२० वर्षदेखि थपिएन नर्सिङ दरबन्दी, ३५ हजार स्टाफ नर्स बेरोजगार

    • स्वास्थ्य पेज

  • २६ भाद्र २०७९, आईतवार

नेपालगन्जः सरकारले २१ वर्षदेखि नर्सिङ दरबन्दी थप नगर्दा नेपालमा हजारौं नर्सिङ जनशक्ति विदेश पलायन हुन बाध्य भएको छ भने हजारौं बेरोजगार रहन बाध्य भएका छन् ।

नेपाल नर्सिङ काउन्सिलको तथ्यांक अनुसार नेपालमा हालसम्म एक लाख दश हजार नर्स दर्ता भएका छन् ।

तीमध्ये विशेषज्ञ नर्स (स्नातकोत्तर गरेका) ६४५ जना, स्टाफ नर्स ७२ हजार ५५०, ३१ जना मिडवाइफ, ३६ हजार ७७४ अनमी र ८४७ विदेशी नर्स दर्ता भएको काउन्सिलको तथ्यांक छ ।

दर्ता भएका ७२ हजार ५५० स्टाफ नर्समध्ये २७ हजार ४७२ ले विदेश जानका लागि काउन्सिलबाट प्रमाणीकरण पत्र लिएको छन् । यसका आधारमा हेर्ने हो भने अहिले नेपालमा उत्पादन भएका ३७ दशमलव ८७ प्रतिशत स्टाफ नर्स नेपाल बाहिर रहेको देखाउँछ ।

२०१३ देखि दर्ता भएका स्टाफ नर्समध्ये कतिको निधन भइसकेको छ भने धेरैको अवकास पाउने बेला भइसकेको नेपाल नर्सिङ संघकी अध्यक्ष मनकुमारी राईले बताउनुभयो ।

उहाँका अनुसार वर्सेनि विभिन्न तहका नर्सिङ जनशक्ति बार्षिक सात हजारको हाराहारीमा उत्पादन हुन्छन् । तर अबको एक दुई वर्ष त्यो संख्यामा कमी आउने उहाँले बताउनुभयो । ।

अहिले चिकित्सा शिक्षा आयोगले प्रवेश परीक्षा लिएर सीमित कोटामा मात्र नर्सिङ पढाई भइरहेको छ । नर्सिङ पढ्नका लागि चिकित्सा शिक्षा आयोगले लिएको परीक्षामा कम विद्यार्थी पास हुँदा अबको एक दुई बर्ष निकै कम जनशक्ति उत्पादन हुने उहाँको भनाइ छ ।

बिएस्सी नर्सिङको चालु शैक्षिक सत्रका लागि आयोगले लिएको परीक्षामा तीन हजार चार सय ७८ जना विद्यार्थी सहभागी भएकामध्ये ५०४ मात्र उत्तीर्ण भएका थिए ।

आयोगले बिएस्सी नर्सिङका लागि तोकेको सिट संख्या एक हजार २८० भन्दा कम विद्यार्थी प्रवेश परीक्षामा उत्तिर्ण भएका छन् ।

उत्तिर्णमध्ये पनि ३४१ जना विद्यार्थी मात्र आयोगको सम्पर्कमा आएको आयोगले जनाएको छ । ती विद्यार्थीलाई आयोगले ४० ओटा कलेजमा पठाएको आयोगले २७ मंसीरमा जारी गरेको सूचनामा उल्लेख छ ।

अहिले चिकित्सा शिक्षा आयोगले नर्सिङ पढाउनका लागि आवश्यक पूर्वाधार नपुगेका शिक्षण कलेजहरुलाई नियन्त्रण गरेको छ । जसका कारण नर्सिङ पढाउने कलेजहरु पनि कम भएका छन्।

अहिले १५ हजार नर्सहरु सरकारी सेवामा रहेको अध्यक्ष राईले बताउनुभयो । जसमा १२ हजार स्थायी छन् भने तीन हजार करारमा छन् । २७ हजार ४७२ नर्सले विदेश जानका लागि काउन्सिलबाट प्रमाणीकरण पत्र लिएको काउन्सिलको तथ्यांक छ भने १७ हजार निजी अस्पतालमा कार्यरत रहेको अनुमान गरिएको अध्यक्ष राइले बताउनुभयो ।

त्यस्तै अहिले ३५ हजार जनशक्ति (नर्स) बेरोजगार रहेको अनुमान गरिएको उहाँको भनाइ छ ।
सरकारले २०५८ देखि स्वास्थ्य क्षेत्रमा नयाँ दरबन्दीको सिर्जना गरेको छैन।

  • २६ भाद्र २०७९, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech