डेंगुबाट भेरी अस्पतालमा १२ वर्षीया बालिकासहित दुई जनाको मृत्यु

    • स्वास्थ्य पेज

  • २२ भाद्र २०७९, बुधबार

नेपालगन्जः भेरी अस्पताल नेपालगन्जमा दुई जना डेंगुका विरामीको मृत्यु भएको छ । मृत्यु हुने दुवै जना जिल्ला बाहिरका हुन् । एक जना कैलाली र अर्का बर्दियाका बिरामीको उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।
बढैयाताल गाउँपालिका–८ बर्दियाका ८६ वर्षीय पुरुष र टीकापुर नगरपालिका ६ कैलालीकी १२ वर्षीया बालिकाको उपचारका क्रममा आज भेरी अस्पतालमा मृत्यु भएको अस्पतालले जनाएको छ । अस्पतालमा डेंगुका बिरामीहरु थपिनेक्रम जारी रहेको पनि अस्पतालको भनाइ छ ।

कस्तो अवस्थामा फैलन्छ डेंगु ?
यो खासगरी पानी जमेको ठाउँमा भेटिने लामखुट्टे र लार्भाको टोकाइबाट सर्छ । पानीभित्र लामखुट्टेले लार्भा जन्माउँछ । पानी जमेको ठाउँमा बसेको लामखुट्टेको टोकाइबाट सर्ने भएकाले घरवरपर पानी जम्न नदिने, सरसफाइ गर्ने र कुनै भाँडामा पानी भरेर खुला राख्नु हुँदैन ।

कस्ता लक्षण देखिए डराउने ?
डेंगु लागेपछि लक्षणका आधारमा निको वा गम्भीर हुन सक्छ । सामान्य लक्षण देखिए घरमै बस्दा हुन्छ । तर, गम्भीर लक्षण देखिएमा तुरुन्त अस्पताल जानुपर्छ । लामखुट्टेको टोकाइबाट डेंगु लागेपछि उच्च ज्वरो आउने गर्दछ । बेस्सरी टाउको दुख्ने, आँखाको गेडी दुख्ने, हाडजोर्नी तथा मांसपेशी दुख्ने, शरीरमा बिबिरा आउने, रिंगटा लाग्ने, बान्ता हुनेलगायतका लक्षण डेंगुका हुन् । यी लक्षण देखिएर सामान्य दुखाइ छ भने घरमै उपचार गर्न सकिन्छ । तर, अहिले यी लक्षण देखिएर अस्पताल आउनेको संख्या बढेको छ ।

बच्ने उपाय
डेंगुबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुपर्छ । त्यसका लागि घरवरिपरिको सरसफाइमा ध्यान दिनुपर्छ, जसकारण लामखुट्टे आउन नपाओस् । पानी जम्ने ठाउँ र खाल्डाखुल्डी पुर्ने गर्नुपर्छ । सुत्दा झुल लगाएर मात्रै सुत्ने, शरीर ढाक्ने कपडा लगाउने तथा घरभित्र लामखुट्टे छिर्न नदिन झ्यालढोकामा जाली लगाउनु उपयुक्त हुन्छ ।

  • २२ भाद्र २०७९, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech