बेलायतमा नर्स लैजान भोलि सम्झौतापत्रमा हस्ताक्षर हुने

    • स्वास्थ्य पेज

  • ५ भाद्र २०७९, आईतवार

नेपालगन्जः बेलायतमा नर्स लैजानको लागि भोलि (सोमबार) सम्झौतापत्रमा हस्ताक्षर हुने भएको छ। रोजगारीका लागि स्वास्थ्य जनशक्ति लैजाने विषयमा नेपाल र बेलायतबीच श्रम सम्झौता हुने भएको हो। तर श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कति जना नर्स बेलायत पठाउने भनेर सार्वजनिक गरिसकेको छैन।

केही समय अगाडि बेलायतले दक्षिण एसियाली क्षेत्रबाट स्वास्थ्य क्षेत्रमा एक लाख श्रमिक भित्र्याउने घोषणा गरेको थियो। सोही घोषणा अनुरूप नेपालबाट नर्स लैजानको लागि भोलि मन्त्रालयमा सम्झौता हुन लागेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले बताउनुभयो ।

पछिल्लो समय सरकार नेपालबाट दक्ष जनशक्तिलाई वैदेशिक रोजगारीको लागि नयाँ नयाँ गन्तव्यको खोजीमा जुटेको छ। सरकारले केही समय अगाडि रोजगारी, पारिश्रमिक तथा सेवा सुविधाका आधारमा बेलायतसँग श्रम सम्बन्ध कायम गर्न आग्रह गरेको थियो।

गत पुसमा दुई पक्षबीच भएको औपचारिक छलफलमा श्रम समझदारी गरी रोजगारीका लागि नेपाली स्वास्थ्य जनशक्ति (नर्स) पठाउने समझदारी भएको थियो। नेपालले रोजगार सम्झौताको अवधि पाँच वर्षको हुने प्रस्ताव गरेको छ।

रोजगारीका लागि बेलायत जाने नर्सले कुनै पनि शुल्क बुझाउनु नपर्ने बताइएको थियो। साथै उक्त छलफलमा नेपालबाट करिब १० हजार नर्सिङ जनशक्ति लैजान आफू तयार भएको बेलायतले जनाएको थियो।

मन्त्रालयकाअनुसार छनोट भएका नर्सले बेलायत गएपछि त्यहाँको स्वास्थ्य काउन्सिलले लिने परीक्षा उत्तीर्ण भने गर्नुपर्नेछ। यद्यपि, उक्त अवधिमा पनि सहायक नर्सका रूपमा रोजगारी भने सुनिश्चित हुनेछ।

 

 

 

  • ५ भाद्र २०७९, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech