गोबिन्द रेग्मीको प्रतिबद्धता: जेष्ठ नागरिकहरुलाई ३/३ महिनामा घरमै पुगेर स्वास्थ्य सेवा

    • स्वास्थ्य पेज

  • २३ बैशाख २०७९, शुक्रबार

नेपालगन्ज – नेकपा एमालेका तर्फबाट नेपालगन्ज उपमहानगरपालिका वडा नं ९ का अध्यक्ष पदका उम्मेदवार गोबिन्द रेग्मीले वडामा रहनुभएका जेष्ठ नागरिकहरुलाई ३/३ महिनामा घरमै पुगेर स्वास्थ्य सेवा प्रदान गर्ने योजना अगाडी सार्नु भएको छ । जेष्ठ नागरिकहरुको स्वास्थ्यमा विशेष ख्याल राख्न घर घरमै स्वास्थ्यकर्मीको टोली पठाई नि:शुल्क रुपमा स्वास्थ्य जाँचको व्यवस्था गर्ने उहाँको योजना छ ।

वडामा रहेका स्वास्थ्य चौकीलाई पुर्वाधारयुक्त बनाई सुलभ र नि:शुल्क स्वास्थ्यमा पहुँचका कार्यक्रम सञ्चालन गरिने रेग्मीको प्रतिबद्धता छ । वडामा आफु सहितको टिम निर्वाचित भएर आए छोरीका लागि १ लाख बराबरको जीवन बिमा गरिने रेग्मीले सुनाउनुभयो । आर्थिक रुपले विपन्न, सिमान्तकृत, पछाडि पारिएका दलित, अल्पसंख्यक समुदायका सुत्केरी महिलाहरुका लागि निश्चित सन्तुलन आहारको व्यवस्था गर्ने योजना रेग्मी सहितको टिमको छ ।

त्यस्तै अध्यक्ष पदका उम्मेदवार रेग्मीले वडा भित्रको फोहर मैलालाई नियमित रुपमा विसर्जन गर्ने प्रबन्ध गरी सफा र स्वस्थ वडाको आवधारणा लागु गर्ने बताउनुभएको छ ।

यसैबिच स्वास्थ्यमा विशेष चासो दिईने भन्दै रेग्मीले दुव्येसनीमा फसेका युवाहरुलाई स्वस्थ्य राख्न खेलकुद तर्फ आर्कषित गर्ने योजना रहेको बताउनुभएको छ । युवाहरु कुलतमा फस्दा विकासमा समेत पछि परेको भन्दै नमुना वडाका लागि युवाहरुलाई समेत स्वस्थ्य राख्ने र व्यस्त बनाउने योजना अगाडी सारिएको उहाँले बताउनुभएको हो ।

स्वास्थ्य पेजसँगको कुराकानीमा रेग्मीले भलिबल कोर्ट, ब्याटमिन्टन कोर्टहरुको निर्माण साथै जिम खाना बनाएर युवाहरुलाई खेलकुदको माध्यमबाट स्वस्थ्य राख्ने लक्ष्य राखिएको समेत सुनाउनुभयो । नागरिकलाई स्वस्थ्य राख्न योगमा विशेष ध्यान दिईने र योग शिबिरहरु राखिने रेग्मी सहितको टिमले जनाएको छ ।

नेपालगन्ज उपमहानगरपालिका वडा नं ९ अन्तर्गत नेकपा एमालेबाट अध्यक्षमा गोबिन्द रेग्मी सहित वडा सदस्य पदमा सीमा केसी, मीना नेपाली, जयन्ती खत्री र ज्ञानबहादुर लामा चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । चुनावी घरदैलो अभियान पूरा भएपछि उत्साहित देखिएका रेग्मीले मतदातालाई मत हाल्न सिकाउँदै पुनः घरदैलो सुरु गरिएको जानकारी दिनुभएको छ ।

  • २३ बैशाख २०७९, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech