बालदम प्रतिको भ्रम र यर्थाथ

    • डा.राजकुमार विक र डा जगत जीवन घिमिरे

  • १७ भाद्र २०७९, शुक्रबार

आजको यस अंकमा हामी एक सेवाग्राही अभिभावक आफु बस्ने नजिकै एक चिकित्सककोमा आफ्नो बच्चालाई स्वास्थ्यमा समस्या भएर लिएर जान्छिन र उनीहरु बीचको वार्तालाप प्रस्तुत गर्दै छौं ।

यहाँ चिकित्सकले भन्ने गरेका सम्पूर्ण मेडिकल तथ्यांक ग्लोबल इनिसियटिब फर आस्थ्मा २०२२ को पछिल्लो गाइडलाइन्स, संसार भरीको बालरोग डाकटरले पढ्ने नेल्सन टेक्स्ट बुक अफ पेडियाट्रिक्स, विश्व स्वास्थ्य संगठन लगायत का आर्टिकल लाई नेपाली मा अनुवाद गरिएको हो ।

हामी वार्तालापको केही अंश जसले सम्पूर्ण जनतालाई बालदमप्रतिको भ्रम हटाउन सहयोग होस् पनि पेस गर्दछौ । एक जना अभिभावक आफ्नो ३ बर्सिय बच्चालाई निकै समय देखी खोकी लाग्ने भएर चिकित्सककोमा जान्छिन । उनी भन्छिन–‘डाक्टर, हेर्नुन मेरो छोरोलाई १५–१६ दिन भईसक्यो खोकी निको भएको छैन । हिजोराती बाट घ्यार घ्यार अनी छिटो छिटो सांस फेरी रहेको छ । रुघा लाग्यो कि बाबुलाई एस्तो भइहाल्छ । बर्षमा ५–६ चोटि क्लिनीकको औषधि नखुवाइ र बाफ नलगाइ त ठीक नै हुँदैन । पोहोर साल त गाह्रो भएर कान्तिबाल अस्पतालमा इमर्जेन्सीमा लगेर अक्सिजन लगाएर भर्ना पनि गर्नु परेको थियो । लौ न यो समस्या के हो ? जरै बाट पत्ता लगाएर समाधान गरिदिनु पर्‍यो सर ।

अनी डाक्टर भन्छन्–‘हजुरले भने जस्तो ५ बर्ष मुनीको रोग पत्ता लगाउन हजुरले हतार नगरिकन कम्तीमा १० मिनेट समय दिनु पर्ने हुन्छ अनी केही प्रश्न को उत्तर दिनु पर्ने हुन्छ अनी मात्रै रोग पत्ता लगाउन सहज हुनेछ । किनभने प्राय जसो बिरामीको रोग पत्ता लगाउन पहिलो र महत्वपूर्ण तरिका भनेको नै हामी चिकित्सकले सोध्ने र हजुरहरुले भन्ने कहानी हो ।’

अः हस् डक्टर ।
डाः हजुरको बाबु पेट मा हुने बेला बाट जाउ है त ?
अः हस् सर ।
डाः हजुर सुत्केरी कहिले हुनु भएको थियो ? सामान्य थियो कि अप्ररेसन ? बच्चाको तौल कती थियो ? बच्चा जन्मेपछि रोएको थियो कि नाइ ? अक्सिजन लगाएर भर्ना गर्नु पर्‍यो कि नाइ ? बच्चा जन्मिनु अघि वा जन्मे पछि कोइला वा चुरोट बिडीको धुवाको सम्पर्कमा आएको थियो कि नाइ ? जन्मेपछि ६ महिना सम्म आमाको दुध मात्रै खुवाउनु भएको थियो कि फर्मुला दुध वा लिटो सुरु गर्नु भएको त थिएन नि ?

अः मेरो त चाडै ब्यथा लागेर ७ महिनामा जन्मेको बाबु हो । जम्मा तौल १२०० ग्राम थियो । बाबुको फोक्सो राम्रोसँग बिकास नभएर एनआइसीयूमा भर्ना गरेर महँगो औषधि चलाऊनु परेको थियो । करिब १ महिना भर्ना गरेर राख्नु परेको थियो । सायद पहिलो १० दिन सम्म त बाबुलाई भेन्टिलेटर मै राख्नु परेको थियो । जन्मिनु अघि देखि नै यसको बाबा रुम मै चुरोट तान्नु हुन्थ्यो । जन्मेपपछि त मैले अनी सासु आमाले गाली गरे पछि कोठामा चुरोट तान्न छोड्नु भयो । तर बच्चालाई कोइलामा नै सेक्ने गर्थेउ । मेरो पनि दुध राम्रो सँग नआएर फर्मुला दुध खुवाएको । अनी ४ महिना देखि नै लिटो सुरु गर्देको हो नि डाक्टर ।

डाः ए ए त्यस्तो पो हो । हजुरले भने जस्तै समय नपुगी जन्मेको बच्चाहरु, अझ छोरा मान्छेलाई, जन्मिदा अक्सिजन लगाउनु पर्ने, एनआइसीयूमा भर्ना भएका, शिशु, कम तौल भएका, परिवारका सदस्यमा दम भएमा, चुरोट बिंडी वा कोइलाको धुलो धुवामा हुर्किएका शिशु,कम्तिमा ६ महिना सम्म आमाको दुध मात्रै खुवाउनु पर्नेमा अन्य दुध खुवाएमा वा अन्य खाने कुरा सुरु गरेमा, पहिलो १ वर्ष भित्र एन्टिबायोटिक प्रयोग भएका बच्चाहरुमा घ्यार घ्यार तथा बालदम हुने सम्भावना केही बढी हुन्छ है म्याम ।

अः डाक्टर बच्चालाई पनि दम हुन्छ र ? अनी यो रोग लागे पछि निको हुन्छ कि नाइ ?
डाः किन नहुनु र अमेरिकामा सन २०१८ को डाटा अनुसार १०० जना बच्चामा ७–८ जना बच्चालाई बालदमको समस्या देखिएको छ भने विश्व स्वास्थ्य संगठनले भने जस्तै हाम्रो जस्तो अल्पविकसित तथा विकासोन्मुख देशमा जहाँ बिभिन्न कारणले रोग नै कम पत्ता लाग्ने र उपचार पनि कमै हुने गर्छ । यहाँ त अवश्य पनि बढी नै छन । अझ काठमाडौंमा बायु प्रदुशण धेरै नै भएकाले यहाँ त धेरै बच्चालाई घ्यार घ्यार हुने समस्या हुन्छ । त्यसैले त अहिले काठमाडौं बासीका आशाका केन्द्र बिन्दु युवाको ढुक्ढुकी काठमाडौं का मेयर साब बालेन ज्युले काठमाडौं लाई सफा सुग्घर गराउन लागि पर्नु भाको छ र यसमा तपाईं हाम्रो सहयोग को ठुलो खाचो छ है । बच्चाहरुमा घ्यार घ्यार हुने कतिपए समस्या ५ वर्ष कटेपछि ठीक हुन सक्छन भने दम नै हो रहेछ भने चिकित्सकको सल्लाह बमोजिम लामो समय औषधि प्रयोग गरी रोगलाई नियन्त्रणमा राख्नु पर्दछ । र बेला बेलामा नियमित फलोअप गर्नुपर्ने हुन्छ ।

अः यसमा हुने मुख्य लक्षणहरु के के हुन त सर ?
डाः बारम्बार दोहोरिएर आउने सुख्खा खोकी, जुन प्राय गरेर बिहान र बेलुका बढ्ने गर्दछ। सजिलै निको हुँदैन । चिसो मौसम मा बढी हुने,रुघा भयो कि बढीहाल्ने, कोही कोही बच्चा हरु खेल्दा,उफ्रिदा, हाँस्दा,रुदा खेरी बढ्ने सक्छ । बच्चालाई कुनै एलर्जी ( बिछ्यौनामा हुने माइट्स, गलैंचा, फर्निचरमा हुने धुलो तथा ढुसी, घरपालुवा जनावरका रौं तथा छाला, पराग, सुर्तीको धुलो, धूमपान, केमिकल, चिसो पदार्थ, वायु प्रदूषण, चिसो हावा, कडा बास्ना) भएमा दम हुने सम्भावना बढी हुन्छ । त्यो बाहेक छिटो छिटो सांस फेर्ने, श्वास फेर्दा सिटीजस्तो आवाज आउने, घ्यार घ्यार गर्ने, छाती गह्रुङ्गो हुने, दुख्ने आदि हुन सक्छ । कहिले काही सिरियस भएमा बच्चाको सास फुल्ने भएर इमर्जेन्सी वा आइसीयूमा भर्ना गरेर उपचार गर्नु पर्ने हुन्छ । समयमा उपचार नगरे ज्यान पनि जान सक्छ है ।

अः हजुरले भने जस्तै लगभग धेरै लक्षण त मेरो बच्चालाई पनि रहेछ है डाक्टर । अनि यसमा प्रयोग गर्ने औषधी के कस्तो हुन्छन ? प्रयोग गरे पछी बिचमा छोड्न मिल्छ कि नाइ डाक्टर ?
डाः दमको लागि मुख्य औषधी भनेकै इन्हेलर पम्प हो । यो एकदम प्रभावकारी हुन्छ र यसको नकरात्मक असर पनि कम हुने गर्दछ । जहिले पनि औषधी प्रयोग गर्नु अघी लगभग ५ सेकेन्ड जती इन्हलेर लाई बेस्सरी हल्लाउने । पहिलो ३ वर्ष सम्मका बच्चालाई पम्प, स्पेसर फेस मास्क सहित प्रयोग गर्नु पर्छ । एक चोटी प्रयोग गर्दा ५ वर्षमुनिका बच्चाले कम्तिमा ५ चोटि सास भित्र बाहिर फेर्न लगाउने है । त्यस्तै ठुला बच्चाहरुमा इन्हेलर पम्पको माउथपिस लाई मुखभित्र राख्नु अघी फोक्सो भित्रको हावा सबै बाहिर फाल्ने कोशीस गर्ने त्यसपछि मुख भित्र दाँतको बिचमा राखी ओठले च्याप्ने । त्यसपछि चोर औंलाले थिच्ने अनी बिस्तारै सास भित्र तान्न लगाउने र कम्तिमा ५–१० सेकेन्ड सास रोक्न लगाइ बिस्तारै सास बाहिर फाल्न लगाउने है । त्यस्तै उक्त सामानलाई प्रत्येक हप्ता सोडा पानीमा भिझाएर खलखल नगरि हावा मा सुखाउनु पर्छ है । प्रत्येक ६ महिना मा भाडो बदल्ने गर्नु पर्छ ।
अः बाफ त नलगाउने सर । एक चोटि बाफ लगाएपछि त बानी बस्छ रे ? हाम्रो टोखा तिर सबैले त्यस्तै भन्छन है डाक्टर ।
डाः अरुले के भन्छन थाहा छैन तर चिकित्सकले आवश्यक्ता अनुसार बाफ लगाउनु पर्छ । त्यस्तै यदी समस्या नै छ भने समस्याको समाधान तिर पो जाने होला नि ,हैन र ? रोग पत्ता लगाएर उपचार तिर नलागेर केही हैन भन्दै रोग पालेर राख्नु त झनै भएन नि । कतिपए ठाउँमा सलाइन पानी एक चोटि चढाए पछि सधैं चढाउनु पर्छ पर्ने अन्धबिश्वासले जडा गाडे जस्तो चाँही गर्नु हुँदैन है । बाफ लाउनै पर्ने लाई चिकित्सक को सल्लाह अनुसार लगाउनु पर्छ तर एक चोटि लगाउनु पर्‍यो भन्दैमा सधैं आफ्नै हिसाबले गलत काम पनि गर्नु भएन है । त्यसैले परिवर्तन हाम्रै पालामा सम्भव छ है ।

अः अनि यो रोग यही नै हो भनेर एकिन पत्ता लगाउने उपाए के छ त सर ?
डाः खासमा ५ वर्षमुनिका बालबालिकामा हजुरले भन्ने कहानी र हामीले गर्ने चेकजाँच , फिनो जाँच, रगतको जाँच, छातीको एक्सरे, सिटी स्क्यान लगाएत परिक्षणबाट धेरै कुरा थाहा हुन्छ । त्यस्तै ५ वर्ष माथिका समुहहरुमा माथि भने जस्तै र थप फोक्सोको जाँच स्पाइरोमेट्री–पल्मोनरी फन्सन टेस्ट गरे पछी पत्ता लगाउन सजिलो हुन्छ ।
अः यस्को बच्ने उपाय केही छ त सर ?
डाः बालबालिकालाई धुवाँधुलोबाट टाढा राख्नुपर्छ । पटकपटक हात साबुनपानीले धोइराख्ने, घरबाट बाहिर निस्किदा मास्कको प्रयोग गर्नुपर्छ । रुघाखोकीको समयमै उपचार गर्नुपर्छ । त्यस्तै ६ महिना माथिका प्रभावित व्यक्तिले इन्फ्लुन्जा भ्याक्सिन (खोप) लगाउनु राम्रो हुन्छ ।अरु माथि भने जस्तै परिवर्तन गर्न मिल्ने वा व्यबहारमा सुधार गर्नु पर्ने कुरा मा जोड दिने अनी केही सहज हुनसक्छ ।

 

  • १७ भाद्र २०७९, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech