स्वास्थ्य बीमाको आवश्यकता र महत्व (बाँकेमा सेवा प्रदायक स्वास्थ्य संस्थाहरु)

आज छैटाैँ स्वास्थ्य बीमा दिवस : झन्डै ५३ लाख नागरिक स्वास्थ्य बीमाको पहुँचमा


    • सुनिल पंगेनी

  • २५ चैत्र २०७८, शुक्रबार

नेपालगन्ज: पाँच वर्षअघि लागू भएको स्वास्थ्य बीमा कार्यक्रममा अहिलेसम्म झन्डै ५३ लाख नागरिक सहभागी भएका छन् । ती बिमितमध्ये २० लाख ८९ हजारले बीमामार्फत स्वास्थ्य सेवा लिएका स्वास्थ्य बीमा बोर्डले जनाएको छ ।

स्वास्थ्य बीमा कार्यक्रमबाट अहिलेसम्म १७ अर्ब रुपैयाँ स्वास्थ्य उपचारमा खर्च भएको छ । स्वास्थ्य बीमा बोर्डले १७ अर्ब रुपैयाँ भुक्तानी गरे पनि यो अवधिमा देशभरका चार सय ४१ अस्पतालले भने २४ अर्ब २५ करोड १८ लाख रुपैयाँको दाबी भुक्तानी माग पठाएका छन् ।

स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा दामोदर बसौलाका अनुसार अस्पतालले २४ अर्ब रुपैयाँको दाबी भुक्तानी माग गरे पनि बोर्डले कागजात मिलेका अस्पताललाई १७ अर्ब रुपैयाँ भुक्तान गरेको हो । ७ सय ५३ मध्ये अहिलेसम्म ७ सय ४५ पालिकामा स्वास्थ्य बीमा कार्यक्रम पुगेको छ ।

स्वास्थ्य बीमा कार्यक्रमबाट अति गरिब, विपन्न, जटिलखालका अपाङ्गता, ७० वर्षमाथिका ज्येष्ठ नागरिक, जटिल क्षयरोगी, कुष्ठरोगी, एचआईभी सङ्क्रमित र महिला स्वास्थ्य स्वयंसेविकालाई बीमा कार्यक्रममा आबद्ध हुन तिर्नुपर्ने योगदान रकममा छुट गरी उनीहरुको परिवार सङ्ख्याका आधारमा वार्षिक एक लाखदेखि दुई लाख रुपैयाँसम्मको निःशुल्क सेवा प्रदान गर्ने व्यवस्था छ ।

अरु परिवारका लागि वार्षिक तीन हजार पाँच सय रुपैयाँ योगदान गरेको आधारमा उपचार सेवा उपलब्ध हुने व्यवस्था गरिएको छ । पाँच जनासम्मको परिवारको तीन हजार पाँच सय बुझाएपछि त्यस घरमा रहेका सदस्यले एक लाख रुपैयाँ बराबरको औषधि उपचार सरकारले तोकेको अस्पतालमा निःशुल्क छ ।

पाँच जनाभन्दा बढी सदस्य भए प्रतिसदस्य थप सात सय बुझाउनुपर्छ । आज छैटौँ स्वास्थ्य बीमा दिवस मनाइँदैछ । ‘तपाईँको स्वास्थ्य हाम्रो अठोट’ नाराका साथ दिवस मनाउन लागिएको हो । दिवसका अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले शुभकामना सन्देश व्यक्त गर्नुभएको छ ।

उहाँले देश विकासको सूचक नागरिकको स्वास्थ्यसँग गाँसिएको भन्दै सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी कार्यान्वयन गर्न लागिपरेको बताउनुभएको छ।

के हो स्वास्थ्य बीमा ?

स्वास्थ्य बीमा कार्यक्रम स्वास्थ्य सेवा उपयोगको क्रममा हुने अनियोजित खर्चको जोखिमलाई अग्रीम ब्यबस्थापन गर्दै वित्तीय संरक्षण प्रदान गर्ने अवधारणा अन्तर्गत सरकारले ल्याएको सामाजिक सुरक्षाको एक महत्वपूर्ण कार्यक्रम हो । 

समस्त नेपाली नागरिकलाई सर्वसुलभ रुपमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न र स्वास्थ्य सेवा उपभोगमा सुधार ल्याउनका लागि सामाजिक स्वास्थ्य बीमाको आधारमा सबैका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्ने उद्देश्यका साथ २०७२ सालमा सामाजिक स्वास्थ्य सुरक्षाका रुपमा शुरुवात भएको यो कार्यक्रम हाल स्वास्थ्य बीमा बोर्डले  संचालन गर्दै आएको छ । 

यस कार्यक्रमले सर्वव्यापी स्वास्थ्यको पहुँच (Universal Health Coverage, UHC) प्राप्ती तर्फ नेपाललाई अग्रसर बनाउँदै सन् २०३० सम्ममा दिगो विकास लक्ष्य प्राप्त गर्न महत्वपूर्ण भूमिका खेल्ने आशा लिएको छ ।

नेपालको संविधानले आधारभूत स्वास्थ्य सेवालाई निशुल्क र सामाजिक सुरक्षाको हक प्रदान गरेको छ । बर्तमान संबिधानको धारा ५१ (ज) मा नागरिकका आधारभूत आवश्यकता सम्बन्धी नीति अन्तर्गत नागरिकको स्वास्थ्य बीमा सुनिश्चित गर्दै स्वास्थ्य उपचारमा पहुँचको व्यवस्था मिलाउने उल्लेख छ ।

गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने नागरिकको अधिकारको संरक्षण गर्न, स्वास्थ्य बीमाद्वारा पूर्व भुक्तानीको माध्यमबाट बिमितको आर्थिक जोखिम न्यूनीकरण गर्न तथा स्वास्थ्य सेवा प्रदायकको दक्षता र जवाफदेहीता अभिवृद्धि गरी स्वास्थ्य सेवामा आम नागरिकको सहज पहुँच सुनिश्चित गर्न स्वास्थ्य बीमा ऐन २०७४ जारी भइसकेको छ । यस कार्यलाई थप ब्यबस्थित गर्न स्वास्थ्य बीमा नियमावली २०७५ समेत पारित हुनु स्वास्थ्य बीमा कार्यक्रमकोलागि एउटा महत्वपूर्ण खुट्किलो हो । 

यस नियमावलीले हालको सुविधाको थैलीलाई दुई गुणाले वृद्धि गर्नुका साथै ज्येष्ठ नागरिकको लागि सरकारले नै बीमा प्रिमियम तिरिदिनेगरी छुट्टै एकाइको रुपमा वार्षिक रु एक लाख बराबरको स्वास्थ बीमाको व्यवस्था गरिएको छ । साथै, संम्पुर्ण संगठित क्षेत्रलाई आम्दानीको एक प्रतिशत योगदान गर्नेगरी बीमामा आबद्ध हुने अनिवार्य व्यवस्था गरिएको छ  

बाँकेमा २०७६ साल जेष्ठ महिनादेखि स्वास्थ्य बीमा कार्यक्रम सुरु भएको हो । तर बीमा दर्ता कार्यक्रम भने ०७५ साल फागुन १६ गते बाटै सुरु भएको हो । अहिलेसम्म जिल्लामा २९ हजार ७ सय १८ घरपरिवार बिमित छन् । ती घरपरिवारका ४० हजार मानिसहरु बीमामा समेटिएका छन् ।

 

बाँकेमा सेवा प्रदायक स्वास्थ्य संस्थाहरु:

-भेरी अस्पताल, नेपालगन्ज

-नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल (नेपालगन्ज – कोहलपुर)

-सुशिल कोइराला प्रखर क्यान्सर अस्पताल खजुरा

-फत्ते बाल आँखा अस्पताल, फुलटेक्रा

-बनकटुवा स्वास्थ्य चौकी

-लक्ष्मणपुर स्वास्थ्य चौकी

-खजुरा स्वास्थ्य चौकी

 

बिमितले पाउने छन् यस्ता सेवा:

-स्वास्थ्य बीमा गरेका बिमितले सबै प्रकारका स्वास्थ्य जाँच, शल्यक्रिया, औषधिलगायतको सेवा पाउँछन् ।

-भेरी अस्पतालले बिमितलाई बीमामा हुने सबै प्रकारका हड्डी, मानसिक, कार्डियोलोज़ी, छाला, पेट, नाक, कान, घाटी, सर्जरी सम्बन्धि रोगमा लगानी खर्चको सुविधा बिमितले सहजै पाउने छन् ।

-फत्तेवाल आँखा अस्पताल नेपालगन्जले बीमा गरेका बिमितलाई आँखा उपचार सेवा प्रदान गर्ने छ ।

सुशील कोइराला प्रखर क्यानसर अस्पताल खजुराले बीमा गरेका बिमितलाई बिमामा हुने क्यान्सर रोगको उपचार सेवा प्रदान गर्ने छ ।

 

यस्तो छ बीमा सुविधा:

बीमा बापतको रकम कुनै रोग विशेषलाई नभई साधन र स्रोतले भ्याएसम्म सबै प्रकारका रोगलाई दिइन्छ।  ओपीडी सेवा,ल्याब, भर्ना, औषधीदेखि लिएर फार्मेसी परामर्शलगायत सेवा पाइन्छ। ‍ यो योगदानमा र आपसी समझदारीमा आधारित कार्यक्रम भएको हुनाले केही पैसा उठाउनु पर्ने हुन्छ। स्वास्थ्य बीमाका लागि प्रतिपरिवारबाट वार्षिक ३ हजार ५ सय लिने गरिएको छ । त्यो बापत वार्षिक १ लाख रुपैयाँसम्मको स्वास्थ्य सेवा पाइन्छ । ५ जनाको परिवारलाई एउटा इकाइ मानिएको छ । ५ जनाभन्दा बढी सदस्य रहेको हकमा प्रति सदस्य अतिरिक्त ७ सय खर्च गरेर वार्षिक १ लाखमा क्रमशस् २० हजारका दरले औषधी उपचारको सुविधा थपिँदै जान्छ।  

                    

योगदान रकम:

-गरीव परिचय पत्र लाई शतप्रतिशत ।

-सत्तरी वर्ष पुगेकालाई शतप्रतिशत ।

-अपाङ्गता,  एच.आई.भी.(HIB), कुष्ट रोग, एम.डी.आर.टिबिलाई शतप्रतिशत ।

 -महिला स्वास्थ्य स्वयंसेविकालाई पचास प्रतिशत ।

सेवा सुविधा लागु हुने समय:

(क) वैशाखदेखि असार महिनासम्म दर्ता वा नवीकरण भए – भदौ एक गतेदेखि

(ख) साउनदेखि असोज महिनासम्म दर्ता वा नवीकरण भए –  मंसिर एक गतेदेखि

(ग) कार्तिकदेखि पुष महिनासम्म दर्ता वा नवीकरण भए –  फागुन एक गतेदेखि

घ) माघ देखि चैत महिनासम्म दर्ता वा नवीकरण भए – जेठ एक गतेदेखि

मुख्य उद्देश्य: 

  • गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच र उपयोगमा सुधार ल्याई सामाजिक स्वास्थ्य बीमाको आधारमा सबैका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्ने 

विशेष उद्देश्य:

  • स्वास्थ्य सेवाका क्षेत्रमा पूर्वभुक्तानी र जोखिम न्यूनीकरणको व्यवस्था गरेर सर्वसाधारणका लागि थप वित्तीय संरक्षण प्रदान गर्ने ।
  • वित्तीय साधनको समतामूलक परिचालन गर्ने ।
  • स्वास्थ्य सेवा प्रवाहका क्रममा सेवाको गुणस्तर, प्रभावकाता, दक्षता र जवाफदेहीतामा सुधार ल्याउने ।

नेपाल सरकारले जारी गरेका कार्यक्रम:

SSU (समाजिक सेवा इकाई) यसमा पनि गरीव बिपन्न अपाड्गता, जेष्ठ नागरिकको सेवा सुविधाको लागि नेपाल सरकारको तर्फबाट यो कार्यक्रम लागू गरिएको छ।

स्वास्थ्य बीमा  नेपाल सरकारको अहिलेसम्मको सबैभन्दा ठूलो र लाभदायिक कार्यक्रम हो । त्यसैपनि स्वास्थ्य बीमा गर्नेको संख्या बढिरहेको छ । बीमा कार्ड भए, बिमितलाई स्वास्थ्य उपचारमा धेरैं हदसम्म राहात पुग्छ ।

बीमा वोर्डलाई सुझाव: 

स्वास्थ्य बीमा कार्डका लागि बिमितलाई सिफारिस फारम अनिवार्य गरिएको छ । त्यसलाई हटाउनु पर्छ । सिफारिस नपाउँदा टाढाबाट आएका बिरामीले अनावश्यक दुःख पाउने गरेका छन् । 

reimbursement समयमा नपठाई दिने गरेका कारण बिरामीलाई सेवा दिन धेरै गाह्रो भइरहेको छ । त्यसतर्फ पनि ध्यान दिन जरुरी छ । 

सबै खाले औषधिको व्यवस्थापन हुन सकिरहेको छैन् । त्यसर्फपनि बीमा बोर्डले सोच्न जरुरी छ । 

स्वास्थ्य बीमा बोर्डको imis server को site busy हुन्छ अनि claim  गर्नको लागि समस्या बढी भइरहेको    server  मा आउने समस्यालाई दीर्घकालिनरुपमा समाधान गरिनु पर्छ ।

(सुनिल भेरी अस्पतालका स्वास्थ्य बीमा फोकल पर्सन हुन्)

  • २५ चैत्र २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech