गर्मीकाे औषधि सातु र सर्वत

    • स्वास्थ्य पेज

  • २४ बैशाख २०७९, शनिबार

मलाई याद छ, गिँजाबाट रगत निस्कँदा हजुरआमा कागती–पानी खानुहुन्थ्यो। अमलाको सानो–सानो टुक्रा चुसिरहनुहुन्थ्यो। हजुरआमाको भान्छामा अमला सधैं हुन्थ्यो। त्यो बेला अमला बारीमा पाइन्थ्यो। अमला खाएर पानी पिए रगत बढ्छ भन्ने गरिन्थ्यो। अमला खाएपछि पानी पिउँदा गुलियो हुने भएकाले हामी खान्थ्यौं पनि। बजारमा किन्दा पनि १० पैसाको २, ३ वटा अमला पाइन्थ्यो। अमला खाँदा भिटामिन सी पाइन्छ र यसले रोगसँग लड्ने शक्ति बढाउँछ भन्ने वैज्ञानिक ज्ञान नभए पनि स्वास्थ्य राम्रो पार्छ भन्नेचाहिँ बज्यैलाई थाहा रहेछ। बज्यै भन्नुहुन्थ्यो, ‘कागती, अदुवा र अमला भएको घरमा रोग पस्न पाउँदैन।’

अहिले हामी सबैको भान्छामा कागती, अदुवा र अमला पाइए पनि यसको राम्रोसँग प्रयोग गर्नचाहिँ सकिएको छैन वा जानिएको छैन। गर्मी लाग्यो, अब सबैले मानव स्वास्थ्यलाई खराब पार्ने, मुटुको रोग लगाउने, मोटो पार्ने चिसो पेय पदार्थ वा बजारमा राखिएको फलफूलको बिग्रेको रस खान सुरु गर्छन्। साना–साना बालबालिकालाई पनि माया गरेर यस्ता वस्तु दिन्छन्। आमाबुबालाई थाहा हुँदैन कि उनीहरूले यस्तो पेय पदार्थ दिँदा महंगो तर बालबालिकालाई ‘मन्दविष’ दिइरहेका छन्। यस्ता मातापितालाई म भन्छु-अब गर्मी लागेको छ, साना नानीलाई साँच्ची नै माया गर्नुहुन्छ भने कागतीको सर्वत बनाएर, सातुसंग खान दिनुस्, पुदिनाको अचार दिनुस्, अमला खान दिनुस्।

वैद्य पसलमा पाइने त्रिफलाको एउटा महत्त्वपूर्ण तत्त्व अमला हो। त्रिफला कब्जियत कम गर्नका लागि काम लाग्छ। कति जनाले त्रिफला भिजाएर पनि प्रयोग गर्छन्। त्रिफलाले शरीरको रोग प्रतिरोध शक्ति बढाउँछ। धेरैले सुनेको च्यवनप्राशको एक महत्त्वपूर्ण तत्त्व पनि अमला हो। अमला र कागती दुबैमा रहेको भिटामिन सी नष्ट नहोस् भनेर चाहिँ विचार गर्नैपर्छ। धेरै तातोले भिटामिन सी नष्ट गर्छ। त्यसैले लेमन टी बनाउँदा, चिया बनाएर गिलासमा हालेर मात्र कागती निचोर्नु उत्तम हुन्छ। अमलालाई पनि सकेसम्म धेरै नपकाएर नै खानु वेश हुन्छ।

सजिलो उम्रिने र पाइने पुदिना (बाबरी) पनि एक उत्तम औषधी हो। ‘पुदिना हरा’ किनेर पेटको गडबडी ठीक पार्नेहरूले बारीको पुदिना किन प्रयोग नगर्ने? धनियाँ र पुदिना पिसेर अचार बनाउँदा स्वास्थ्य र स्वाद दुवै पाइन्छ। गर्मीमा पुदिनाको चिया खान सकिन्छ। सहजै तरिकाले पाइने र गर्मीमा शीतलता दिने वस्तु अक्षय तृतीयाको दिन सुरु गरेर वर्षैभरि प्रयोग गरौं।

  • २४ बैशाख २०७९, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech