भेरी अस्पताल स्थापनाको १३२ वर्ष, भोलि वार्षिकोत्सव

    • स्वास्थ्य पेज

  • ११ श्रावण २०७९, बुधबार

नेपालगन्जः भेरी अस्पताल स्थापनाको १३२ वर्ष पुगेको छ । १३२ औं स्थापना दिवस भोलि विहीबार भव्य कार्यक्रमको आयोजना गरी मनाउन लागिएको अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालले जानकारी दिनुभयो । वार्षिकोत्सवको सम्पूर्ण तयारी पूरा भएको अध्यक्ष धितालले बताउनुभयो । अस्पताल स्थापनाको १३२ वर्ष पुगेपनि वार्षिकोत्सव मनाउन लागेको भने गएको वर्षदेखि हो । अस्पतालको  यो दोस्रो वार्षिकोत्सव हो ।

‘नयाँ सोच–नयाँ खोज’ थीमका साथ मनाउन लागिएको वार्षिकोत्सवको स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हिराचन्द्र केसीले उद्घाटन गर्ने निश्चित भएको अस्पताल विकास समितिका सदस्य कृष्ण प्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

वार्षिकोत्सवको अवसरमा २५ वर्षदेखि सेवारत कर्मचारीलाई सम्मानित गर्ने, ‘म भेरी अस्पतालको प्रमुख भए…’ शीर्षकमा आयोजना गरिएको निवन्ध प्रतियोगिताका उत्कृष्ट प्रतियोगि तथा अस्पतालले आयोजना गरेको विभिन्न खेलकुद प्रतियोगिताका विजयी खेलाडीहरुलाई पुरष्कृत गर्ने कार्यक्रम समेत रहेको अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. बद्री चापागाइँले जानकारी दिनुभयो ।

अस्पतालको इतिहास, हाल भैरहेका गतिविधिहरू र भावी कार्ययोजनालाई छलफल गर्दै सबैमा संस्थाप्रति अपनत्वको भावना विकास गर्न वार्षिकोत्वलाई चाडकै रुपमा मनाउन खोजिएको डा.चापागाइँको भनाइ छ ।

अस्पतालका विविध आयाम, कर्मचारीहरूको योगदान, सामूहिकता, खेलकुद र साहित्यका पक्ष समेत समेटेर तयार पारिएको ‘अक्सिजन’ स्मारिकाको दोस्रो अंक समेत वार्षिकोत्सवमा विमोचन गर्ने कार्यक्रम रहेको छ ।

 

  • ११ श्रावण २०७९, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech