सुरक्षित मातृत्व र बाल स्वास्थ्यमा सहकार्य गर्न भारतको एम्ससँग डा देउवाको आग्रह

    • स्वास्थ्य पेज

  • २० चैत्र २०७८, आईतवार

नेपालगन्जः प्रधानमन्त्री शेरबहादुर देउवाकी धर्मपत्नी डा आरजु राणा देउवाले अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइसेन्स (एम्स) का पदाधिकारीहरूसँग भेट गरी सुरक्षित मातृत्व र बाल स्वास्थ्यका क्षेत्रमा सहकार्य गर्न सकिने बताउनुभएको छ ।

शनिबार सो इन्स्टिच्युट भ्रमणका क्रममा डा देउवाले यस किसिमको ‘डेडिकेटेड’ अस्पताल नेपालमा पनि आवश्यक रहेकाले त्यसका लागि आवश्यक जनशक्ति तयार गर्न र पूर्वाधार निर्माणमा सहयोग गर्नेबारेमा आग्रह गर्नुभयो ।

इन्स्टिच्युटका विज्ञहरूसँगको अन्तक्रियामा देउवाले नेपालमा पनि एम्सजस्ता संस्था स्थापना गरी तिनको संस्थागत विकास गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै यसबारेमा प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुरा राख्ने बताउनुभयो ।

सरकारी र गैरसरकारी निकायको निरन्तर प्रयास हुँदाहुँदै नेपालमा मातृ मृत्युदर र नवजात शिशुको मृत्युदर घटाउन सकिएको भए पनि अझै यो समस्या चुनौतीका रूपमा रहेको उल्लेख गर्दै उहाँले मुलुकको सुदूरपश्चिम क्षेत्रमा यो समस्यामा अझै रहेको देखिएकाले त्यस क्षेत्रमा एम्सको सेवा लैजान आवश्यक रहेको बताउनुभयो ।

देउवाले तीन दशकदेखि नेपालमा सुरक्षित मातृत्व र बाल स्वास्थ्यका क्षेत्रमा काम गर्दै आउनुभएको छ ।

उहाँले नेपालमा एक चुनौतीका रूपमा देखिएको मातृ मृत्यु तथा शिशु मृत्यु घटाउनका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रका अभ्यासहरू भित्र्याइ देशका विभिन्न भू–भागमा विशेष अभियान सञ्चालन गर्दै आउनुभएको छ ।

 

  • २० चैत्र २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech