जब कुकुर मृत शिशु च्यापेर कर्णाली प्रदेश अस्पतालमा पस्यो, वास्तविकता के हो ?

    • स्वास्थ्य पेज

  • १९ चैत्र २०७८, शनिबार

नेपालगन्जः कर्णाली प्रदेश अस्पताल सुर्खेतमा कुकुरले टाउको नभएको मृत बच्चा मुखमा च्यापेर इमरजेन्सी वार्डको वरिपरि हिँडिरहेको अवस्थामा भेटिएको छ।

तर कुकुरले च्यापेको मृत बच्चा कसको हो र कुकुरले कहाँबाट ल्याएको हो भन्ने विषयमा भने केहि खुल्न सकेको छैन।

घटनाको बारेमा अस्पताल प्रशासन र जिल्ला प्रहरी कार्यालयले छानबिन गरिरहेको जनाएका छन्।

प्रदेश अस्पताल सुर्खेतका प्रशासन प्रमुख विनोद बस्नेतले घटनाको बारेमा पुष्टि भइनसके पनि कसैले मृत शिशु जन्माएर जंगलमा फ्याकेको अवस्थामा कुकुरले फेला पारेको हुन सक्ने बताउनुभयो । घटनाबारे छानबिन भइरहेको उहाँले बताउनुभयो।

अस्पतालका चारैतर्फ पर्खाल रहेकाले झाडी क्षेत्रमा कुकुरले शिशुको शव भेटाएर खुला ठाउँमा ल्याएको अस्पताल प्रशासन जनाएको छ ।

तर प्रारम्भीक अनुसन्धानका क्रममा अस्पतालको उत्तरी क्षेत्रमा रहेको फिस्टुला अस्पताल रहेको जंगल क्षेत्रबाट कुकुरले टाउँको नभएको शिशुको शव च्यापेर मुख्य अस्पताल परिसरतर्फ आएको सीसी क्यामरामा स्पष्ट देखिएको छ ।

‘अस्पतालको प्रस्तुती वार्डबाटै कुकुरले शिशु थुतेर ल्याएको भन्ने हल्ला गलत हो,’ प्रदेश अस्पतालका प्रवक्ता डा विकास केसीले सुर्खेतबाट प्रकाशित एउटा अनलाइन् नेपालीरैबारलाई भन्नुभएको छ ‘सत्यता बुझ्दै नबुझि अवफाह फैलाउनु गलत हो, हामीले घटनाका विषयमा गम्भीर भएर छानविन गरिरहेका छौं ।’

कुकुरले च्यापेको मृत बच्चा कसको हो भन्ने अहिलेसम्म खुल्न नसक्दा अस्पतालले पोष्टमार्टम समेत गरेको छैन् । अस्पतालमा पछिल्ला दिनमा कुनै पनि शिशुको मृत्यु नभएको र सुरक्षित गर्भपतन गर्न कोही नआएको प्रवक्ता केसीले बताउनुभयो ।

‘गर्भपतन गर्न यति ठूलो शिशुको मिल्दैन, अस्पतालको पछिल्लो रेकर्डमा गर्भपतन गरिएको रेकर्ड समेत छैन, यदी गर्भपतन गर्नै परेमा वा अन्य कारणले मरेको बच्चालाई व्यवस्थापन गर्दा सालनालसहित डिस्पोज गर्ने ठाउँमा प्याकिङ गरेर गाडिन्छ,’ केसीले भन्नुभएको, ‘कुकुरलाई धन्यवाद भन्नु पर्छ, कम्तिमा झाडीमा फालेको शिशु ल्याएर तथ्य जाच्नमा सहयोग पुग्यो, अस्पतालबाट यस्तो खालको गम्भीर त्रुटी भएको छैन । यस सम्बन्धमा प्रहरीलाई अनुसन्धान गर्न पत्रचार गरिसकेका छौं ।’

अस्पताल स्रोतकाअनुसार केही दिन अघि एक महिला अस्पतालमा सुत्केरी हुन भएको खुलेको छ । उनका श्रीमान रोजगारीमा बाहिर रहेको र जन्मिएको बच्चा चार दिन अस्पतालको आइसीयूमा राखेर उपचार गरिएको प्रसुती वार्ड स्रोतले जनाएको छ ।

‘आइसीयूमा चार दिनसम्म राख्दा पनि शिशुको स्वास्थ्य अवस्थामा सुधार नआएपछि मृत्यु भएको हो,’ स्रोतले भन्यो, ‘श्रीमान रोजगारीमा गएको र श्रीमान नहुँदै शिशु जन्मिएपछि आमाले अलि अप्ठेरो महशुस गरिराख्नु भएको थियो । उहाँले नै गाउँमै लगेर आफै अन्त्यष्टी गर्छु भनेकाले मृत्यु प्रमाणपत्रसहित डिस्चार्ज गरेका हौं तर सोही शिशुलाई यतै जंगलमा फालेको हुन सक्ने हाम्रो अनुमान छ ।’

 

  • १९ चैत्र २०७८, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech