नेपालकै पहिलो कान प्राविधिक, जसले ब्रिनोज हाँकिरहेका छन्

उपचारका लागि आउने ३० प्रतिशत विरामी भारतका विभिन्न ठाउँबाट आउने गरेका छन् । ७० प्रशित विरामीहरु भने नेपाली हुन् । अधिकांश विरामी बाँकेसहित कर्णाली र सुदूरपश्चिमबाट आउने गरेका छन् ।


    • प्रियास्मृति ढकाल

  • १७ चैत्र २०७८, बिहीबार

नेपालगन्जः नेपालगन्ज उपमहानगरपालिका–६ फुलटेक्रामा रहेको ब्रिनोज कान स्याहार केन्द्र नेपालकै पहिलो कान अस्पताल हो । ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवाद्धारा संचालित यो केन्द्र सन् २००९ मा स्थापना भइ संचालनमा छ ।

त्यसअघि सन् २००० देखिनै फत्तेवाल आँखा अस्पताल तथा नेपाल रेडक्रस सोसाइटीले कान उपचारका लागि समुदायस्तरमा सचेतिकरण सहितका कार्यक्रम संचालन गर्दै आएका थिए ।

तर अस्पतालकैरुपमा धारण गरेको भने सन् २००९ देखि हो । नेपालकै पहिलो कान अस्पतालकारुपमा स्थापित केन्द्र कान उपचारमा अब्बल बन्दै गएको छ । केन्द्रमा उपचारका लागि आउने ३० प्रतिशत विरामी भारतका विभिन्न ठाउँबाट आउने गरेका छन् । ७० प्रशित विरामीहरु भने नेपाली हुन् । अधिकांश विरामी बाँकेसहित कर्णाली र सुदूरपश्चिमबाट आउने गरेका छन् ।

‘एकपटक आएका विरामी समस्या बल्झिए फेरि केन्द्रमै आउने गरेका छन् केन्द्रका प्रमुख कार्यकारी निर्देशक पुरन चौधरीले भन्नुभयो–‘यहाँ भारतदेखि कर्णाली र सुदूरपश्चिमका विभिन्न जिल्लाबाट विरामी आउने गरेका छन् ।’ केन्द्रबाट दैनिक एक सय देखि डेढ सयसम्मले ओपिडी सेवा लिने गरेका छन् । हप्ताको सातैदिन ओपिडी सेवा रहेको केन्द्रमा नाम दर्ता शूल्क भने एकसय रुपैयाँमात्रै छ ।

एकजना इएन्टि सर्जन, आठजना कान स्वास्थ्य प्राविधिक, एकजना स्टाफनर्ससहित २३ जना कर्मचारी रहेको यो केन्द्रले कानका सबै खाले उपचार सेवा दिदै आएको छ । ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवाले उपचार र कान सुरक्षा सम्बन्धी जनचेतनामुलक गरी दुईवटा थिममा रहेर काम गर्ने गरेको उहाँले जानकारी दिनुभयो ।

‘हामी दुईवटा थिममा रहेर काम गरिरहेका छौं उहाँले भन्नुभयो–‘पहिलो समुदायस्तरमा कान सुरक्षा सम्बन्धी जानकारी गराउने र वहिरोपना निवारण गर्ने र दोस्रो भनेको उपचार ।’

दक्ष कान प्राविधिकबाट सेवा दिने भएकाले केन्द्रप्रतिको भरोसा र विश्वास बढेको चौधरीको भनाइ छ । अहिले बर्दिया, दैलेख र कैलालीमा केन्द्रका शाखाहरु स्थापना गरिएका छन् । त्यहाँ एक–एकजना कान प्राविधिकहरु बस्ने गरेका छन् । कोरोनाका कारण कैलालीको शाखा बन्द भएपनि बर्दिया र दैलेखमा भने संचालनमा छन् ।

नेपालकै पहिलो कान प्राविधिक, जसले ब्रिनोज हाँकिरहेका छन्

कामप्रतिको इमान्दारिता, लगनशीलता र मेहनतकै कारण पुरन चौधरीले नेपालको पहिलो कान अस्पतालको कमाण्ड सम्हालेका छन् । जस्का कारण सयौं विरामीले श्रवणशक्ती पाएका छन् ।

पोखरामा कान अस्पताल सुरु भएको भरखर भरखर हो । लाहनमा कान अस्पतालको तयारी छ । योबाहेक अहिलेसम्म नेपालमा कानकै उपचारका लागि भनेर अस्पताल छैनन् । २०३३ सालमा बाँकेको राप्तीसोनारी गाउँपालिका–५ मा जन्मिनुभएका चौधरीले कैलालीको टीकापुरबाट अहेव गरिसकेपछि सन २००० देखि कान सुरक्षामा सचेतिकरण फैलाउनेदेखि उपचारमा संलग्न रहँदै आउनुभएको छ ।

बुवा लुहारी र आमा कण्ठीका तीन भाइ छोरामध्ये पुरन कान्छो हो । कक्षा ७ सम्म गाउँकै भुवरभवानी माविमा अध्ययन गर्नुृभएका उहाँले कक्षा ८, ९ र १० भने नेपालगन्जस्थित महेन्द्र माविमा पढ्नुभयो । उहाँले २०४९ सालमा एसएसली पास गर्नुभयो । सेकेन्ड डिभिजनमा एसएलसी उर्तिण गरेपछि उहाँले साइन्स पढ्ने योजना बनाउनुभयो ।

२०५० सालमा महेन्द्र बहुमुखि क्याम्पसमा आइएसीमा भर्ना हुनुभयो । तर ब्याक लागेपछि उहाँको साइन्स पढ्ने योजना पूरा भएन् । त्यसपछि उहाँले अहेव पढ्ने योजना बनाउनुभयो ।

२०५७ सालमा अहेव पास गरेपछि उहाँ नेपालगन्जमा फर्किनुभयो । अहेव गरेर फर्किएपछि भने उहाँले आइएसी र आइएड पनि गर्नुभयो । त्यतिबेला फत्तेवाल आँखा अस्पतालले वर्षमा दुई पटक कान उपचारका लागि शिविर आयोजना गथ्र्यो । ईएन्टि सर्जन डा रमेशकुमार श्रेष्ठ शिविरमा खटिने गर्नुहुन्थ्यो । डा श्रेष्ठले कान सुरक्षाबारे जानकारी फैलाउन आवश्यक ठान्नुभयो ।

त्यसैअनुसार एक हजार ६०० रुपैयाँ मासिक पाउनेगरी पुरनको जागिरे जिवन सुरुभयो । पुरन बाँकेका गाउँगाउँ पुग्नुभएको छ । त्योपनि आजभन्दा २२ वर्ष अघि । ‘गाउँमा कानको उपचारका कुरा गर्दा मानिसहरु आश्चर्य मान्थे विगत सम्झदै उहाँले भन्नुभयो–‘अहिलेजस्तो सहज कहाँ थियो र ? न यातायातको राम्रो सुविधा न त बाटोघाटो । साइकल चढेर घरघरमा पुगेर कानको सुरक्षा र उपचारबारे पुरनले काउन्सिलिङ गर्ने गरेको अनुभव सुनाउनुभयो ।

‘त्यतिबेला शिविर आयोजना गर्दा एउटा बाकसभित्र शिविरका सामाग्री राखेर साइकल चढेर जानु पथ्र्यो उहाँले भन्नुभयो–‘घरघरमा वरफ विक्री गर्न गए झैं गरी ।’ यही दुख, कष्ट र इमान्दारिताकै कारण कान उपचारमा ब्रिनोज अब्बल बनेको छ । सबैको भरोसाको केन्द्र बनेको छ ।

सन् २००९ सम्म रेडक्रस मातहतमा चलेको केन्द्र २००९ पछि भने अस्पतालकैरुपमा चलिरहेको छ । दातृ संस्था ब्रिटेन नेपाल अटोलोज सर्भिसले केन्द्र संचालनमा ठूलो सहयोग पुर्याउँदै आएको थियो । तर ब्रिटेनले हात झिकेपछि केन्द्र विरामीको भरमा चलिरहेको छ ।

सरकारले सहयोग गरेको छैन् । स्थानीय सरकारले पनि साथ दिएको छैन् । कानको मात्रै उपचार गर्ने नेपालकै पहिलो यो अस्पताललाई टिकाउन चुनौतिपूर्ण छ । केन्द्र, प्रदेश र स्थानीय सरकारको आँखा पर्न सकेको छैन ।

पुरनको भनाइ छ–‘गरिव तथा विपन्न नागरिकहरुलाई लक्षितजस्तै यो अस्पतालको अरु आयस्रोत छैन, विरामीमात्रै हुन् । दक्षजनशक्ति हामीसँग छ । कम्तिमा सरकारले अपनत्व ग्रहण गरेर यो अस्पताललाई नेपालकै नमुना बनाउन सकिन्छ ।’ पुरन नेपालकै पहिलो कान प्राविधिक हुनुहुन्छ । पुरनकै कमाण्डमा ब्रिनोज चलिरहेको छ ।

 

 

  • १७ चैत्र २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech