भेरीमा आँखा उपचार विभागः ६० प्रतिशत सुख्खा आँखाका बिरामी, कसरी जोगिने ?

    • डा.अञ्जु सापकोटा/नेत्र रोग विशेषज्ञ

  • २३ भाद्र २०७९, बिहीबार

आँखा उपचार विभाग भेरी अस्पतालको सबैभन्दा कान्छो विभाग हो । विगत दुई बर्षदेखि अस्पतालको ओपीडी नम्वर २ बाट आँखाउपचार सेवा दिँदै आएका छौं ।

आँखा विभागमा नेत्र रोग विशेषज्ञ डा अञ्जु सापकोटा, डा प्रविण राई र डा दिक्षा बोहरा, त्यस्तै दृष्टि विशेषज्ञमा यादव पौडेल, नेत्र सहायकमा शेखर थापा र रामलक्षण अग्रहरीको टीम छ । अस्पतालमा आउने करिव ६० प्रतिशत सुख्खा आँखाका बिरामी आउने गरेका छन् । यो समस्या यसक्षेत्रका बिरामीमा मात्रै होइन, नेपालभरीमै यस्तै प्रकृतिका बिरामीहरु आउने गरेको तथ्यांक छ ।

सुख्खा आँखाका बिरामी दिनप्रतिदिन बढ्दै गएका छन् । यसको प्रमुख कारण भनेको मोवाइल, ल्याप्टप, कम्प्युटर तथा विद्युतिय स्क्रिनको धेरै र लामो समयसम्म प्रयोग गर्नु र जलबायु परिवर्तनको प्रभाव पनि हो ।

यसका साथसाथै लगातार धेरै समयसम्म एसी, पंखामा बस्नु, वातावरणीय प्रदूषण, ध्रम्रपान, मद्यपान, वायुयानको यात्रा, कन्ट्याक्ट लेन्सको प्रयोग, विभिन्न प्रकारका औषधिको नियमित सेवन जस्तै ( Antihistamine, Antidepression) का साथै अन्य शारीरिक समस्याहरु जस्तै (Bells palsy, Autoimmune disease, menopouse) आँखाको परेलाको शल्यक्रिया गरेका बिरामी, परेलाको समस्या (puntal surgery) मधुमेह, थाइराइडजस्ता समस्या भएको बिरामीको आँखा सुख्खा हुने गरेको पाइन्छ । सुख्खा आँखाको समस्याबाट सबै उमेर समूहको बिरामीहरु ग्रसित छन् ।

के हो सुख्खा आँखा ?
सुख्खा आँखा एक सामान्य प्रकारको आँखाको समस्या हो । हाम्रो आँखामा आँसु बनाउने एक प्रकारको ग्रन्थी हुन्छ । त्यस ग्रन्थीले बनाएको आँसु आँखाको सतहमा फैलिँदै आँखाको बाहिरी नानीलाई पोषण प्रदान गर्नुका साथै आँखाको वास्तविकता हेर्ने कुरा तथा आँखाको सम्पूर्ण सतहमा आदानप्रदान गर्ने गर्छ । र, अन्त्यमा आँखाको नली हुँदै नाक र घाँटीमा पुग्छ । तर कुनै कारणवस आँखाको ग्रन्थीले प्रयाप्त मात्रामा आँसु नबनाएर होस् वा बनेको आँसु प्रयाप्त नभएर आँखामा देखिने आँसुको कमी सम्बन्धी समस्यालाई सुख्खा आँखा भनेर बुझिन्छ ।

सुख्खा आँखाका लक्षणहरु
सामान्यतया आँखा पोल्ने, बिझाउने, घाम तथा उज्ज्यालोमा हेर्ने, गाह्रो हुने, चिलाउने, आँखा बारम्वर रातो भइरहने, आँखा दुख्ने, हेर्दा हेर्दै अचानक घमिलो हुने, विहानी पख आँखा खोल्दा गाह्रो हुने, आँखा थकान महसुस हुने सुख्खा आँखाका लक्षणहरु हुन् ।

उपचार तथा परामर्श
–निरन्तर आँखा बन्द गर्ने
–नियमित आँखाको परेला सफा राख्ने, मनतातो पानीले समय–समयमा सेक्ने
–दैनिक खाने खानामा पानी तथा झोलिलो पदार्थको मात्रा थप गर्ने ।
–घाम, धुलो, धुवामा निस्किदा सनप्रोक्टिभ चश्माको नियमित प्रयो गर्ने ।
– मोवाइल, कम्प्युटर, ल्याप्टप चलाउने बेला (blue ray cut, ARC) चश्मा प्रयोग गर्ने ।
– २०–२०–२० नियमको पालना गर्ने (जसअनुसार लगातार २० मिनेटसम्म काम गरेपछि किम्तमा २० सेकेन्ड को लागि, २० फिट जति पर हेर्ने ।
– आँखामा कृत्रिम आँसुको प्रयोग गर्ने

जटिल प्रकृतिको आँखाको उपचार
–नियमित रुपमा बाक्लो खालको कृत्रिम आँसुको प्रयोग गर्ने ।
–(Bells palsy), खुल्ला आँखाको ढकनी जस्तो अवस्थामा (puntal surgery) तथा टेपिङ विधिबाट आँखा बन्द गर्ने ।
–आँखाको ढकनीको शल्यक्रिया गर्ने

जोखिम र सावधानी
आँखामा घाउ भई रहने, दैनिक जीवनमा सुख्खा आँखाको कारणले जीवन कष्टकर हुने, आँखाको नानीमा घाउ तथा आँखाको नानीमा दाग भइ सधैंका लागि ज्योति नै गुम्न सक्छ । त्यसैले आफ्नो आँखाको हेरचाह गरौं । हरियो सागसब्जी, पहेंला फलफूल खाऔं । आँखामा लाग्न सक्ने सम्भावित चोटपटकबाट बचाऔं र आँखाको नियमित परीक्षण गरौं ।

 

 

 

  • २३ भाद्र २०७९, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech