डाक्टर गाउँमा जान नमान्दा स्वास्थ्य सेवा पुग्न सकेनः स्वास्थ्य मन्त्री खापुङ

    • स्वास्थ्य पेज

  • १६ असार २०७९, बिहीबार

नेपालगन्जः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भवानीप्रसाद खापुङले डाक्टरहरू दुर्गम क्षेत्रमा जान नमान्दा सबै क्षेत्रमा स्वास्थ्य सेवा पुग्न नसकेको बताउनुभएको छ ।

आज बिहीवार नेपाल स्वास्थ्य प्राविधिक सङ्घको ४४ औँ स्थापना दिवसलाई सम्बोधन गर्दै मन्त्री खापुङले यस्तो बताउनुभएको हो । उहाँले अहिले देशका विभिन्न जिल्लाबाट दरबन्दी खाली रहेको भन्दै डाक्टर तथा नर्स पठाइदिन आग्रह गरे पनि स्वास्थ्यकर्मीहरू जान नमान्दा देशका सबै क्षेत्रमा स्वास्थ्यको सुनिश्चितता हुन नसकेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘म स्वास्थ्य मन्त्री भएको दुई दिनमात्र भएको छ । यो दुई दिनको अवधिमा धेरै मान्छेले जिल्लामा डाक्टर पठाइदिनुपर्‍यो दरबन्दी यति छ भनेर आउनुभएको छ । नर्स पठाइदिनुपर्‍यो दरबन्दी यति छ भनेर आउनुभएको छ । कोही जान तयार हुनुहुन्न ।’

मन्त्री खापुङले स्वास्थ्यकर्मीहरूरुले जुनकुनै बेला कुनै क्षेत्रमा पनि जानुपर्नेछ भन्ने मानसिकताको विकास गर्न आवश्यक रहेको बताउनुभयो । अहिले सरकार सङ्घीयताको कार्यान्वयनमा रहेको उल्लेख गर्दै समायोजनमा पनि अनेक समस्या सिर्जना भइरहेको उहाँको भनाइ छ ।

मन्त्री खापुङले स्वास्थ्यकर्मीहरू जुनकुनै क्षेत्रमा जान तयार हुने हो भने संविधानमा उल्लेख भएको स्वास्थ्यसम्बन्धी हकलाई कार्यान्वयन गर्ने कुरामा थप बल पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

  • १६ असार २०७९, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech