कोहलपुरको भरैयामा रेविज रोग लागेको बाख्रो मारेर मासु खाएपछि गाउँनै आतंकित

    • प्रियास्मृति ढकाल

  • ७ जेष्ठ २०७९, शनिबार

नेपालगन्जः बाँकेको कोहलपुरमा रेविज रोग लागेको बाख्रो मारेर मासु खाँदा एउटा गाउँनै आतंकित भएको छ ।

कोहलपुर नगरपालिका–१३ भरैयाका स्थानीयले रेविज लागेको बाख्रो मारेर खाएका थिए ।

भरैया गाउँ पुगेर फर्कनुभएकी पूर्वमन्त्री आरती पौडेलले स्वास्थ्य पेजलाई दिएको जानकारी अनुसार विहीबार उनीहरुले रेविज रोग लागेको बाख्रा मारेर मासु खाएका थिए । उक्त बाख्राको मासु ३०–३५ जनाले खाएको खुलेको छ ।

पूर्वमन्त्री पौडेलले पशु सेवा कार्यालयका कर्मचारीलाई उध्रृत गर्दै दिएको जानकारी अनुसार विहीबार उक्त बाख्रालाई खोप लगाउन पशु स्वास्थ्य शाखा कोहलपुरमा लगिएको थियो ।

तर कर्मचारीले रेविज फैलिसकेकाले खोप लगाउनु भन्दा बाख्रालाई मारेर गाड्न सुझाव दिए । बाख्राधनीले बाख्र्रा मार्नुको साटो भरैयाको जंगलमा लगेर छाडे ।

जंगलमा छाडिएको उक्त बाख्रो भरैयाँ गाउँका बाख्रासँग मिसिएर गाउँमा पस्यो । उक्त बाख्रोले मान्छेलाई टोक्ने गर्न थालेपछि स्थानीयले मारे ।

र, साँझ बाँडचुड गरेर मासु खाए । मासु भागबन्डा गर्नेक्रममा बचेको हाडहड्डी गाउँका कुकुरलाई बाँडिदिए । गाउँलेले बाख्रो मारेर मासु खाएको कुरा पशु स्वास्थ्य शाखाका कर्मचारीसँग फैलिएपछि घटनाबारे सार्वजनिक भएको हो ।

बाख्राधनीको पहिचान हुन सकेको छैन । बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले घटनाको पुष्टि गर्दै स्वास्थ्यकर्मीको टोली खटाइसकिएको जानकारी दिनुभयो ।

 

  • ७ जेष्ठ २०७९, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech