गर्भ किन खेर जान्छ ?

    • स्वास्थ्य पेज

  • ९ बैशाख २०७९, शुक्रबार

आफू आमाबाबु भएको र आफूसँग स्वस्थ शिशु खेलेको हेर्ने रहर हरेक विवाहित जोडीको हुन्छ। तर, गर्भ तुहिने अथवा खेर जाने समस्याले धेरैको यो सपना तुहाउन सक्छ।

अहिले नेपालमा १५ देखि २० प्रतिशत महिलाको गर्भ खेर जाने गरेको विभिन्न अध्ययनले देखाएका छन्। व्यक्तिको लापरवाही, विभिन्न रोग, शारीरिक अवस्था आदिका कारण गर्भ खेर जान सक्छ।

सामान्यतया गर्भ रहेको २०औं हप्ताभन्दा अगाडि मिसक्यारेज अथवा गर्भ खेर जान सक्छ।पहिलो तीन महिनामा विभिन्न कारणले हरेक महिलाको गर्भ जाने सम्भावना रहन्छ । गर्भधारणको पहिलो चरण अर्थात् पहिलो २० दिनमा महिलाहरुलाई आफू गर्भवती भएको थाहा नै हुँदैन । यस समयमा महिलाहरु सजग नहुँदा गर्भ जाने सम्भावना बढी रहन्छ । त्यसैले गर्भ रहेनरहेको बारे महिलाहरु सजग हुनु जरुरी छ।

गर्भ खेर जानुका मुख्य कारण

पहिलो तीन महिनामा भ्रूणको अवस्था कमजोर र असामान्य भएमा गर्भ खेर जान सक्छ। तर दोस्रो तीन महिनामा भने गर्भवती महिलाको आहारविहार र पालनपोषण राम्रो नभएमा नै गर्भ खेर जाने गर्छ। जिनसम्बन्धी समस्या, सालनालको अवस्था, योनिमा लगातार संक्रमण हुनु, गलत औषधि खानु आदि गर्भ जानुका कारण हुन्।

प्रथम त्रैमासमा ९० प्रतिशत गर्भ खेर जानुको कारण जिनसम्बन्धी समस्या हो। धेरै भागदौड गर्नु, खानपिनमा ध्यान नदिनु, शरीर र गर्भलाई दबाब पर्ने काम गर्नु, एक बच्चा जन्माइसकेपछि छिटै अर्को गर्भ रहनु आदि गर्भ खेर जानुका कारण हुन्।

गर्भ खेर जानुका लक्षण 

गर्भ खेर जानुका धेरै लक्षण छन्। यस्ता लक्षण हरेक महिलामा देखिनै पर्छ भन्ने चाहिँ कुनै जरुरी छैन।

गर्भ खेर जाँदा भेजाइनल डिस्चार्ज अर्थात् योनिबाट गाढा रातो रङको रगत आउन थाल्छ । यो धेरै दिनसम्म आइरहन सक्छ। तर कतिपय अवस्थामा गर्भ रहे पनि हल्का रक्तस्राव हुनु सामान्य नै मानिन्छ। तथापि, सुरक्षित गर्भावस्थाका लागि यस्ता लक्षण देखिएमा डाक्टरलाई सम्पर्क गर्नु नै उपयुक्त हुन्छ।

गर्भ रहिसकेपछि महिलालाई मासिक धर्मको अवस्थामा भन्दा पनि बढी पीडा भएमा गर्भ खेर गएको हुन सक्छ । गर्भावस्थाको समयमा पेटको तल्लो भागमा बढी पीडा भएमा यसले भ्रूण निष्कासित हुने सम्भावना रहेको संकेत गर्छ । कहिलेकाहिँ ऐंठन अथवा पीडाका कारण सास फेर्न पनि गाह्रो हुन्छ। यो पनि गर्भ खेर जानुको लक्षण हो।

गर्भ खेर गएमा के गर्ने ? 

यदि गर्भ खेर गएको लक्षण पहिलो अथवा दोस्रो त्रैमासमा देखिएमा डाक्टरले बेड रेस्टको सल्लाह दिन सक्छन्। गर्भ खेर गएको छ भने शरीर पूर्ण स्वस्थ नभएसम्म कडा व्यायाम र सम्भोगबाट बच्नुपर्ने पनि हुन सक्छ।

यो गर्भ खेर जान रोक्ने उपाय नभए पनि पुनः गर्भ रहेको अवस्थामा खेर जाने खतरालाई भने यसले टार्न सक्छ।

गर्भ खेर जाने समस्याबाट बच्ने तरिका ?

यदि गर्भ खेर जाने शंका भएमा पाठेघरको मुख  खुला छ कि बन्द छ भन्ने पत्ता लगाउन सकिन्छ। डाक्टरले गर्भाशयको परीक्षण र आकारको मापन गर्छन् । गर्भ खेर जाने सम्भावना रहेमा पाठेघरको मुख सामान्यतया खुला रहन्छ र भ्रूण धेरै समय जीवित रहन सक्दैन । यदि पहिले नै गर्भ खेर गइसकेको छ भने पाठेघरको मुख खुला अथवा बन्द हुन सक्छ।

गर्भाशयबाट सम्पूर्ण भ्रूण र सालनाल निस्किसकेको छ कि छैन भन्ने कुरामा यो निर्भर रहन्छ । रगतको परीक्षण गरी भ्रूण अथवा सालनाल गर्भमा रहेनरहेको बारे थाहा पाउन सकिन्छ । यदि महिलामा हार्मोनको कमी छ भने गर्भ खेर जान सक्छ । अल्ट्रा साउन्ड परीक्षण गरी हरेक अवस्थामा भ्रूण छ-छैन भनी परीक्षण गर्न सकिन्छ । यसबाट भ्रूणको मुटुमा ढुकढुकी छ कि अथवा भ्रूणको मृत्यु भइसकेको छ भन्ने थाहा हुन्छ ।

गर्भ खेर जानबाट बच्न कठिन काम नगर्ने, शरीरलाई आराम दिने, लामो यात्रा नगर्ने, शरीरलाई सजिलो हुने जुत्ता–चप्पल र कपडा लगाउन आवश्यक छ । यसले शरीरलाई दबाब पर्दैन र गर्भ सुरक्षित रहन सक्छ ।

  • ९ बैशाख २०७९, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech