बढ्न थाले डेंगीका बिरामी, दैनिक १५ जनाभन्दा बढी बिरामी भेटिए

    • स्वास्थ्य पेज

  • १९ श्रावण २०७९, बिहीबार

नेपालगन्जः साउन लागेसँगै बुटवलमा डेंगीका बिरामी बढ्दै गएका छन्। असारदेखि नै डेंगीका बिरामी अस्पतालमा आउने गरेकोमा साउन लागेपछि भने दैनिक १५–१६ जनामा डेंगीको संक्रमण देखिएको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले जनाएको छ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा इन्द्र ढकालले असारमा फाट्टफुट्ट बिरामी आउने गरे पनि साउन लागेपछि भने बिरामी थपिने क्रम बढिरहेको बताउनुभयो।

‘ज्वरोको समस्या लिएर ओपिडी र आकस्मिक कक्षमा आउने बिरामीमध्ये दैनिक १५–१६ जनामा डेंगीको संक्रमण देखिएको छ,’ ढकालले भन्नुभयो ।

अस्पतालका अनुसार विगतका वर्षमा साउन र भदौमा डेंगीका बिरामी आउने गरेकोमा यसवर्ष भने असारदेखि नै बिरामी आउने गरेकोले भदौसम्म बिरामीको संख्या धेरै थपिन सक्ने खतरा देखिएको छ।

मेडिकल सुपरिटेन्डेन्ट डा ढकालले दुई वर्ष पहिले स्वास्थ्य कार्यालय र स्थानीय तहहरूले विभिन्न सचेतनाका कार्यक्रमसँगै लामखुट्टे खोज र नष्ट गर अभियान सञ्चालन गरे पनि यसवर्ष त्यो अभियान शून्य हुँदा बिरामी बढेको हुन सक्ने बताउनुभयो ।

‘एकातिर बजारभित्र भत्किएका सडकका खाडलमा पानी जमेर त्यसैमा लामखुट्टेले बासस्थान बनाएका छन्, अर्कोतर्फ विगतमा हुने सचेतनाका कार्यक्रम र लामखुट्टेको खोजी र नष्ट गर अभियान भएका छैनन्, अहिलेकै अवस्थामा बिरामीहरूको संख्या थपिँदै जाने हो भने भदौसम्म डेंगीका बिरामीहरूले अस्पताल भरिने छन्,’ डा ढकालले भन्नुभयो।

डा ढकालले डेंगी लाग्नबाट जोगिने एक मात्र उपाय लामखुट्टेको टोकाइबाट जोगिनु भएकोले लामखुट्टेको बासस्थानको खोजी गरी नष्ट गर्नुपर्ने बताउँनुहुन्छ ।

अस्पतालका सूचना अधिकारी डा नेत्र राना लुम्बिनी प्रादेशिक अस्पतालमा मात्रै दैनिक १५–१६ जनासम्म डेंगीका बिरामी थपिने गरेकोले ज्वरो आयो भने पनि सामान्य ज्वरो होला भनी घरमै नबस्न सुझाव दिनुहुन्छ ।

‘अस्पतालमा आएका बिरामीमध्ये डेंगीको शंका लागेर परीक्षण गराउने ४०–४५ प्रतिशतको रिपोर्ट पोजिटिभ आउने गरेको छ,’ डा रानाले भन्नुभयो।

डा रानाका अनुसार ओपिडीमा आएका मात्रै दैनिक ४०–५० जनाको डेंगी परीक्षण हुने गरेको छ।

लुम्बिनी प्रादेशिक अस्पतालमा आउने बिरामीमा मात्र नभई अन्य अस्पतालमा जाने बिरामीमा पनि डेंगीको संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय रूपन्देहीले जनाएको छ।

कार्यालयका प्रमुख गौरव ढकालका अनुसार यहाँका सरकारी र निजी अस्पतालमा बिरामी बढेका छन्।

ढकालले ग्रामीण भेगभन्दा सहरी क्षेत्रहरू बुटवल, भैरहवा, सैनामैना, देवदह र तिलोत्तमामा डेंगीका बिरामीहरू बढी देखिएको बताउनुभयो ।

  • १९ श्रावण २०७९, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech