‘म नेपालगन्जको मेयर भए उपचार अभावमा कसैको ज्यान जाँदैन’

उमेर ढल्कदै गएका नागरिकमा आँखाको विशेष समस्या आउने भएकाले ति नागरिकलाई प्रत्येक महिना वडामै निःशूल्क शिविर आयोजना गरिने र औषधिदेखि आवश्यक चस्मा समेत निःशूल्क प्रदान गरिने राइका चुनावी एजेण्डा छन् ।


    • स्वास्थ्य पेज

  • २४ चैत्र २०७८, बिहीबार

नेपालगन्जः नेपालगन्जमा गर्मी जति तातिदै गएको छ चुनावी गतिविधिपनि त्यतिकै तातिदै गएको छ । आगामी बैशाख ३० गते हुने स्थानीयतहको निर्वाचनका लागि चुनावी सरगमी बढ्दै गएको हो । बाँकेमा पनि चुनावी सरगमी बढेको छ ।

बाँकेमा आठवटा पालिका छन् । ८१ वटा वडा छन् । ती पालिका तथा वडामा नेतृत्वको आकांक्षा राख्नेहरुको चर्चा–परिचर्चा बस्ती, टोल, चियापसलसम्मै हुन थालेको छ । कुन पार्टीले कस्लाई उम्मेदवार बनाउला, चुनाव कस्ले जित्लालगायतका बिषयमा सबैको चासो बढ्न थालेको छ । विशेषगरी नेपालगन्ज उपमहानगरपालिकामा कस्ले बाजी मार्ला धेरैको चासो छ ।

अहिलेसम्म नेकपा एमालेबाट पशुपति दयाल मिश्र र जनता समाजवादी पार्टीबाट कमरुद्दिन राइले मेयरमा लड्ने घोषणासहित चुनावी अभियानमा व्यस्त हुनुहुन्छ । राइ अघिल्लो निर्वाचनमा पनि मेयर पदमा लड्नुभएको थियो । तर पराजित हुनुभयो । पराजित भएपनि उहाँ नगरबासीको घरदैलोमा पुग्ने र नगरबासीको सुखदुःखमा साथ दिइरहनुभयो । निरन्तर आफु चुनावी अभियानमै रहेकाले यो पटक पनि मेयर पदमा लड्न लागेको उहाँको स्पष्टोक्ती छ ।

मेयरमा लड्दै गर्नुभएका उहाँसँग स्वास्थ्यका एजेण्डा के छन ? उहाँको जवाफ थियोे–‘म मेयरमा निर्वाचित भए उपचार अभावमा कुनै पनि नगरबासीले ज्यान गुमाउनु पर्दैन ।’ २०७४ सालको निर्वाचनमा पराजित भएपछि निरन्तर नागरिकको घरदैलोमा व्यस्त हुनुभएका राइलाई विरामी पर्दा नागरिकले भोक्नु परेको समस्याबारे साक्षात्कार हुने अवसर मिल्यो ।

त्यही भएर उहाँले आफ्नो चुनावी एजेन्डामा स्वास्थ्यलाई प्राथमिकता दिनुभएको छ । ‘अहिलेपनि गरिव तथा विपन्न समुदायका मानिसहरु स्वास्थ्यको पहुँचभन्दा बाहिर छन् उहाँले भन्नुभयो–‘सरकारले निःशूल्क दिने औषधि समेत उनीहरुले किन्नु परेको छ । योजस्तो विडम्वना अरु के हुन्छ ?’ उहाँले भेरी अस्पतालले निःशूल्क प्रदान गर्ने औषधि समेत चिकित्सकको लापरवाही र विरामीमा चेतना अभावले बाहिर क्लिनिकमा महंगोमा खरिद गर्नु परेको बताउनुभयो ।

उहाँले आफु निर्वाचित भए अस्पतालसँग समन्वय गरेर विद्यमान देखिएको समस्या हल गरिने बताउनुभयो । उहाँले सरकारबाट पाउनु पर्ने निःशूल्क औषधोउपचार भेरीबाटै प्रदान गर्न सहजिकरण गर्ने र त्यहाँबाट सम्भव नभए नेपालगन्ज उपमहानगरपालिकाबाट निःशूल्क प्रदान गरिने बताउनुभयो ।

उहाँले प्रत्येक वडामा रहेका स्वास्थ्य संस्थामा एमबीबीएस डाक्टरहरु राखिने बताउनुभयो । नागरिकलाई सहज र सरल तरिकाबाट स्वास्थ्य सेवा प्रदान गर्नका लागि ती एमबीबीएस डाक्टरहरुले भूमिका निर्वाह गर्नेछन् ।

नगरका ५० वर्षमाथिका नागरिक र गरिव तथा विपन्न परिवारका व्यक्तिलाई निःशूल्क स्वास्थ्य सेवा प्रदान गरिने उहाँको भनाइ छ । उमेर ढल्कदै गएका नागरिकमा आँखाको विशेष समस्या आउने भएकाले ति नागरिकलाई प्रत्येक महिना वडामै निःशूल्क शिविर आयोजना गरिने र औषधिदेखि आवश्यक चस्मा समेत निःशूल्क प्रदान गरिने राइका चुनावी एजेण्डा छन् ।

स्वास्थ्य सेवा पाउनु सबै नागरिकको दायित्व हो । तर राज्यले त्यो दायित्व निर्वाह गर्न नसकेको राइको बुझाइ छ । त्यही भएर आफुले स्वास्थ्यजस्तो मानवीय सेवालाई प्राथमिकता दिएर चुनावी एजेण्डा बनाएको बताउनुभयो ।

 

  • २४ चैत्र २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech