कमरुद्दिन राईको प्रतिबद्धताः ‘भेन्टिलेटर सहितको निःशुल्क एम्वुलेन्स देखि विशेष उपचार कोषसम्म’

    • स्वास्थ्य पेज

  • २३ बैशाख २०७९, शुक्रबार

नेपालगन्जः नेपाली काँग्रेस र जनता समाजवादी जसपाको गठबन्धनबाट उपप्रमुख पदका उम्मेदवार कमरुद्दिन राईको प्रतिबद्धतापत्र आज सार्वजनिक गरिएको छ ।

जनता समाजवादी पार्टी नेपालगन्जका नगर अध्यक्ष श्रवणकुमार यादवको सभापतित्वमा भएको प्रतिबद्धतापत्र सार्वजनिक कार्यक्रममा नगरप्रमुख पदका उम्मेदवार प्रशान्त विष्ट, उपप्रमुख पदका उम्मेदवार कमरुद्दिन राई, निर्वाचन परिचालन तथा सचिवालय समिति नेपालगन्जका संयोजक डा.सुरेश कुमार कनोडिया, नेपालगन्जका उपप्रमुख उमा थापामगर, जसपाका केन्द्रीय सदस्य हिक्मत विक लगायतले प्रतिबद्धता पत्र सार्वजनिक गर्नु भएको हो । राईको प्रतिबद्धता पत्रमा स्वास्थ्य क्षेत्रमा ८ वटा बँुदा समेटिएको छ ।

प्रत्येक वडाका स्वास्थ्य स्वास्थ्य सस्थाहरुमा दक्षजनशक्ति, आधुनिक प्रयोगशाला लगायतका नेपाल सरकारले निर्धारण गरेको मापदण्डमा रहेर निःशुल्क रुपमा औषधि वितरण तथा आपूर्तिमा नियमितता गरिने उल्लेख गरिएको छ । आफु निर्वाचित भए नेपालगन्ज उपमहानगरपालिकाले भेन्टिलेटर सहितको एम्बुलेन्स संचालन गर्ने, वडाहरुको वर्गिकरण गरि निःशुल्क एम्वुलेन्सको व्यवस्था गरिने राईको प्रतिबद्धतापत्रमा उल्लेख छ ।

जेष्ठ नागरिकको उपचार पूर्णरुपमा निःशुल्क गरी उपमहानगरपालिकाले जिम्मा लिने, घरघरमा प्राथमिक स्वास्थ्य उपचार पुर्याउने व्यवस्था गरिने, उपमहानगरपालिकास्तरमा कार्यरत स्वास्थ्य स्वयम सेविकाहरुको उच्च मूल्यांकन गर्दै उनीहरुले प्राप्त गर्दै आएको सेवा सुविधामा प्रोत्साहन गरिने कुरामा जोड दिइएको छ ।

यस्तै उपमहानगरपालिका स्तरको जनसंख्यालाई विभिन्न वर्गमा सूचिकृत गरी वर्ग अनुसार गर्भवति महिला र नवजात शिशुलाई पोषण भत्ताको व्यवस्था गरिने, दीर्घरोगको उपचारका लागि विशेष उपचार कोष खडा गरिने लगायतका कुरा प्रतिबद्धता पत्रमा समेटिएको छ ।

  • २३ बैशाख २०७९, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech