पायल्स हुनै नदिन के गर्ने ?

आयुर्वेदमा समस्याको कारण पत्ता लगाएर त्यसलाई जरैदेखि निर्मूल पारिने आयुर्वेदिक चिकित्सक डा अमृत भण्डारीको दाबी छ ।


    • स्वास्थ्य पेज

  • ५ आश्विन २०७९, बुधबार

पछिल्लो समय पायल्सको समस्याले धेरैलाई हैरान बनाएको छ । दिसा साह्रो हुने, दिसामा रगत देखा पर्ने र मासु बाहिर निस्कने भएमा त्यो पायल्सको लक्षण हुन सक्छ ।

रोगको पहिचान नहुनु र थाहा पाएपछि पनि लाजका कारण उपचारमा ढिलाइ गर्नाले पायल्सको समस्या दिनप्रतिदिन बढ्दो छ । सुरुवाती चरणमा खानपान र जीवनशैली बदलेर पायल्सबाट छुटकारा पाउन सकिन्छ, तर ढिलो भएर जटिल अवस्थामा पुग्यो भने उपचार गर्न गाह्रो छ ।

पायल्सको उपचारको लागि आयुर्वेदिक, एलोपेथिक र होमियोपेथिक विधि छन् । तर यी उपचार पद्धतिमध्ये कुन बढी प्रभावकारी हुन्छ भन्ने प्रश्न भने धेरैको मनमा उब्जिरहेको हुन्छ ।

प्राकृतिक र एलोपेथिक दुवै तरिकाले पायल्सको उपचार प्रभावकारी हुन्छ । तर पछिल्लो समय भने आयुर्वेदिक उपचारले पायल्स निको हुने प्रचारप्रसार निकै भइरहेको देखिन्छ ।

आयुर्वेदमा समस्याको कारण पत्ता लगाएर त्यसलाई जरैदेखि निर्मूल पारिने आयुर्वेदिक चिकित्सक डा अमृत भण्डारीको दाबी छ ।

‘आयुर्वेदिक विधिबाट राम्ररी उपचार हुन्छ, तर उपचार गर्दा मान्यता प्राप्त चिकित्सक तथा अस्पतालबाट गराउनुपर्छ । आयुर्वेदिक औषधि पसलमा गएर पायल्सको औषधि दिनु न भनेर मागेर आफूखुसी औषधि सेवन गर्दा भने राम्ररी उपचार नहुन सक्छ,’ उहाँको भनाइ छ ।

आयुर्वेदिक विधिबाट पायल्सको उपचार

आयुर्वेदिक विधिमा दुई तरिकाबाट पायल्सको उपचार हुन्छ । पायल्सको चारवटा चरण हुने डा भण्डारी बताउनुहुन्छ । दिसामा रगत आयो भने त्यो पायल्सको सुरुवाती चरण हो । दोस्रो चरणमा पायल्स मलद्वारबाट बाहिर निस्किने र भित्र पस्ने हुन्छ । तेस्रो चरणमा पायल्स मलद्वारबाट बाहिर निस्कन्छ आफैंभित्र पस्दैन थिचेर भित्र पसाउनुपर्ने हुन्छ । चौथो चरणमा भने मलद्वारबाट पायल्स भित्र नै नपस्ने बाहिर नै निस्किरहने हुन्छ ।

पहिलो र दोस्रो चरण छ भने आयुर्वेदिक औषधि सेवनबाट नै यसको उपचार हुन्छ । तर तेस्रो र चौथो चरण छ भने शल्यक्रिया नै गर्नुपर्ने डा भण्डारीको भनाइ छ–‘धेरैले आयुर्वेदमा बिना शल्यक्रिया पायल्सको उपचार भनिरहेका हुन्छन् । तर त्यो गलत हो यसमा क्षार सूत्र विधिबाट उपचार हुन्छ र क्षार सूत्र विधि पनि एउटा शल्यक्रिया नै हो ।’

पायल्सको पहिलो तथा दोस्रो चरण हो भने आयुर्वेदिक औषधिबाट नै पनि पायल्स निको हुन्छ । तर लामो समयदेखि पायल्सको समस्या भएका र तेस्रो, चौथो चरणमा भने शल्यक्रिया नै गर्नुपर्ने उहाँले बताउनुभयो । तर सबै अवस्थामा आयुर्वेदिक पद्धतिबाट निको पार्न सकिने डा भण्डारीको दाबी छ ।

आयुर्वेदिक विधिबाट उपचार गर्दा औषधि सेवन गरेकालाई निको हुन एक महिनासम्म लाग्छ भने शल्यक्रिया गर्दा १५ दिनभित्रमा नै पूर्ण रूपमा निको हुने उहाँ बताउँनुहुन्छ ।

‘क्षार सूत्र’ शब्द ‘क्षार’ र ‘सूत्र’ मिलेर बनेको छ, जसमा क्षार भनेको विशेष प्रकारको खरानी हो भने सूत्र भनेको धागो हो । अपामार्ग, अर्क आदिलाई जलाएर बनाइएको खरानीलाई पानीमा उमालेर विशेष प्रकारले क्षारको निर्माण गरिन्छ ।

यही क्षारलाई प्रयोग गरेर सिउँडीको चोप लगाई बनाइएको विशेष प्रकारको धागोलाई क्षार सूत्र भनिने भण्डारीको भनाइ छ –‘यसले नरम किसिमको मासुलाई काट्ने गर्छ । यही धागोको प्रयोगबाट गरिने उपचार विधिलाई नै क्षार सूत्र विधि भनिन्छ ।’

पायल्स निको भइसकेकाले ध्यान दिनुपर्ने कुरा

लामो समयको कब्जियतले पायल्स बढाउँछ । तसर्थ कब्जियत हुन नदिनु, पेट सधैं सफा राख्नु नै पायल्स हुन नदिने उपाय हो । त्यसैले पायल्स निको भइसकेपछि पनि नदोहोरियोस् भनेर कब्जियत हुन नदिन विशेष ध्यान दिनुपर्छ ।

हाम्रो खाना त्यस्तो हुनुपर्छ जसले पेट सफा राखोस्, कब्जियत नरहोस् र दिसा गर्दा बल गर्नु नपरोस् । त्यसका लागि कब्जियत गराउने खाना बन्द गरी कब्जियत नहुने रेसा, छोक्रा बोक्रा प्रशस्त भएका चोकरसहितका प्राकृतिक रूपमै उच्च फाइबरयुक्त सुपाच्य खाना खानुपर्ने उहाँको सुझाव छ ।

पायल्स हुनै नदिन के गर्ने ?

-बढी मात्रामा फाइबरयुक्त खानेकुरा खाने

-पानी प्रशस्त मात्रामा पिउने

-गाँजर, मूलाजस्ता सलाद प्रशस्त खाने

-माछा मासु कम खाने

-मद्यपान र धुम्रपान नगर्ने

-मैदाजन्य खानेकुरा कम खाने

-अदुवा, लसुन, मरिच लगायत मसला कम खाने

-दैनिक शारीरिक व्यायाम, योग गर्ने ।

  • ५ आश्विन २०७९, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech