सिसाकलमले लेखेको मेटाउन प्रयोग गर्ने इरेजरमा हानिकारक केमिकल

    • स्वास्थ्य पेज

  • १८ चैत्र २०७८, शुक्रबार

नेपालगन्ज:  बालबालिकाले सिसाकलमले लेखेको मेटाउन प्रयोग गर्ने इरेजरमा ‘फ्थालेट्स’ नामक केमिकलको प्रयोग धेरै पाइएको एक अध्ययनले देखाएको छ । एसियाली देशहरूको नमुना अध्ययनका क्रममा नेपालमा प्रयोग गरिने इरेजरमा पनि फ्थालेट्स नामक केमिकलको प्रयोग अत्यन्तै धेरै प्रयोग भएको पाइएको हो ।

एउटा इरेजरमा शून्य दशमलव एक प्रतिशतभन्दा धेरै फ्थालेट्स  प्रयोग भएमा त्यो हानिकारक मानिन्छ । नेपालमा उत्पादन हुने ५३ वटा कम्पनीको नमुना पठाइएकोमा चार वटा कम्पनीबाहेक सबैमा केमिकलको मात्रा धेरै रहेको पाइएको जनस्वास्थ्य तथा वातावरण प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक राम चरित्र शाहले बताउनुभयो । बङ्गलादेशलगायतका कतिपय देशमा मापदण्डभन्दा एक सय २२ गुणसम्म बढी पाइएको उहाँले बताउनुभयो ।

आयातित इरेजरको तुलनामा नेपालमा उत्पादन गरिएका इरेजरमा केमिकलको मात्रा कम रहेकोले नेपालमा उत्पादन भएका इरेजर प्रयोगमा जोड दिनुपर्ने उहाँले बताउनुभयो । फ्थालेट्स केमिकलको प्रभावले हर्मोन उत्पादनमा असर गर्ने भएकाले बालबालिकाको मानसिक तथा शारीरिक विकासमा समेत असर पुर्‍याउने गर्छ । यसका साथै यो रसायनको प्रभावले प्रजजन क्षमतामा समेत असर पर्न सक्ने जनस्वास्थ्य तथा वातावरण प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक शाहकाे भनाइ छ ।

  • १८ चैत्र २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech