युवतीमा क्यान्सर हुँदा के असर पर्छ?

    • स्वास्थ्य पेज

  • ३० जेष्ठ २०७९, सोमबार

सन् २०२० को फेब्रुअरी महिना। देशभर कोरोना संक्रमण बढिरहेको थियो र घरबाट करिब २ सय किलोमिटर टाढा गुडगाउमा बस्दै आएकी प्रियंकाको मनमा अनेक किसिमका विचारले बयेली खेलिरहेका थिए।

एक निजी कम्पनीमा काम गर्ने प्रियंकालाई उनको दाहिने स्तनमा गाँठा आएजस्तो लाग्यो। छुँदा कडा महसुस हुन्थ्यो।

उनले यो कुरा आफ्नो साथीलाई बताइन् र देखाइन् पनि। साथीले महिनावारीसम्मका लागि पर्खन भनिन्। किनकि, महिनावारीअघि यस्ता गाँठा देखिन्थे र पुनः हराउँथे।

महिनावारी आयो र गयो पनि। तर गाँठो उस्तै रह्यो।

२७ वर्षीया प्रियंकाले डाक्टरको सल्लाह लिइन्।

‘पहिलो पटक यस्तो परीक्षण गराउँदा मलाई असहज महसुस भइरहेको थियो। तर डाक्टरले ९५ प्रतिशत यस्ता गाँठा हराउने र क्यान्सर हुन नसक्ने बताएका थिए। तर उनले युवा नै भएकाले अल्ट्रासाउन्ड गराउन सुझाव दिए,’ प्रियंकाले भनिन्।

त्यसपछि बायोप्सी गराउने सल्लाह दिइयो। नतिजा, जे नहोस् भन्ने थियो, त्यही नै आयो।

क्यान्सर पत्ता लाग्यो
परीक्षणपछि प्रियंकालाई क्यान्सर भएको पत्ता लाग्यो। ‘मेरो दोस्रो स्टेजको ट्रिपल नेगेटिभ स्तन क्यान्सर पत्ता लाग्यो। यसमा तीन प्रकारका प्रोटीन रिलिज हुन्छन्, जो आक्रामक हुन्छन् र तीव्र गतिमा फैलन्छन्। यसको उपचारका रुपमा मलाई केमोथेरापी गर्ने सल्लाह दिइयो र प्रभावित भागलाई अपरेशन गरेर हटाउने सल्लाह दिइयो,’ उनले भनिन्।

उनी त मानसिक रुपमा आफ्नो रोगको सामना गर्न तयार थिइन्। तर प्रियंकालाई बाबुआमालाई यो खबर कसरी सुनाउने भन्ने तनाव भयो।

उनी भन्छिन्, ‘त्यो मेरालागि सबैभन्दा कठिन समय थियो। मेरो बिहे पनि भएको थिएन। स्तन काटेर हटाउने कुरा उहाँहरुले बुझ्न सकिरहनु भएको थिएन। तर आमाले मेरो कुरा बुझ्नु भयो। पिताले पनि जस्तो चाहन्छौं, त्यही गर भन्न थाल्नुभयो।’

डाक्टरका अनुसार प्रियंकालाई जेनेटिक क्यान्सर भएको थियो। उनको परिवारका ६ जनालाई क्यान्सर भएको थियो।

२०–३० वर्ष उमेरकी युवतीलाई क्यान्सर
अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) का सर्जिकल अंकोलोजी विभागका प्राध्यापक डा एसबीएस देवका अनुसार १० देखि १५ वर्षयता युवतीहरुमा क्यान्सरको समस्या बढ्न थालेको पाइएको छ। अधिकांश ४० वर्षमुनिका महिलामा क्यान्सर देखिएको छ।

पश्चिमी मुलुकमा ४० वर्षपछि महिलामा क्यान्सर देखिने गरेको छ र ५० देखि ६० वर्ष उमेरका महिलामा बढी देखिने गरेको छ। डा देवका अनुसार उनले एकै दिन ५५ वर्षकी आमा र २२ वर्षकी छोरीको स्तन क्यान्सरको शल्यक्रिया गरेका थिए। उनीहरुमा क्यान्सर भएको कुरा पनि एकै दिन पत्ता लागेको थियो।

डा एसबीएस देव

डा देवव्रत आर्य पनि पहिले स्तन क्यान्सर अधिकांश ५० देखि ६० वर्ष उमेर समूहका महिलामा देखिने गरेकोमा अहिले २० वर्षभन्दा माथिका युवतीहरुमा देखिनु निकै असामान्य भएको बताउँछन्।

स्तन क्यान्सरकै विशेषज्ञ रहेका आर्य भन्छन्, ‘तथ्यांकलाई केलाउने हो भने २० देखि ३० वर्षका १० प्रतिशतसम्म महिलामा स्तन क्यान्सर देखिएको छ, जुन प्रतिशतका आधारमा निकै बढी हो।’

इण्डियन काउन्सिल अफ मेडिकल रिसर्च–नेशनल सेन्टर फर डिजिज इन्फोर्मेटिक्स एण्ड रिसर्चले नेशनल क्यान्सर रजिस्ट्री रिपोर्ट २०२० सार्वजनिक गरेको थियो, जसमा सन् २०२० मा क्यान्सरका १३.९ लाख बिरामी हुने र सन् २०२५ मा यो संख्या १५.७ लाख पुग्ने आंकलन गरिएको थियो। यसमध्ये स्तन क्यान्सरका बिरामी १४.८ प्रतिशत अर्थात् ३.७ लाख हुने बताइएको थियो।

सामान्यतः महिलामा स्तन र सर्भिक्स युटेरी क्यान्सरका बढी बिरामी पाइएको छ।

उमेर ३१, गर्भावस्था र क्यान्सर
दिल्लीकी अलिसा ६ महिनाको गर्भवती रहेका बेला एकदिन उनको आँखा स्तनमा विकसित भइरहेको एउटा गाँठामा प¥यो। उनलाई शंका लाग्यो।

स्त्रीरोग विशेषज्ञलाई उनले देखाइन्। डाक्टरले यो दुधको ग्रन्थी हुनसक्ने बताइन्। ६ वर्षपछि गर्भवती हुँदा यस्ता दुध ग्रन्थी बन्न सक्ने डाक्टरले बताएपछि अलिसा ढुक्क भइन्।

तर त्यो डल्लो बिस्तारै बढ्न थाल्यो। भन्छिन्, ‘यसबारे हामी निकै सचेत थियौं, किनकि मेरी आमालाई पनि क्यान्सर थियो। गुगल गरेर सर्च गर्दा गर्भावस्थामा ९९.९ प्रतिशत क्यान्सर नहुने र यस्तो ग्रन्थी बन्नु स्वाभाविक भएको उल्लेख गरिएको भेटेँ।’

तर गर्भावस्थाको नौ महिना पुग्दा नपुग्दै उनको हात र काँखीमा दुख्न थाल्यो र ज्वरो पनि आउन थाल्यो। गर्भावस्थामा ज्वरो आउनु ठीक होइन। उनले डेटअघि नै बच्च जन्माइन्।

उनले भनिन्, ‘मेरो छोरा जन्मियो। उसलाई चुसाउँदा चुसाउँदा त्यो ग्रन्थी नरम हुन थाल्यो। त्यतिबेला लाग्यो–यो दुध ग्रन्थी नै थियो। तर १५ दिनपछि फेरि बढ्न थाल्यो र स्तनको दुई तिहाई भाग ढुंगाजस्तो कडा हुन थाल्यो र दुध आउनै बन्द हुन थाल्यो। डाक्टरले थप परीक्षण गर्ने सल्लाह दिए।’

उनी गुजरातमा बस्थिन् र आमा दिल्लीमा क्यान्सरपीडितका लागि गठन भएको संस्था इण्डियन क्यान्सर सोसाइटी नामक संस्थामा काम गर्थिन्। अलिसा आमाको सल्लाहअनुसार ४० दिनको बच्चालाई लिएर दिल्ली गइन्।
परीक्षणबाट पत्ता लाग्यो–क्यान्सर रहेछ। उनको क्यान्सर तेस्रो स्टेजमा पुगिसकेको रहेछ र फैलिइसकेको रहेछ।

डाक्टरले केमोथेरापीको सल्लाह दिए। पहिला ६ केमोथेरापी र त्यसपछि औषधि खाने सल्लाह दिइयो।

त्यो दिन सम्झँदै उनी भन्छिन्,‘मेरो कान्छो भाइको बिहे थियो, म टाउकोमा बिग लगाएरै बिहेमा सामेल भएँ।’

किन बढिरहेछ युवामा क्यान्सर
डा देवका अनुसार युवा महिलामा स्तन क्यान्सर बढ्नुको यकिन कारण थाहा छैन। युवामा जीवनशैली मुख्य कारण हो र अर्को कारण आनुवंशिक हो, जसको परिवारका सदस्यलाई क्यान्सर भएको छ, आगामी पीढीलाई पनि क्यान्सर हुने सम्भावना हुन्छ।

डा आर्य भने २० देखि ३० वर्ष उमेर समूहका महिलामा स्तन क्यान्सर बढ्नुको कारण जीवनैशली नभएर आनुवंशिक बताउँछन्।

हलिउड अभिनेत्री एन्जेलिना जोलीलाई स्तन क्यान्सर देखियो। त्यसबाट बँच्न उनले एउटा क्यान्सर काटेर हटाइन्। उनको आमामा पनि क्यान्सर थियो। उनमा पनि आमाको जीन फेला प¥यो र आनुवंशिक परीक्षणबाट यो कुरा थाहा भएपछि उनले अर्को स्तन पनि हटाउने निर्णय गरिन्।

युवतीमा क्यान्सर हुँदा के असर पर्छ?
चिकित्सकका अनुसार क्यान्सरमा चलाइने केमोथेरापीले महिलाको प्रजनन क्षमतामा असर पर्न सक्छ। यसैले उपचारका क्रममा महिला बच्चा जन्माउन सक्छन् भने कति वर्षपछि गर्भवती हुन सुरक्षित हुन्छ भनेर हेर्ने गरिन्छ।

यस्तै, कैयौं अवस्थामा केमोथेरापीले गर्भाशय र अण्डाशयमा पनि असर गर्न सक्छ। यस्तो अवस्थामा उनीहरुलाई गर्भाशयलाई संरक्षण गर्ने सल्लाह दिइन्छ। बिरामी निको भएपछि दुई तीन वर्षपछिमात्र बच्चा जन्माउने योजना गर्न सकिन्छ।

धेरैजसो महिला स्तन काटेर फाल्नुको विकल्प स्तन संरक्षण सर्जरी गर्ने प्रयास गर्छन्।

चिकित्सकहरुले जेनेटिक टेस्टका क्रममा पोजिटिभ पाए र अर्को स्तन सामान्य छ भने पनि हटाउने सल्लाह दिन्छन्। किनभने, यदि जिन म्युटेसन भइरहेको छ भने अर्को स्तन पनि प्रभावित हुने सम्भावना हुन्छ। यस्तोमा दुवै स्तन हटाइन्छ।

कसरी थाहा पाउने स्तन क्यान्सरको लक्षण?
स्तनमा लम्प या गाँठा हुनु स्तन क्यान्सरको आम लक्षणमा एक हो। यस्तो अवस्था महसुस भए तत्काल मेडिकल परीक्षण गर्नु जरुरी हुन्छ। स्तनमा कुनै पनि प्रकारको सुन्निएको अवस्था छ भने लापरवाही गर्नुहुन्न। यस्तो अवस्था पूरै स्तनमा छ भने अझै सचेत हुनुपर्छ।

स्तनको छालामा कुनै पनि प्रकारको परिवर्तन, पोल्ने, रातोहुने, छाला कडा हुने, निप्पलबाट बाक्लो पदार्थ निस्के, भित्र धस्सिएको छ या दुख्ने छ भने पनि मेडिकल जाँच गराउनुपर्छ।

डाक्टरहरु परिवारका कुनै सदस्यलाई क्यान्सर भएको हिस्ट्री छ भने २५वर्षको उमेरपछि स्क्रीनिङ र जेनेटिक परीक्षण गराउने सल्लाह दिन्छन्। बीबीसीबाट

  • ३० जेष्ठ २०७९, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech