‘सुरक्षित गर्भपतनले किशोरी र महिलाको ज्यान बचाएको छ’

    • स्वास्थ्य पेज

  • २० चैत्र २०७८, आईतवार

डोटी: गएको वर्ष डोटीकी १८ वर्षीया सानु बुढा (नाम परिवर्तन) को महिनावारी रोकियो । उहाँले हतारिँदै स्वास्थ्य संस्थामा पुगेर जाँच गर्नुभयो, जाँच गर्दा गर्भ बसेको थाहा भयो । इच्छा विपरीत कम उमेरमा नै गर्भवती भएपछि उहाँलाई के गरौँ, कसो गरौँ भन्ने छटपटी भयो । सामाजिक र मानसिक दबाबमा परेकी उहाँलाई स्वास्थ्यकर्मीको साथ मिल्यो । डोटीको केआईसिंह गाउँपालिका २ टिखतर स्वास्थ्य चौकीका अनमी जानुकुमारी माझीले उहाँलाई आफ्नै घरमा राखेर आवश्यक सरसल्लाह दिनुभयो । अनि औषधिमार्फत सुरक्षित गर्भपतन गराउनुभयो । आफ्नो जीवनदेखि नै विरक्तिएकी उहाँ अहिले स्वास्थ्यकर्मीको साथले पुरानै अवस्थामा फर्किनु भएको छ ।

सुरक्षित गर्भपतनपछि १८ वर्षीया सानुले भन्नुभयो, ‘उहाँ (स्वास्थ्यकर्मी) मेरा लागि भगवान् बनेर आउनुभयो । उहाँसँग भेट नभएको भए कुन अवस्थामा हुन्थेँ भन्ने म आफैँलाई थाहा छैन ।’

सिमराकी लक्ष्मी महर्जन (नाम परिर्वतन) को अनुभव पनि यस्तै छ । लामो समयदेखि काठमाण्डौमा बस्दै आएकी उहाँ पनि स्वास्थ्यकर्मीकै कारण आफ्नो ज्यान बचेको बताउनु हुन्छ । १७–१८ वर्षको उमेरमा नै प्रेम विवाह भयो । विवाहको पहिलो वर्षमा नै गर्भ बस्यो । तर, श्रीमान् श्रीमती दुवै बेरोजगार ।

‘घर परिवारको कुनै साथ नभएकाले काठमाण्डौमा कसरी बस्ने भन्ने पिरले सतायो’, उहाँले भन्नुभयो, ‘हामी दुईले नै सुरक्षित गर्भपतन गर्ने निधो गर्यौँ ।’

स्वास्थ्य मन्त्रालय अन्तर्गतको परिवार कल्याण महाशाखाकी जनस्वास्थ्यविद् निशा जोशीकाअनुसार अहिले गाउँघरसम्म नै सुरक्षित गर्भपतनबारे चेतना फैलिएको छ भने महिला पनि प्रजनन स्वास्थ्य अधिकारबारे सचेत हुन थालेका छन् ।

परिवार कल्याण महाशाखाका अनुसार आर्थिक वर्ष २०७७/७८ मा ७९ हजार नौ सय ५३ जनाले सुरक्षित गर्भपतन सेवा लिएका छन् ।

सुरक्षित गर्भपतन गराउनेमध्ये १० प्रतिशत २० वर्षभन्दा कम उमेरका छन् । यस्तै, २०७३/०७४ मा ९६ हजार चार सय १७ जनाले र २०७४/०७५ मा ९८ हजार ६ सय ४० जनाले सुरक्षित गर्भपतन सेवा लिएका थिए ।

आर्थिक वर्ष २०७५/०७६ मा यो सेवा लिने सङ्ख्या घटेर ९० हजार ६ सय ७७ जना रह्यो । २०७६/०७७ मा ८७ हजार आठ सय ६९ जनाले मान्यता प्राप्त स्वास्थ्य संस्थाबाट सुरक्षित गर्भपतन सेवा लिएका छन् ।
सरकारले मान्यता दिएका स्वास्थ्य संस्थाबाट सूचीकृत स्वास्थ्यकर्मीमार्फत सुरक्षित रूपमा गर्भपतन गराउन सकिन्छ ।

इच्छा विपरीतको गर्भ १२ हप्तासम्म तथा गर्भवतीको ज्यानमा खतरा वा शारीरिक वा मानसिक स्वास्थ्य खराब हुन सक्ने भनी इजाजतपत्र प्राप्त चिकित्सकको राय बमोजिम उनको मन्जुरीमा २८ हप्तासम्मको गर्भपतन गर्न सकिन्छ । यस्तै, जबरजस्ती करणी वा हाडनाता करणीबाट रहन गएको गर्भ गर्भवतीको मन्जुरीले २८ हप्तासम्मको गर्भपतन गर्न सकिन्छ ।

सुरक्षित रूपमा गर्भपतन गराउनका लागि ७७ वटा जिल्लामा भएका अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र र सूचीकृत निजी क्लिनिकमासमेत सुरक्षित गर्भपतन सेवा लिन सकिन्छ । नेपालमा सन् २०१६ देखि नै सरकारी स्वास्थ्य संस्थामा गर्भपतन सम्बन्धी सेवा निःशुल्क गरिएको छ ।

असुरक्षित गर्भपतनले मानसिक र शारीरिक समस्यासँगै ज्यानै जान सक्छ 

पछिल्लो समय पढे लेखेकै व्यक्तिले समेत बुझ्दै नबुझी सूचीकृत नभएका औषधि पसल र क्लिनिकबाट जथाभाबी औषधि किनेर खाने गरेका छन् ।

असुरक्षित शारीरिक सम्र्पकका कारण असुरक्षित गर्भपतनको बाटोमा पुगेकी धादिङ घर भइ काठमाण्डौ बस्ने विन्दा मगर (नाम परिवर्तन) ले बताउनुभयो । होटेल व्यवसाय गरेर बसेकी उहाँले सुरक्षित गर्भपतनबारे सुनेको भए पनि घर परिवारले थाहा पाउने र आफ्नो परिचय खुल्ने डरले असुरक्षित रुपमा गर्भपतन गरेको बताउनुहुन्छ । असुरक्षित गर्भ रूपतनकै कारण उहाँको पाठेघरमा अहिले समस्या देखिएको छ ।

जथाभाबी रूपमा गर्भपतन गराउने औषधिको प्रयोगले विन्दा जस्ता धेरैले ज्यान जोखिममा पारेर असुरक्षित गर्भपतन गर्ने गरेका छन् ।

किशोरीहरू असुरक्षित गर्भपतनको जोखिममा परे पनि यसलाई रोक्न प्रभावकारी नियमन हुन सकेको छैन । सूचीकृत नभएका मेडिकलहरूले जथाभाबी औषधि बिक्री गरिरहे पनि उनीहरू कारबाहीको दायरामा आएका छैनन् ।

स्त्री रोग विशेषज्ञ डाक्टर मनोरदिन सैयद असुरक्षित गर्भपतन गरेकाहरूलाई तल्लो पेट दुखिरहने, ढाड कम्मर दुखिरहने जस्ता समस्या देखिने गरेको बताउनुहुन्छ । उहाँकाअनुसार कतिपयलाई पिसाब चुहिने जस्ता समस्या देखिएको छ ।

डाक्टर सैयद भन्नुहुन्छ, ‘असुरक्षित गर्भपतनले तत्काल केही नभए पनि पाठेघरमा समस्या भइ भविष्यमा बाँझोपनको समस्या समेत हुने सम्भावना बढी हुन्छ । कतिपयलाई पाठेघरमा सङ्क्रमण भइ ज्यानै जाने जोखिमसमेत रहन्छ ।’

मनोविद् करुणा कुँवर पनि असुरक्षित गर्भपतनकै कारण किशोरी तथा महिलालाई मानसिक तनाव हुने गरेको बताउनुहुन्छ । समाज र आफन्तको डरले कतिपयले आफ्नो शरीरको बेवास्ता गर्दा तथा आफ्ना समस्या खुलेर भन्न नसक्दा उनीहरू शारीरिकसँगै मानसिक समस्यामा पर्ने गरेका मनोविद् कुँवरको भनाइ छ । इच्छा विपरीतको गर्भकै कारण कतिपयले आत्महत्यासमेत गरेका उहाँले बताउनुभयो ।

सुरक्षित गर्भपतन र गर्भनिरोधक साधनहरूको प्रयोगबारे विद्यालय शिक्षामा नै समावेश गरेर तथा गर्भनिरोधकका अस्थायी साधनको प्रयोगबारे जानकारी दिन अझै जरुरी रहेको डाक्टर सैयद र मनोविद् कुँवर बताउनुहुन्छ ।

गर्भपतन गराउनु भन्दा पनि इच्छा विपरीत गर्भ नै रहन नदिने विषयमा सचेत हुनुपर्नेमा उहाँहरूको जोड छ ।

  • २० चैत्र २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech