आज विश्व स्वास्थ्य दिवस मनाइँदै

    • स्वास्थ्य पेज

  • २४ चैत्र २०७८, बिहीबार

काठमाडौं: ‘स्वच्छ वातावरण, स्वस्थ नेपाली’ भन्ने नाराका साथ आज विश्व स्वास्थ्य दिवस मनाइँदै छ।

वातावरण र स्वास्थ्यबीचको अन्तरसम्बन्धमा केन्द्रित हुँदै यस वर्ष स्वच्छ वातावरण, स्वस्थ नेपाली भन्ने नारा तय गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

जलवायु परिवर्तनको बढ्दो र विनाशकारी प्रभावका कारण जलवायु संकटले मानिसहरुको स्वास्थ्य र जीवनमा प्रत्यक्ष प्रभाव पारिरहेको छ भन्दै वातावरणीय स्वास्थ्य र मानिसको स्वास्थ्य अलग रहन नसक्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ।

मन्त्रालयले दिएको जानकारी अनुसार विश्वमा दस मध्ये नौ जनाले प्रदूषित हावामा श्वास फेर्छन् र यसका कारण हरेक वर्ष ७० लाख मानिसको ज्यान जाने गरेको छ । विश्वमा २ अर्ब मानिस सुरक्षित पिउने पानी र ३ दशमलब ६ अर्ब मानिस सुरक्षित सरसफाईको अभावमा छन्। प्रत्येक वर्ष प्रदूषित पानी र उचित सरसफाईको अभावका कारण हुने झाडापखाला रोगबाट ८ लाख २९ हजार मानिसको ज्यान जाने गरेको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

नेपालमा बर्षेनी वायु प्रदूषणबाट ३७ हजार ६८३ जनाको र सूर्तीजन्य रोगका कारण २७ हजार १०० को अकालमै मृत्यु हुने गरेको छ ।

विश्व स्वास्थ्य संगठनको अनुमान अनुसार प्रत्येक वर्ष संसारभर १३ लाख भन्दा बढी मानिसहरुको मृत्यु नियन्त्रण गर्न सकिने वातावरणीय कारणहरुले गर्दा हुने जनाइएको छ।

नेपाल जलवायु परिवर्तनको सन्दर्भमा उच्च जोखिममा रहेको मुलुक भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

देशमा वायु प्रदूषण, जलवायु परिवर्तन प्रेरित प्रकोपहरु (बाढी, खडेरी, अत्याधिक गर्मीका कारण हुने बन डढेलो) र असुरक्षित पानीको प्रयोग मृत्यु र रोगलाई बढावा दिने प्रमुख कारकहरु भएको जनाइएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जलवायु परिवर्तनबाट मानिसको स्वास्थ्यमा पर्ने असरहरुलाई सम्बोधन गर्नका लागि विभिन्न कदमहरु चालेको जनाएको छ। मन्त्रालयले राष्ट्रिय स्वास्थ्य अनुकूलन योजना कार्यान्वयन गरी स्वास्थ्य क्षेत्रको जोखिम र अनुकूलन मूल्यांकनका आधारमा परिमार्जनको चरणमा रहेको जनाएको छ।

यस्तै राष्ट्रिय स्वास्थ्य नीति, जनस्वास्थ्य सेवा ऐन र नेपाल स्वास्थ्य क्षेत्र रणनीति लगायतले वातावरणीय स्वास्थ्यसँग सम्बन्धित मुद्धाहरुलाई सम्बोधन गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलेसन २०२१ मा ग्लस्गोमा भएको संयुक्त राष्ट्रसँग जलवायु परिवर्तन सम्मेलनमा जलवायु परिवर्तनले मानव स्वास्थ्यमा पार्ने असरलाई सम्बोधन गर्दै जलवायु उत्थानशील र न्युन कार्बन स्वास्थ्य प्रणालीको बिकास गर्ने प्रतिवद्धता जनाएको थियो।

नेपालले पेन्टमा हुने सिसाको मात्रा ९० पीपीएम तोकेर बाध्यकारी मापदण्ड लागु गरी र यसको कार्यान्वयनमा महत्वपूर्ण प्रगती भएको जनाएको छ।

मर्करीको प्रयोगबाट स्वास्थ्यमा हुने जोखिमलाई ध्यानमा राख्दै स्वास्थ्य मन्त्रालले सन् २०२० मा गर्भवती, स्तनपान गराउने महिला र १५ वर्ष मुनिका बालबालिकाहरुलाई तत्काल लागू हुनेगरी र अन्यलाई पाँच वर्ष भित्र डेन्टल अमल्गमको प्रयोग निषेध गर्न निर्देशिका जारी गरेको थियो ।

सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा गरिएको प्रतिवद्धता अनुसार जलवायु परिवर्तन, वायुको गुणस्तर, रसायनिक सुरक्षा, सरसफाई जस्ता उदीयमान वातावरणीय स्वास्थ्यसँग सम्बन्धित दिगो विकासका लक्ष्यहरु सन २०३० सम्ममा हासिल गर्न प्रतिवद्ध रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

  • २४ चैत्र २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech