७० प्रतिशतले कोरोनाविरुद्धको खोप लगाए

    • स्वास्थ्य पेज

  • १८ श्रावण २०७९, बुधबार

नेपालगन्ज: नेपालले कोभिड–१९ विरुद्धको खोप कार्यक्रममा ७० प्रतिशत भन्दा माथिको सफलता हासिल गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालका कुल जनसंख्याको ७३ प्रतिशतले पहिलो मात्रा खोप लगाएका छन् ।

दोस्रो तथा पूर्ण मात्रा खोप लगाउनेको संख्या भने ७० प्रतिशत भन्दा माथि रहेको छ । ‘जसका कारण नेपाल पनि कोभिड–१९ विरुद्धको खोप कार्यक्रममा ७० प्रतिशत भन्दा माथिको कभरेज हासिल गर्ने मुलुकहरुको सूचीमा समावेश भएको छ’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले भन्नुभयो ।

नेपालले पहिले १८ वर्षमाथिका नागरिकलाई मात्र खोप लगाएको थियो । पछि १२ देखि १८ वर्षका बालबालिकाका लागि पनि खोप सुरु गरिएको थियो । नेपालमा १२ वर्षभन्दा माथिको जनसंख्यामा पहिलो मात्रा खोप लगाउने ९२ प्रतिशत रहेका मन्त्रालयले जनाएको । दोस्रो तथा पूर्ण मात्रा खोप लगाउने १२ देखि १८ वर्षसम्मका बालबालिकाको कभरेज ८८ प्रतिशत छ ।

सरकारले २०७९ असार ९ देखि ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई खोप लगाउन सुरु गरेको थियो । बालबालिकाका लागि ३७ लाख ९२ हजार ३९८ खोप प्राप्त भए पनि २७ जिल्लामा मात्र खोप कार्यक्रम सञ्चालन भएको छ । ५० जिल्लामा भने खोप लगाउन बाँकी छ ।

नेपालमा कोभिड–१९ महामारीअघि खोपको भण्डारण क्षमता १४५ घनमिटर थियो । अहिले बढेर ९१७ घनमिटर पुगेको मन्त्रालयले जनाएको छ ।

  • १८ श्रावण २०७९, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech