो ।

वडा नम्बर ४ को सहजीकरण, भेरी अस्पतालको सहयोग र स्वास्थ्य कार्यालय बाँकेको समन्वयमा शिविर आयोजना गरिएको हो ।

  • ६ आश्विन २०७९, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech