कोरोना संक्रमणको ग्राफ उकालो लाग्यो, दुई सातामै चार गुणा बढ्यो

    • स्वास्थ्य पेज

  • १५ असार २०७९, बुधबार

नेपालगन्जः भारतमा कोरोना संक्रमण फैलिदै गएपछि नेपालमा पनि केही दिनयता कोरोना संक्रमणको ग्राफ उकालो लागेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार एन्टीजेन र पीसीआर गरी १ हजार ६ सय २० नमुना परीक्षण गर्दा ६२ जनामा संक्रमण पुष्टि भयो । जुन कुल परीक्षणमध्ये ३ दशमलव ४६ प्रतिशत हो ।

१ असारमा संक्रमणदर ० दशमलव ६४ प्रतिशत मात्र थियो । दुई सातामै कोरोना संक्रमणको दुईसातायता झण्डै चार गुणाले बढेको देखिन्छ ।

साप्ताहिक तथ्यांक विश्लेषण गर्दा नेपालमा कोरोना भाइरसको संक्रमणदरसँगै संक्रिय संक्रमितको संख्या विस्तारै उकालो लागेको देखाउँछ । ७ असारमा १२४ सक्रिय संक्रमित रहेकोमा बुधबारसम्म आइपुग्दा २६१ पुगेको छ ।

क्रमशः संक्रमण उकालो लाग्नुको मुख्य कारण खोप लगाएको मानिसको रोग प्रतिरोधात्मक क्षमता कमजोर बन्दै जानु र भारतमा बढ्दो संक्रमणको प्रभाव रहेको विज्ञहरु बताउँछन् ।

यसले अर्को नयाँ महामारीको लहर ल्याउँछ कि ल्याउन्न भन्ने थाहा पाउन केही हप्ताको तथ्यांकलाई हेर्नुपर्ने उनीहरुको तर्क छ ।

संक्रामक रोग विशेषज्ञ डा. प्रभात अधिकारीका अनुसार कोरोनाविरुद्धको खोपको प्रभावकारिता ६ महिनाबाट क्रमशः घट्दै जाँदा पुनः संक्रमण भएको आंकलन गर्न सकिन्छ ।

‘नयाँ भेरियन्ट नेपालमा देखिएको शंका गर्ने ठाउँ पनि छ । जति नयाँ भेरियन्ट आएको छ, पहिलाको भन्दा चाँडैं सर्ने र खोपको प्रभावकारिता घटाउने खालका छन्,’ डा। अधिकारीले भन्नुभयो ‘अहिले कोरोनाको भाइरस पहिलाकोभन्दा चलाख भएर आएको छ ।’

पछिल्लो समय छिमेकी मुलुक भारतमा पनि कोरोना संक्रमित संख्या विस्तारै फैलिएको छ । भारतीय सीमा नाका हुँदै नेपाल प्रवेश गर्नेहरुमा कोरोना संक्रमण देखिने गरेको इपिडिमियोलाजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

महाशाखाका निर्देशक डा. चुमनलाल दासले पछिल्लो दिनमा संक्रमणदर बढ्दै जानु चिन्ताजनक भएको बताउनुभयो ।

दैनिक ५–६ जना मात्रै पुष्टि हुने गरेको ६० भन्दा माथि लाग्नु चुनौतीको विषय भएको उहाँको भनाइ छ । भारतबाट नेपाल आउनेको सीमा नाकामा संक्रमण दर क्रमशः बढ्न थालेपछि अस्पताललाई तयारी रहन निर्देशन दिएको पनि दासले बताउनुभयो ।

  • १५ असार २०७९, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech