पश्चिमका एक्ला प्लाष्टिक सर्जन डा. विनोद कर्ण किन सांसद बन्न चाहान्छन ? को हुन् डा. कर्ण ? 

    • स्वास्थ्य पेज

  • ७ भाद्र २०७९, मंगलवार

नेपालगन्जः ‘नेपालगन्जलाई नमूना सहर बनाउनकै लागि म सांसद बन्न खोजिरहेको छु आफ्नो उम्मेदवारी घोषणासभालाई सम्वोधन गर्दै डा.विनोद कर्णले भन्नुभयो–‘नेपालगन्जको समृद्धिनै मेरो उम्मेदवारीको एजेन्डा हो ।’

निकै भावुक मुद्रामा प्रस्तुत हुनु भएका कर्णले मृत्यु अघि नेपालगन्ज समृद्ध भएको हेर्ने आफ्नो चाहना भएको उल्लेख गर्नुभयो । बाँके–२ (ख) बाट चुनाव लड्ने घोषणा गर्नुभएका कर्णले आफ्नो उम्मेदवारी विकासप्रेमी नेपालगन्जबासी नागरिकको तर्फबाट भएको दावी गर्नुभयो ।

यसअघि उहाँ २०७४ सालको चुनावमा पनि यही निर्वाचन क्षेत्रबाट उम्मेदवार बन्नुभएको थियो । त्यतिबेला विवेकशील साझा पार्टीका तर्फबाट उम्मेदवार बन्नुभएका डा.कर्ण यो पटक भने स्वतन्त्र उम्मेदवार बन्नुभएको छ ।

पेशाले चिकित्सक । कमाइकाज पनि रामै्र छ । तर डा.कर्ण राजनीतिमा होम्मिएर किन सांसद बन्न खोजिरहनुभएको छ ?

उहाँको सहज जवाफ छ–‘चिकित्सक पेशापनि समाज सेवा नै हो तर नीतिगत परिवर्तनका लागि सांसदको विकल्प छैन रहिछ । राजनीति गर्नै पर्दो रहिछ । नेपालगन्जको समग्र विकासका लागि नीतिगत तहमै बसेर काम गर्नै पर्छ । त्यसैले राजनीतिमा पाइला टेकियो ।’

को हुन् डा. कर्ण ?
लामो समयदेखि नेपालगन्जमा हरित अभियान तथा सरसफाईसँग जोडिएर ‘क्लीन नेपालगन्ज ग्रीन नेपालगन्ज’ अभियान मार्फत विभिन्न सामाजिक अभियानमा सक्रिय कर्ण विगत १० वर्षदेखि नेपालगन्ज मेडिकल कलेजमा कार्यरत हुनुहुन्छ ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उहाँ एक्लो प्लाष्टिक सर्जन हुनुहुन्छ । नेपालगन्जका स्थानीय वासिन्दा कर्णले वि.सं. २०४० सालमा नेपालगन्जको महेन्द्र माविबाट एसएलसी उत्तीर्ण गर्नुभएको हो ।

अमृत साइन्स क्याम्पसबाट आईएस्सी गरेर एमबीबीएस पढनका लागि कोसिस गर्नुभयो । २ पटक प्रयास गर्दा पनि कर्णको नाम इन्ट्रान्समा निस्किएन् । त्यतिबेला नेपालमा महाराजगन्ज क्याम्पसमा मात्रै एमबीबीएसको पढाइ हुन्थ्यो ।

सिट थियो जम्मा १५ वटामात्रै । नाम ननिस्कएपछि डाक्टर बन्ने सपना अधुरै राखेर कर्ण बीएस्सी भर्ना भएर पढाइलाई अगाडि बढाइरहनु भएको थियो ।

त्यति नै बेला उहाँले रसियामा एमबीबीएस पढन जाने अवसर पाउनुभयो । सन् १९९३ देखि २००० सम्म सात वर्ष रसियामा बसेर पढेपछि नेपाल फर्किनुभयो । नेपालका वीर अस्पताल, प्रसूति गृह र कान्ति बाल अस्पतालबाट इन्टर्नसीप पूरा गर्नुभयो ।

लोकसेवा पास गरेर मेडिकल अधिकृतको रुपमा वि.सं २०५९ सालमा खोटाङ जिल्ला अस्पतालमा जानुभयो । त्यतिबेला माओवादीको हिंसात्मक आन्दोलन उत्कर्षमा थियो ।

खोटाङमा बसेर काम गर्न गाह्रो भएपछि केही महिना नै सरकारी जागिर छाडेर काठमाडौं फर्किएर सुषमा मेमोरियल अस्पताल साखुमा ५ वर्ष मेडिमल अफिसरको रुपमा काम गर्नुभयो ।

वि.सं. २००७ मा स्कलरसीप पाएपछि प्लाष्टिक सर्जरीमा एमडी गर्न चाइना जानुभयो । ३ वर्षमा प्लाष्टिक सर्जरीको कोर्स पूरा गरेर सन् २०१० मा उहाँ नेपाल फर्किनुभयो । त्यसपछि करिब ६ महिना सुषमा मेमोरियल अस्पतालमा काम गर्नुभयो ।

त्यतिबेला नेपालगन्जलगायत पश्चिम नेपालका विभिन्न जिल्लाबाट धेरै बिरामीहरु प्लाष्टिक सर्जरीका लागि सुषमा मेमोरियल अस्पतालमा पुग्थे । आफ्नै क्षेत्रका बिरामी उपचारका लागि ऋण धन गरेर काठमाडौं आउनु पर्ने अवस्थाले डा कर्णलाई आफ्नै क्षेत्रमा फर्किएर केही गर्नुपर्छ भन्ने लाग्यो ।

नेपालगन्ज अर्थात घर आएका बेला नेपालगंज मेडिकल कलेजका प्रबन्ध निर्देशक डा. सुरेश कुमार कनोडियासँग भेट भयो । डा. कनोडियाले नेपालगन्ज मेडिकल कलेजमा आएर काम गर्न आग्रह गरेपछि डा.कर्ण सन् २०११ फेब्रुअरीमा प्लाष्टिक सर्जनको रुपमा नेपालगन्ज मेडिकल कलेज ज्वाइन गर्नुभयो ।

मेडिकल कलेजमा प्लाष्टिक सर्जरी सेवा सुरु भयो । जन्मदैं ओठ कटेका, आगोले पोलेका, कुकुरलगायत जंगली जनावरले टोकेका र सडक दुर्घटनामा परेका, रुख तथा भिरबाट लडेका बिरामी उपचारका लागि आउने क्रम बढ्दै गयो ।

डा. कर्ण र उहाँको टिमले यो अवधिमा २ सय भन्दा बढी बालबालिकाको जन्मदै कटेका ओठ जोडिदिएर बालबालिकाको अनुहारमा मुस्कान ल्याइदिनुभएको छ ।

डा. कर्णले दुर्घटनामा परेर अनुहारलगायत शरीरका विभिन्न भाग बिग्रिएका करिब ८ हजारभन्दा बढीको प्लाष्टिक सर्जरी गरेर पहिलेकै अवस्थामा फर्कादिनुभएको छ ।

मेडिकल कलेजको ओपीडीमा मात्रै दैनिक १० देखि १५ जनासम्म विभिन्न किसिमका दुर्घटनामा बिरामीहरु उपचारमा आउने गरेका छन् । डा.कर्ण र उहाँको टिमलले हप्तामा करिब १५–१६ जनासम्मको शल्यक्रिया गर्नुभएको छ ।

उपचारका लागि आउने विपन्न तथा आर्थिक अवस्था कमजोर भएका कारण उपचार नै गराउन नसक्ने अवस्थामा रहेका बिरामीलाई नेपालगन्ज मेडिकल कलेज र डा कर्णको टिमले निःशुल्क उपचारसमेत गर्दै आएको छ ।

 

  • ७ भाद्र २०७९, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech