किन खाने क्वाँटी ? यस्ता छन् क्वाँटी खानुका फाइदा ।

    • स्वास्थ्य पेज

  • २७ श्रावण २०७९, शुक्रबार

आज जनै पूर्णिमा अर्थात क्वाँटी खाने दिन।

हिन्दु नेपालीहरुले मनाउने विभिन्न चाडपर्वमध्ये एक हो जनैपूर्णिमा । जनैपूर्णिमाको दिन खासगरी क्वाँटी खाने चलन रहेको छ । परापूर्वकालदेखि नै जनैपूर्णिमाका दिन क्वाँटी खाने प्रचलन छ । आजको दिन अधिकांसको घरमा गेडागुडीको परिकार क्वाँटी पाक्छ ।

विभिन्न गेडागुडी मिसाएर पकाइने एक झोलिलो खान्की हो यो । सिमी, केराउ, चना, मटर, राजमा, बोडी, भटमास, मुगी, दाल लगायत थरीथरीका गेडागुडीको समिश्रणलाई भिजाएर त्यसबाट टुसा अंकुराउन थालेपछि पकाउन योग्य मानिन्छ । यसरी पकाइएको खान्कीलाई क्वाँटी भनिन्छ ।

शरीरलाई स्वस्थ र तन्दुरुस्त राख्नका लागि विभिन्न पोषक तत्वको आवश्यक पर्छ । त्यस्ता पोषक तत्व खानेकुराको माध्यामबाट प्राप्त हुने हो । त्यसैले हाम्रो शरीरका लागि सन्तुलित आहारको आवश्यक्ता पर्छ । सन्तुलित आहारमा अंकुरित गेडागुडी अर्थात क्वाँटी पनि एक हो । शक्ति र स्वाद दुवै मिल्ने भएकाले पनि क्वाँटीको विशेषता छ ।

स्वास्थ्यका लागि फाइदाजनक क्वाँटीमा कार्बोहाइड्रेड, प्रोटिन, भिटामिन, मिनरल्स, फोलिक एसिड, आइरन तथा फाइबर पर्याप्त मात्रामा पाइन्छ । क्वाँटी शाकाहारी, गर्भवती महिला एवं बालबालिकादेखि बूढाबूढीसम्मका लागि उपयोगी छ ।

गेडागुडीलाई भिजाएर तथा टुसा उमारेर खाँदा त्यसमा भएको पोषक तत्त्व झन् धेरै बढ्छ ।

यसका फाइदाहरू:

  • क्वाँटी रेसादार खानाको स्रोत हो , यसले कब्जियतको समस्या हटाउँछ ।
  • शारीरिक तथा मानसिक स्वास्थ्यमा सुधार ल्याउँछ ।
  • स्मरणशक्ति वृद्धि हुनुका साथै कुपोषण हटाउन पनि सहयोगी हुन्छ ।
  • यसले मधुमेह नियन्त्रण राख्न सहयोग गर्छ ।
  • बूढो हुने गति मन्द पार्नुको साथै मानिसलाई सुन्दर स्वस्थ र रोगमुक्त पार्दछ ।
  • पेटमा अनावश्यक वायु बनाउँदैन ।
  • क्वाँटीमा भिटामिन ए, भिटामिन बी, भिटामिन सी, भिटामिन ई तथा खनिज पदार्थ (प्रशस्त मात्रामा हुन्छ । यसले शरीरको थकाइ कम गर्छ र तनावबाट मुक्त गराउँछ ।
  • रोग प्रतिरोधात्मक शक्ति बढाउछ ।
  • बालबालिकाको वृद्धि–विकासमा समेत सहयोग पुर्‍याउछ ।
  • मानसिक स्वास्थ्यमा सुधार ल्याउँछ ।
  • उच्च रक्तचाप नियन्त्रणमा सहयोग गर्छ ।
  • कोलस्टेरोल नियन्त्रण गर्छ ।
  • क्वाँटी खानाले ‘एसिडिटी’ तथा मूत्रनलीमा संक्रमणजस्ता समस्याबाट पनि छुट्कारा मिल्छ।
  • पाचनशक्तिमा सुधार ल्याउँछ।

हामी नेपाली जनैपूर्णिमाको एक दिन क्वाँटी खाने गर्छौं । वर्षमा एक दिन मात्र कुनै खानेकुरा खाएर त्यसबाट पाइने फाइदा लिन सकिंदैन । वर्षमा एक दिन मात्र क्वाँटी खाएर त्यसबाट पाइने पौष्टिक तत्व पाउन सकिंदैन । टुसा उमारिएको गेडागुडी समय समयमा खाइरहनुपर्छ अनि मात्र यसबाट स्वास्थ्यलाभ पाउन सकिन्छ ।

  • २७ श्रावण २०७९, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech