आफ्नै भोगाईले पेडियाट्रिक नर्सिङ रोजेकी सृजना 

    • स्वास्थ्य पेज

  • १४ जेष्ठ २०७९, शनिबार

नेपालगन्जः गर्भमा आठ महिनाको शिशु हुँदा सृजना भोमीले ब्याचलर अफ नर्सिङको अध्ययन सुरु गर्नुभयो ।

अध्ययनकै क्रममा भोमीले पहिलो सन्तानलाई जन्म दिनुभयो । शतप्रतिशत उपस्थिति पुर्‍याउनुपर्ने भएकाले उहाँले पर्याप्त मात्रामा आराम गर्न पाउनुभएन । अध्ययनका क्रममा उहाँले २० दिन बिदा पाइन्। त्यो पनि ‘विन्टर भ्याकेसन’को समय भएकाले २० दिनको बिदा पाएको उहाँ बताउनुहुन्छ।

भन्नुहुन्छ–‘६ वर्षपछि मैले ब्याचलर जोइन गरेकी थिए। पढाई र परिवारसँगै लैजानुपर्ने थियो। अहिले पनि सम्झियो भने रुन मन लाग्छ। पढ्दा पढ्दै डेलिभरी भयो। सय प्रतिशत उपस्थिति पुर्‍याउनुपर्थ्यो।’

बिहान ८ बजेदेखि दिउसो ४ बजेसम्म कक्षामा बस्नुपर्थ्यो। घर भक्तपुर अनि पढाई वीर अस्पतालको नर्सिङ कलेजमा थियो। उहाँले आफ्नो बच्चालाई राम्रोसँग स्तनपान समेत गराउन नपाएको बताउनुभयो ।

‘कलेज गएर क्लिनीकल ड्युटी गइसकेपछि पनि स्तनपानका लागि घर जान पाइँदैन थियो। बिहान ८ देखि ४ बजेसम्म कक्षामा बस्नुपर्दा दूध बगेर जान्थ्यो’ उहाँले भन्नुभयो ।

पढाईसँगै परिवार अनि बच्चालाई हुर्काउनु उनको लागि ठूलो चुनौती थियो। तापनि उहाँले आफ्नो अध्ययन पुरा गर्नुभयो ।

ब्याचलरको अध्ययन सकेपछि उनको पोस्टिङ त्रिवि शिक्षण अस्पतालको न्यू बोर्न केयरमा भयो। त्यहाँ उनले विभिन्न अभिभावकको समस्या, दुख देखिन्। जुन उहाँले आफैँ भोगेर आउनुभएको थियो ।

यही भोगाई र अनुभवका कारण उनले मास्टरमा पेडियाट्रिक (बाल चिकित्सा) नर्सिङको अध्ययन छनोट गर्नुभयो ।

‘मेरो बच्चा भएको बेला मैले पाएको दुः ख मलाई थाहा छ। अभिभावकलाई कस्तो समस्या हुँदो रहेछ ? बच्चाको समस्या कसरी पहिचान गर्ने भन्ने कुरा मन गढ्यो’ उहाँले भन्नुभयो–‘आफ्नै अनुभवले गर्दा मैले पेडियाट्रिक नर्सिङ छनोट गरेँ।’

भक्तपुरको महालक्ष्मीस्थानमा जन्मिएकी भोमीले सरकारी विद्यालयबाट एसएलसी उत्तीर्ण गर्नुभयो ।

पहिलेबाटै रुचि भएर उहाँ नर्सिङ क्षेत्रमा भने आउनुभएको होइन्। आइएससी सकिएपछि के पढ्ने भन्दा उहाँसँगैका साथीहरुले नर्सिङ पढ्ने निधो गरेपछि उहाँले पनि सुरु गर्नुभयो । तर पढ्दै जाँदा भने उहाँलाई नर्सिङ क्षेत्रमा चासो र रुचि बढ्दै गयो।

२० वर्षको उमेर (२०५७ साल)मा उहाँले त्रिवि शिक्षण अस्पतालमा दैनिक ज्यालादारीमा काम सुरु गर्नुभयो । तर त्यो बेला उहाँलाई दैनिक ज्यालादारी के हो भन्ने कुरा पनि जानकारी थिएन। एक दिन बिदा नलिइकन उहाँले निरन्तर ६ वर्षसम्म काम गर्नुभयो । ६ वर्षको ज्यालादारी कामपछि मात्र उहाँ २०६२ सालमा स्थायी हुनुभएको हो ।

 

  • १४ जेष्ठ २०७९, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech